सप्तकोसी नदीमा आएको बाढीले धार परिवर्तन गरेर बस्तीमा पस्दा सुनसरी र उदयपुरका २० हजारभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन्। अविरल वर्षापछि मंगलबार रातिबाट आएको बाढी पश्चिमतर्फको अस्थायी बाँध भत्काएर बस्तीमा पसेको छ। बाढीले सुनसरीको बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाका सयौं परिवारको बिचल्ली भएको छ। चतरा पुलमुनिको डुम्रीबोटेबाट पश्चिमतर्फ धार परिवर्तन गरेर कोसीको बाढी बस्ती परेको हो।
पानीको बहाव उच्च भए पनि भारतले कोसी ब्यारेजका सबै ढोका समयमा नखोलेका कारण बाढीले श्रीलंका टापुको मानव बस्ती र खेती योग्य जमिन तहसनहस बनाएको छ। बाढीले सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ को श्रीलंका टापुका ५ सय घरपरिवारका २ हजार ५ सय जना विस्थापित भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उनले विस्थापित सबैलाई सुरक्षित स्थानतर्फ सारिएको जानकारी दिए।
कटान तीव्र बनाएको कोसीको बाढी उदयपुरको बेलका नगरपालिकाको १, २, ३, ८ र ९ नम्बर वडामा समेत प्रवेश गरेको छ। यस क्षेत्रका २ हजार ३ सय घरपरिवारका १८ हजार सर्वसाधारण विस्थापित भएको बेलकाका मेयर अशोक कार्कीले जानकारी दिए।
उनले विस्थापित भएकाहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्दै वडा नम्बर ८ को सामुदायिक भवन, कोसी मावि, रामपुरको खसीबाख्रा संकलन केन्द्र, रेडक्रस भवन, जनता माविलगायतका स्थानमा राखिएको बताए। मेयर कार्कीले बेलकाका धेरै सर्वसाधारण बाढी प्रभावित भएकाले सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य जारी राखिएको जानकारी दिएका छन्।
बाढीका कारण फसेका सर्वसाधारणको उद्धार गर्दै सुरक्षाकर्मी।
उनका अनुसार बाढीले थुप्रै घरहरू डुबाउनुका साथै खेतबारीमा लगाएको धान र तरकारी नष्ट गरेको छ। भारतले ब्यारेजका ढोका नखोलेकै कारण ३९ वर्षपछि कोसी पश्चिमतर्फ फर्किएको बराहक्षेत्र–६ श्रीलंका टापुका बद्री राईले बताए। तत्काल नियन्त्रणमा लिन सम्भव नभए जनधनको ठूलो क्षति हुने उनको भनाइ छ।
स्थानीयका अनुसार २०४० सालसम्म अहिले बाँध भत्काएर प्रवेश गरेकै ठाउँ अर्थात् पश्चिमतिरबाटै सप्तकोसी नदी बग्थ्यो। त्यसपछि धार परिवर्तन गरेर पूर्वतर्फ हानियो। धार परिवर्तन गरेर पूर्वतर्फबाट कोसी बग्न थालेपछि पश्चिममा बस्ती बसेको हो। अहिले कोसी पुरानै धारमा फर्किएको स्थानीयले बताए।
बुधबार बिहान नहुँदै सप्तकोसी नदीमा आएको बाढीले धार परिवर्तन गर्यो। सधैँ पूर्वतर्फ बहने कोसी अहिले पश्चिमतिरबाट बग्न थालेको छ। जहाँ बस्ती थियो। २०४० सालपछि पुनः पहिलेकै बाटोमा आएको कोसीले बस्ती डुबाउँदा सुनसरी र उदयपुरका २० हजार बढी सर्वसाधारण विस्थापित भएका छन्। समयमा कोसी ब्यारेजको बाँधका ढोका नखोल्दा यस्तो अवस्था आएको स्थानीय जनप्रतिनिधि बताउँछन्। श्रीलंका टापुका ५ सय सर्वसाधारण अभैm सुरक्षित स्थानमा पुगेका छैन। बारम्बार दोहोरिने यो समस्याको चाँडै निकास खोज्नुपर्ने विज्ञ बताउँछन्।
अर्का स्थानीय विक्रम पाण्डेले कोसीको बाढी श्रीलंका टापु प्रवेश गरेपछि यहाँका बासिन्दा सुरक्षित स्थानतर्फ गएको बताए। घरमा भएका भाँडावर्तन, लत्ताकपडा लिएर चौपाया डोर्याउँदै घर छाडेर स्थानीय सुरक्षित स्थानमा गएको उनले बताए। उनका अनुसार बाढी डुम्रीबोटे हुँदै सिसौलीघाट, धौरी टापु, चिलिमे, श्रीलंका टापुतर्फ प्रवेश गरेपछि सयौं घर उच्च जोखिममा परेका छन्।
भारतले कोसीको दुवैतर्फ तटबन्ध निर्माण गर्नुपर्ने भए पनि पूर्वतर्फमात्र तटबन्ध निर्माण गरेको छ। तटबन्ध निर्माण नगरेका कारण कोसीले पश्चिमतर्फ कटान गरेको स्थानीय सन्तोष चन्द्रवंशीले बताए। नेपाल–भारत सरकारले गरेको कोसी सम्झौताअनुसार दुवैतर्फ तटबन्ध निर्माण गर्नुपर्ने र कोसीले विस्थापित गरेका सर्वसाधारणको क्षतिको मूल्यांकनअनुसार क्षतिपूर्ति दिनुपर्ने भए पनि भारतले कोसी सम्झौताको पालना नगर्दा बर्सेनि आसपासका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणले धनसम्पत्ति, घरखेत र आफन्त गुमाउनु परेको चन्द्रवंशीको भनाइ छ।
बराह क्षेत्रका मेयर कार्कीले कोसी फुटेर पश्चिमतर्फ प्रवेश गर्दा सर्वसाधारणको बिचल्ली भएको बताए। उनले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सकुशल सारिएको बताए। कोसी ब्यारेजका सबै ढोका तत्काल नखोलिए श्रीलंका टापुका बासिन्दाको ज्यान जोखिममा पर्ने कार्कीले बताए। ब्यारेजका सबै ढोका खोल्न र नदी नियन्त्रण गर्न स्थानीयले सरकारसँग माग गरेका छन्। स्थानीय प्रशासनले नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरे पनि कटान नियन्त्रणमा सम्भव हुन सकिरहेको छैन।
विस्थापित भएकालाई सुरक्षित स्थानतर्फ सारिए पनि सर्वसाधारणका गाईभैंसी, गोरु, राँगा, खसीबाख्रा, कुखुरा र सुंगुरहरू अलपत्र परेका छन्। धेरैले पालेका कुखुरा र सुँगुर बाढीमा परेर मरेका छन्। बाढीले घरपालुवा जनावर र पन्छी मर्दा स्थानीयलाई ठूलो नोक्सानी भएको छ।
बाढी बस्तीमा पसेपछि घरपालुवा चौपायालाई सुरक्षित स्थानमा लैजाँदै सर्वसाधारण।
बाँध फोडेर कोसी बस्तीमा पसेपछि प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, प्रदेश १ का नेपाल तथा सशस्त्र प्रहरी प्रमुख, सुनसरी र उदयपुरका प्रमुख जिल्ला अधिकारीलगायतले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। अनुगमन टोलीले विस्थापितहरूको उद्धारलाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ।
महिनादिन अगाडि पनि यस क्षेत्रमा कोसीले तीव्र कटान गरेको थियो। कटानलगत्तै गृहमन्त्री बालकृष्ण खाँड हेलिकप्टरमा कोसीको निरीक्षण गर्न आए पनि उनी रमित हेरेर फर्किका थिए। कोसीले महिनादिन अगाडि नै विधंश मच्चाउँदासमेत यस क्षेत्रबाट निर्वाचन जितेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की (सुनसरी क्षेत्र नम्बर ४) र परराष्ट्रमन्त्री डा. नारायण खड्का (उदयपुर क्षेत्र नम्बर १) ले कोसी नियन्त्रणको पहल नगरेको स्थानीयको आरोप छ।
सप्तकोसीले पश्चिमको अस्थायी तटबन्ध भत्काएर कटान गर्दासमेत भारतले कोसी ब्यारेजका सबै ढोका खोल्न अटेर गरेको छ। सुनसरी प्रशासनको आग्रहलाई समेत बेवास्था गर्दै भारतले कोसी ब्यारेजका ढोका खोल्न नमानेको हो।
सप्तकोसीमा सोमबारदेखि पानीको बहाव बढिरहेको छ। सप्तकोसीमा बुधबार पानीको बहाव बुधबार साँझ साढे ६ बजे प्रतिसेकेन्ड २ लाख ४३ हजार १८० क्युसेक छ। पानी अझै बढ्ने क्रममा छ। समाचार तयार पार्दा सम्ममा ५६ ढोकामध्ये ४६ ढोका खोलिएकोे सुनसरी प्रशासनले जनाएको छ।
कोसी परियोजनाका भारतीय अधिकारीहरूले सप्तकोसी नदीको नेपाली भू–भागमा गर्नुपर्ने काममा बेवास्ता गर्दा सर्वसाधारणको उठिबास भएको छ। वर्षायाम सुरु हुनेबित्तिकै सुनसरीको बराहक्षेत्र नगरपालिका–३ को चिलीया टापु र ९ को गरैया टापुमा कटान हुन थालेको थियो। तत्काल रोकथाम नगरिए ५ सय परिवारको उठिबास हुने भन्दै नियन्त्रणका लागि नगरपालिकाले पत्राचार गरेको थियो।
सप्तकोसी नदीमा आएको बाढीले डुबानमा परेका सर्वसाधारणको बुधबार उद्धार गर्दै सुरक्षाकर्मी।
नेपालस्थित कोसी परियोजनाको कामको सम्पूर्ण लेखाजोखा राख्ने सम्पर्क तथा भू–आर्जन कार्यालयमा असार ६ गते नै नगरपालिकाले पत्राचार गरेको हो। कार्यालयले नगरपालिकाले पठाएको पत्रको आधारमा परियोजनाअन्तर्गतको बाढी नियन्त्रण एवं जलनिस्सरण जल संसाधन विभाग वीरपुरलाई असार २३ गते पत्राचारसमेत गरेको थियो। स्थानीयको मागअनुसार भू–आर्जन कार्यालयले एक महिनाअघि नै सुनसरीका कार्यालय प्रमुखहरूले निर्णय गरेको पत्र पनि भारतीय अधिकारीलाई पठाएको थियो।
तर, परियोजनाका भारतीय अधिकारीको बेवास्ताले नियन्त्रणको कुनै काम नहुँदा कटानका कारण सयौं घरपरिवार विस्थापित हुनु परेको छ। स्थानीयको मागअनुसार परियोजनाका अधिकारीले बाँध मर्मत सम्भारको काम नगर्दा सुनसरीको बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाका सयौं घरपरिवार विस्थापित भएका हुन्। बराहक्षेत्रको पश्चिम र उदयपुरको दक्षिणतर्फ कटान तीव्र पार्दै सप्तकोसी बस्तीमा परेको छ। कार्यालयका सम्पर्क तथा भू–आर्जन अधिकृत प्रमोद पौड्यालले वीरपुरस्थित बाढी नियन्त्रण एवं जलनिस्सरण जल संसाधन विभागमा पत्र पठाइएको जानकारी दिए। ‘हालसम्म कुनै काम भएन। काम भएको भए स्थिति नियन्त्रणमा नै हुने थियो,’ उनले भने।
बाढीले ठूलो क्षति पुर्याएको छ। विस्थापितहरूको उद्धारलाई प्रभावकारी बनाउन प्रदेश सरकारले सुरक्षा निकायलाई निर्देशन दिएको छ। यस्तो अवस्था आउनबाट रोक्न अब प्रदेश सरकारले केही सोच्नेछ। –केदार कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री, प्रदेश १
सप्तकोसीमा पानीको बहाव उच्च भए पनि भारतले कोसी ब्यारेजका सबै ढोका समयमा नखोल्दा यस्तो समस्या आएको हो। विस्थापित सबैलाई सुरक्षित स्थानतर्फ सारिएको छ। – इन्द्रदेव यादव, प्रमुख जिल्ला अधिकारी, सुनसरी
बाढीले थुप्रै घरहरू डुबाउनुका साथै हजारौं सर्वसाधारण विस्थापित बनेका छन्। सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य जारी छ। बाँकी रहेका स्थानबाट बिहीबार पनि उद्धार गछौं। –अशोक कार्की, बेलका नगरपालिका
बहुचर्चित नेपाल–भारत कोसी सम्झौता–१९५४ को मर्म र भावनाविपरीत कोसी परियोजनाका भारतीय अधिकारीले नेपाली भू–भागमा काम गर्ने गर्दा बेलाबखत सास्ती खेप्नु परेको गुनासो स्थानीयको छ। सम्झौताअनुसार सप्तकोसी नदीको नेपाली भू–भागमा हुने कामको विवरण राख्न विराटनगरमा सम्पर्क भू–आर्जन कार्यालय स्थापना गरे तापनि अन्य विषयमा परियोजनाअन्तर्गतको बाढी नियन्त्रण एवं जलनिस्सरण जल संसाधन विभाग वीरपुरले बेवास्ता गर्ने गरेको छ। उक्त कार्यालयले काम गरे पनि नेपाली अधिकारीहरूसँग सल्लाह र जानकारी लिने गरिएको छैन। आवश्यकताअनुसार मर्मत र सम्भारको काम नगर्दा कटानको सामना गर्नु परेको कोसी पीडित संघर्ष समितिका वरिष्ठ सह–संयोजक ज्योति झाले बताए।
सम्झौताअनुसार नेपाली भू–भागमा हुने सबैको लेखाजोखा राख्नुको साथै हरेक कामको विवरण कार्यालयमा हुनुपर्ने हो। सुनसरीमा भइरहेको कटानबारे स्थानीयहरूले लिखित जानकारी भू–आर्जन कार्यालयलाई गराएका छन्। तर, उदयपुरमा भइरहेको कटानबारे कुनै जानकारी छैन। अधिकृत पौड्यालले भने, ‘सुनसरीबाट स्थानीयले मागपत्र पठाए, तर उदयपुरबाट कुनै जानकारी आएन। वीरपुरबाट पनि कुनै जानकारी दिइएन। हामीले पठाएको पत्रअनुसार वीरपुरबाट काम पनि भएन।’ भारतले आफूखुसी काम गर्दा सप्तकोसीले प्राकृतिक बहाव परिवर्तन गरेका कारण नेपालले ठूलो क्षति बेहोर्नु परेको स्थानीयको गुनासो छ।
केही वर्षअघि भारतले सप्तकोसी नदीको दक्षिण–पश्चिमस्थित सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिकाको भारदहदेखि गोबरगाडा हुँदै कुनौली बोर्डरसम्म र कोसीको उत्तर–पश्चिम श्रीलंका टप्पुदेखि उदयपुरको तल्लो भागमा पाइलट च्यानल आफूखुसी निर्माण गरेको थियो। सम्झौताअनुसार सबै कामको जानकारी नेपालतर्फ दिनुपर्ने हुन्छ।
रत्नप्रसाद आचार्य / धरान, भरत खड्का/उदयपुर, जितेन्द्रनारायण ठाकुर/विराटनगर :
प्रतिक्रिया