लामो समयदेखि नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावशाली क्षेत्रका रूपमा चिनिँदै आएको झापा–५ मा यसपटक नेपाली कांग्रेसले युवापुस्तालाई प्राथमिकतामा राख्दै उम्मेदवार सिफारिस गरेको छ। नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिले पार्टी विधान र केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार आगामी प्रतिनिधिसभा तथा समानुपातिक निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको हो । सिफारिसमा प्रत्यक्ष तथा समानुपातिकतर्फ महिला, पुरुष र समावेशी समूहका नेता–कार्यकर्ताहरूलाई समेटिएको छ। प्राप्त विवरणअनुसार झापा–५ अन्तर्गत प्रतिनिधिसभा प्रत्यक्षतर्फ अइन्द्रविक्रम केरुङ, पदमबहादुर पौडेल, मन्दिरा पौडेल चिमरिया, मेदनिप्रसाद सिटौला, देवीप्रसाद दाहाल, खगेन्द्रप्रसाद पाण्डव अधिकारी र सिरम कार्कीको नाम सिफारिस गरिएको छ। त्यसैगरी समानुपातिकतर्फ महेन्द्राकुमारी लिम्बु, सुरेश सुब्बा, दिलिप राई, सत्यनारायण चौधरी, भुमिराज राई, चन्द्रा खड्का भट्टराई, कृष्णबहादुर धिमाल, रामकुमारी पौडेल, मेनुका बुढाथोकी, अम्बर बराइली, निरोज अग्रवाल, भिममाया उप्रेती (भुजेल) र रोहितकुमार शाह लगायतका नामहरू समावेश छन्।
कांग्रेस झापा जिल्ला कार्यसमितिले पार्टी संगठन सुदृढीकरण, समावेशी प्रतिनिधित्व र जनअपेक्षा अनुसार उम्मेदवार सिफारिस गरिएको जनाएको छ। पार्टी स्रोतका अनुसार आवश्यक छलफलपछि केन्द्रीय कार्यसमितिले अन्तिम निर्णय गर्नेछ। यसपटक झापा–५ मा युवापुस्ताको सक्रियता, संगठन विस्तार र परिवर्तनको चाहनाले कांग्रेसप्रति आकर्षण बढ्दै गएको छ। नेपाली कांग्रेसले युवामुखी र नयाँ नेतृत्वलाई अघि सार्दै राजनीतिक सन्देश दिन खोजेको देखिन्छ, जसले केपी ओलीको गढ मानिएको क्षेत्रमा नै नयाँ राजनीतिक बहस र उत्साहले चुनावी समीकरण परिवर्तन गर्न सक्ने टिप्पणी भइरहेको छ ।
