
६ महिना ६ दिन अर्थात् सबैभन्दा कम समयमा (त्यो बेला) विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालका शिखरमा पुगेका निर्मल पुर्जा (निम्स दाइ) एकै पटक विश्वभर चर्चाको शिखरमा समेत पुगे । तर उनले पर्वतारोहणमा दर्जनौं दुर्लभ कीर्तिमान राखेका छन् । यी भूतपूर्व ब्रिटिस गोरखा सैनिकले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल इतिहासमै पहिलो पटक हिउँदयाममा चढ्ने आरोहण दलको नेतृत्व पनि गरे । ‘पर्वतारोहणमा सगरमाथाको पहिलो आरोहणपछिको ठूलो उपलब्धि यसैलाई मानिएको छ,’ उनले भन्ने गरेका छन् ।निर्मल पुर्जाको पर्वतारोहण यात्रालाई पछ्याउँदै बनेको ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ डकुमेन्ट्री नेटफ्लिक्समा छ । यो डकुमेन्ट्री अन्तर्राष्ट्रियस्तरका फेस्टिवल र पुरस्कारमा पनि छनोटमा परिरहेको छ । उनको आरोहण संघर्षको कथा समेटिएको ‘बियोन्ड पोसिबल’ पुस्तक विश्वका फरकफरक भाषामा गरी १४ संस्करणमा प्रकाशन भइसकेको छ । अहिले पुर्जा हिउँदयाममा पाकिस्तानको केटु हिमाल आरोहणको अर्को डकुमेन्ट्रिक निर्माणमा छन् । हाल कान्तिपुरले सम्पर्क गर्दा उनी विदेशी आरोहण टोलीसँग अर्जेन्टिनातिर थिए ।नेपालमा जन्मिएर हाल बेलायतमा पत्नी र छोरीसहित स्थायी बसोबास गर्दै आएका यी कीर्तिमानी आरोही चर्चासँगै विवादमा पनि पर्दै आएका छन् । एक वर्षयता उनलाई विवादमा तान्ने एउटा घटना हो, इलाइट हिमालयन एड्भेन्चर प्रालिको कार्यालय रहेको कपनस्थित घरमा भएको आगलागी । निर्मल सञ्चालक रहेको इलाइटको कार्यालय दालमु कितर घिसिङको घरमा थियो । आगलागीपछि सिर्जना भएको विवादले निर्मल र उनको टिमलाई सार्वजनिक र अदालती विवादमा तानेको छ ।बेलायतमा दर्ता भएको आरोहण सम्बन्धित कम्पनी इलाइटले मासिक २५ हजार भाडा बुझाउने सर्तमा ०७५ चैतमा घिसिङको घरमा नेपालको शाखा कार्यालय सञ्चालनमा ल्याएको थियो । ०७९ असोज ५ को साँझ कपनस्थित अढाई तले घरमा भीषण आगलागी भयो । भुइँतलामा रहेको इलाइट हिमालयन एड्भेन्चरबाट सुरु भएको आगोमा परी कम्पनीका तीन जना कर्मचारीको मृत्यु भयो । संखुवासभाका ३२ वर्षीय अशोक राई, ताप्लेजुङका २९ वर्षीय कासाङ शेर्पा र सोलुखुम्बुका २६ वर्षीय छोवाङ शेर्पाको निधन भयो भने आगलागीमा भएको भौतिक क्षति कति हो र त्यो कसले बेहोर्ने भन्नेमा घरबेटी र कम्पनी मालिक विवादमा छन् । आगलागीपछि बढेको विवादले कम्पनीका खातापाता रोक्का छन् ।घटना भएको साँझ घरधनी दालमु कित्तर पति टंक घिसिङसँग किनमेलका लागि बौद्धतिर गएकी थिइन्, उनीहरू अर्को दिन ताप्लेजुङ यात्रामा जाँदै थिए । घिसिङका अनुसार, घरमा उनकी साली थिइन् । ‘छोरा असिम र सासू अमेरिकाबाट आएकी अर्की सालीलाई भेट्न सोल्टीमोडमा रहेको होटल हयात प्लेस पुगेका थिए,’ उनी भन्छन्, ‘भोलिपल्ट ताप्लेजुङ जानुपर्ने भएकाले बुवाका लागि सामान किन्न स्कुटीमा हामी बौद्धतिर गएका थियौं । किनमेल सकेर फर्किंदै गर्दा बाटोमा जाम देखियो । अलि माथि आउँदा दमकल र प्रहरीको कुदाकुद भइरहेको थियो । बाटामा रमितेहरू टंकेको घरमा आगो लागेछ भन्दै थिए । त्यो सुनेपछि म लड्दै पड्दै घर पुगें । प्रहरीले छेकबार लगाइरहेको थियो । मलाई नि जान दिएन । आँगनमा पुग्दा मेरो हंस ठाउँमै रहेन, त्यसयता तनावै तनावमा छु ।’घटनाका दिन पुर्जा आफ्ना व्यापारिक साझेदार मिङमा ग्याबु (डेबिड) शेर्पासँग मनास्लु हिमालमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययनमा थिए, उनीहरू पर्यटन मन्त्रालयसँगको सहकार्यमा यो अध्ययनमा थिए । खबर पाएपछि आरोही पुर्जा र शेर्पा भोलिपल्टै हेलिकोप्टरबाट काठमाडौं आइपुगे । तीनजना कर्मचारीको मृत्यु भएको घटनास्थलमा उनीहरूले पनि घरधनीले जस्तै कुनै पनि सरसामान सग्लो फेला पारेनन् । सबै खरानीमा परिणत भइसकेको थियो ।मृतक तीन जनामध्ये एक त मिङमाका भाइ कासाङ पनि थिए । ‘मेरो २९ वर्षको भाइ कासाङको पनि ज्यान गयो,’ इलाइटका निर्देशकसमेत रहेका शेर्पाले भने, ‘आगोले आरोहणसँग सम्बन्धित झन्डै साढे ७ करोडको हाम्रो सम्पत्ति पनि जल्यो ।’ उनका अनुसार, प्रहरी मुचुल्कामा उनीहरूले त्यहाँ रहेका आरोहण सामग्रीको क्षति साढे ७ करोड रुपैयाँ बराबर भएको दाबी गरेका छन् । तर कम्पनीले कार्यालयको बिमा नगरेकाले कतैबाट पनि क्षतिपूर्ति नलिएको उनको भनाइ छ ।प्याराग्लाइडिङ सकेर पुर्जाको टिमले तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई कार्यविधि बनाउन प्रतिवेदन बुझाउनुपर्ने जिम्मेवारी थियो । तर, आगलागीको घटनाले मन्त्रालयसँगको साझेदारीमा हुन लागेको काममा बिराम त लाग्यो नै । उता, घरधनी घिसिङले शरीरमा लगाएको एकसरो कपडाबाहेक केही नपाएको बताउँछन् । ‘त्यस दिन ७ महिनाकी गर्भवती साली भर्याङबाट उफ्रेर ज्यान जोगाउन सफल भइन् । तर घर र अरू जायजेथा गरेर कम्तीमा साढे ३ करोडको सम्पत्ति नष्ट भयो,’ उनी भन्छन् । घरको संरचनामा २ करोड २० लाख र १ करोड २० लाख रुपैयाँ बराबरको सम्पत्ति गरी साढे ३ करोडको क्षति भएको उनको दाबी छ ।घरमा लागेको आगो केहीबेरमा निभ्यो, तर क्षतिपूर्तिका लागि चलेको विवादको आगो चर्किंदै गयो । निर्मलको कम्पनीबाट आगो सल्केर घर खरानी भएकाले सम्पूर्ण क्षतिपूर्ति कम्पनीले दिनुपर्ने घिसिङको माग छ । ‘निर्मल पुर्जाले थुप्रै अक्सिजन सिलिन्डर, खाना पकाउने ग्यास राखेका थिए । त्यहीबाट आगलागी भएको हो, त्यसैले यसको जिम्मेवारी पनि उनले लिनैपर्छ,’ घिसिङ दाबी गर्छन् । सुरुमा ५ करोडभन्दा माथि क्षतिपूर्ति मागेका घिसिङ अहिले भने २ करोड क्षतिपूर्ति दिए विवाद नगर्ने बताउँछन् । ‘सुरुमा आवेशमा आएर ५ करोड ६० लाख क्षतिपूर्ति चाहिन्छ भनेको थिएँ, अहिले वडा र नगरपालिकाको इन्जिनियर ल्याई अध्ययन गराएँ । साढे तीन तलाको घर बनाउन मलाई २ करोड क्षतिपूर्ति दिए मानिदिन्छु,’ उनी भन्छन् ।कम्पनी भने घरधनीलाई १ करोड २० लाख दिने प्रस्ताव राखेको थियो, तर घिसिङले बिमाबाट पनि रकम लिइसकेको र आफैं अदालत पनि गएकाले क्षतिपूर्ति दिन बाध्य नहुने मिङमाको तर्क छ । ‘घटनालगत्तै हामीले घरको बिमा छ कि छैन भनेर सोधेका थियौं, टंक घिसिङले बिमा भएको छैन भनेर ढाँटे । तर, प्रहरीमा गएपछि घरको सुरक्षाबापत १ करोड १० लाख रुपैयाँका बिमा गराएको भेटियो,’ कम्पनीका निर्देशक मिङमा भन्छन्, ‘बिमाबाट खटिएको सर्भेयरले ८० लाख क्षति भएको हिसाब निकालेका छन् । क्षतिबापत उनले २० लाख रुपैयाँ बुझिसकेका छन् । २ लाख रुपैयाँ त हामीले घटनालगत्तै दिएका थियौं ।’वैदेशिक रोजगारसम्बन्धी व्यवसाय गर्ने घिसिङले कम्पनी डायमन्ड ओभरसिज सर्भिसेज् प्रालिको नाममा गाडी खरिद गर्न लगायतका कामलाई कर्जा लिन त्यही घरलाई प्राइम बैंकमा धितोका राखेका थिए । यसका लागि घिसिङको घरलाई प्राइम कमर्सियल बैंक बागबजारमार्फत १ करोड १० लाख रुपैयाँमा बिमालेख गरिएको थियो । बिमा गरिएको घरमा क्षति भएकाले बिमाबाटै रकम आउने भन्दै दुईतिरबाट पैसा लिन नमिल्ने इलाइटको जिकिर छ बिमा गर्दा आवासका रूपमा मात्रै प्रयोग भएको उल्लेख भएको र ‘आगजनी हुँदा इलाइट कम्पनीले तरल पेट्रोलियम ग्यास र अक्सिजन सिलिन्डर भण्डारण गरिएको पाइएको र उक्त आगलागीबाट सिलिन्डर पड्की धनजनको क्षति भएको हुँदा बिमालेखा गर्दाको समय उक्त तथ्य नखुलाइएको र आवासीय रूपमा मात्रै प्रयोग गरिएको भनी बिमा गराइएको’ भनी बिमा कम्पनीले प्राइम कमर्सियल बैंकलाई पत्र लेखेको थियो । तर, घर बैंकको धितोमा भएकाले इन्स्योरेन्सबाट २० लाख रुपैयाँ भने प्राप्त भएको घिसिङको भनाइ छ । ‘त्यो रकम बैंकले तानेको छ, मैले पाएको छैन,’ उनले भने । बिमाले पैसा दिएपछि क्षतिपूर्ति पुरै नसमेट्ने भएकाले भाडामा कार्यालय राखको कम्पनीले क्षतिपूर्ति तिर्नुपर्ने घिसिङको मागदाबी छ । बिमाको रकम सीमित भएको र क्षति त्योभन्दा बढी भएकाले आफू अन्यायमा पर्ने उनको भनाइ छ ।दुई पक्षको विवाद कपन र बौद्ध प्रहरी हुँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पनि पुग्यो । प्रहरीले आगलागीको कुनै बाह्य कारण हो कि ? भनेर घटनास्थलबाट संकलन गरेका नमुना जाँचका लागि भारत पठायो । तर, आगलागीको कुनै पृथक् कारण फेला परेन । सीआईबीका तत्कालीन प्रमुख उत्तमराज सुवेदीका अनुसार, काठमाडौं प्रहरी परिसरले गरेको अनुसन्धानमा ब्युरोले मद्दत गरेको थियो । उनी भन्छन्, ‘जस्मा कुनै अत्यधिक खतराजन्य विस्फोटक पदार्थ वा यही हाराहारीको कुनै वस्तु प्रयोग भएको थिएन । नत आगजनी के कारणले गरायो भन्ने खुल्न सकेन ।’ विवाद प्रहरीले पनि सुल्झाउन नसकेको भन्दै घरधनी घिसिङले बुढानीलकण्ठ नगरपालिकामा उजुरी दिए । घिसिङसँग सम्बन्धित एक वकिलका अनुसार, नगरपालिकाले मेलमिलाप गराउन प्रयत्न गरेको थियो तर सकेन । स्थानीय तहले झन्डै ६ महिनासम्म कोसिस गरे पनि निसाफ टुंग्याउन नसकेपछि घिसिङ ०८० वैशाखमा काठमाडौं जिल्ला अदालत पुगे, त्यसयता मुद्दा चलिरहेको छ ।अदालतले माघको २३/२४ गतेतिर आगलागीबारे अध्ययन गर्न सर्वेक्षक टोली खटाउने भनेको छ । ‘यता मेरो खर्च पनि बढिरहेको छ, म मेरो घर छेवमैमा दुई फ्ल्याट ३० हजार भाडामा लिएर बसिरहेको छु । बुधबार मात्रै म जिल्ला अदालत पुगेको थिएँ । सर्वेक्षक टोलीले अध्ययन गरेपछि फैसला आउला,’ घिसिङले भने ।यता घिसिङले इलाइटको बैंक खाता, जग्गा रोक्का गराइदिएका छन् । मिङमाका अनुसार, पछिल्लो पटक विदेशी आरोहीहरूबीच सर्वाधिक चर्चित इलाइटको बैंक खाता नै रोक्का भएपछि पर्यटनसँग सम्बन्धित काममा अवरोध भएको छ । ‘एक वर्षदेखि हाम्रो परिवारजनका नाममा भएको जग्गा, कम्पनीको काम, बैंक खाता रोकिएको छ । मानौं कि हामीले जानाजान घटना गराएका हौं । घटनाको यथार्थ कसैले पनि बुझ्न खोजेको देखिदैन,’ उनी भन्छन् ।मृतक छोवाङका दाइ पासाङले मृतकहरूले खाइपाइ आएको तलब परिवारजनले पाउँदै आएको बताए । ‘सुरुमा १० लाख जति राहत दिएको थियो, अहिलेसम्म इलाइटले मृतकका आश्रित परिवारलाई मासिक तलब खातामा हाल्दिरहेको छ,’ उनी भन्छन् । मिङमाले मृतक तीनै जनाको बिमा नभएकाले हालसम्म तलबसहित बर्खान्त खर्चसमेत गरी ६१ लाख रुपैयाँ दिइसकेको बताए । तर घरबेटी र कम्पनीको विवादले मृतक परिवार खास कति क्षतिपूर्ति पाउने हुन् भन्ने विषय ओझेलमा परेको छ । अझ त्यसमाथि ताप्लेजुङ घर भएका कासाङकी श्रीमतीका रूपमा दाबी गर्ने एक युवतीको बिहे दर्ताको विषय पनि अदालत पुगेको छ । यो बिहेलाई पनि कम्पनीका निर्देशक तथा कासाङका दाइ मिङमाले अस्वीकार गरेकाले छिनाफानो अदालतबाटै हुनुपर्ने भएको छ ।अदालतमा पनि यो मुद्दा फौजदारी नभएकाले पेसीमा कहिले चढ्ने, कहिले हेर्न नभ्याइने त कहिले अरू नै कारणले इजलासको प्राथमिकतामा पर्न सकिरहेको छैन । अदालती छिनोफानोअघि नै यो विवाद सुल्झाउन केही राजनीतिक तथा अधिकारकर्मीहरू जुटेका छन् । तर, यो विवाद निष्कर्षतर्फ गइरहेको छैन ।