भारतीय पक्षले जनवरी १ देखि नै आईसीपीबाटै डस्टी कार्गो र तेस्रो मुलुकका पर्यटक पठाउने घोषणा गरेको थियो । तर त्यसको ८ दिनपछि अर्थात जनवरी ८÷पुस २४ गतेदेखि मात्रै आईसीपी हुँदै डष्टी कार्गो बोकेका ट्रक नेपाल भित्रिन थालेका छन् ।
पहिलो दिन ३८, दोस्रो दिन सोमबार ११ वटा र मंगलबार ३४ वटा डष्टी कार्गो बोकेका ट्रक नेपाल भित्रिएको इन्टरमोडल यातायात विकास समिति आईसीपी वीरगञ्जका शाखा अधिकृत एवं अपरेशनल इन्चार्ज जितेन्द्र रसाइलीले जानकारी दिए ।
नेपाल तर्फ आईसीपीको पूर्व दक्षिण कुनाको १० नम्बर लेन ‘डस्टी कार्गो’ बोकेर आउने सवारीका लागि छुट्याइएको छ । तर हाललाई यो लेन प्रयोगमा छैन । अन्य सामान आयात हुने २ नं लेनबाटै ‘डस्टी कार्गो’ बोकेका सवारी भित्रिरहेका छन् । समिति वीरगञ्जका प्रमुख कमल ज्ञवालीले भारतीय आईसीपीमा आवश्यक तयारी नपुगेकोले १० नम्बर लेन सञ्चालनमा नआएको बताए । ‘हामीले लेनमा राखिएका नयाँ सवारी हटाएर आवश्यक तयारी गरिसकेका छौं ।
तर भारततर्फ तयारी पूरा भएको रहेनछ’, प्रमुख ज्ञवालीले भने, ‘साविककै रुटबाट ‘डस्टी कार्गो’ बोकेका सवारी पनि आइरहेका छन् ।’
१० नम्बर लेनबाट ६७ वटा गाडी हटाएर बाटो खाली गरिसकेको उनको भनाइ छ । डस्टी कार्गो मालबाहक सवारी साधनमा ल्याई चौकी परिसरमा अनलोड नगरी सोझै भन्सार जाँचपास गरी लैजानेगरि व्यवस्था मिलाइएको उनले बताए ।
हालसम्म भारतबाट आयात हुने सिमेन्ट क्लिंकर, कोइला, जिप्सम, स्ल्याग आदि वीरगञ्ज–रक्सौल नाकाबाट आयात हुने गरेको छ । रेलमार्गबाट रक्सौलमा डस्टी कार्गो ल्याउने गरिन्छ । रक्सौल रेल्वे यार्डमा अनलोड गरेर ट्रकमा लोड गरी पुरानो भन्सार हुँदै भित्र्याउने गरिएकोमा अबदेखि भारतीय आईसीपी हुँदै ल्याउनुपर्ने भएको छ ।
त्यसैगरी भारत हुँदै नेपाल आउने तेस्रो मुलुकका पर्यटकका लागि यात्रु शाखा सञ्चालन गर्न ६ नम्बर लेनको प्रयोग गर्ने तयारी छ । ६ नम्बर लेनबाट १ सय ६५ वटा गाडी हटाइसकिएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
हाल वीरगन्ज–रक्सौल नाकास्थित पुरानो वीरगञ्ज भन्सार नाका हुँदै भारतीय तथा तेस्रो मुलुकका पर्यटकको लागि यात्रु शाखा सञ्चालनमा छ । अध्यागमन र पर्यटन प्रहरी कार्यालय पनि पुरानो नाकामा मात्रै छ ।
३ महिनाअघि भारत सरकारको बिहार राज्यको राजधानी पटनास्थित प्रिन्सिपल कमिश्नरको कार्यालयका प्रिन्सिपल कमिश्नर प्रदीपकुमार कटियारले सूचना जारी गरेका थिए ।
सूचनामा सिमावर्ती भारतीय सहर रक्सौलबाट बौद्धीमाई मन्दिर हुँदै भारतीय आईसीपीसम्म जाने बाटो पूर्णरुपमा सञ्चालनमा आइसकेकोले रक्सौलबाट निर्यात हुने डस्टी कार्गो असोज ३० देखि नै आईसीपी हुँदै गर्न निर्देशन दिइएको थियो ।
प्रतिक्रिया