नेपाली कांग्रेसका महान् सिद्धान्तवादीहरूको यो नयाँ अध्याय हेर्दा हाँसो लाग्छ । हिजो निर्वाचन आयोगलाई असंवैधानिक भूत ठानेर सर्वोच्च अदालतको ढोका ढकढकाउँदै “लोकतन्त्र बचाउनुपर्छ!” भन्दै कराउनेहरू, आज बिहानै त्यही आयोगको निर्णयलाई अमृत ठानेर टिकटको लाइनमा उभिएका छन्। यो के हो त? दार्शनिक क्रान्ति कि टिकट क्रान्ति?
हिजो त “विधान मरेपछि पार्टी मर्छ” भन्दै कार्यकर्तालाई सडकमा होम्दै, आगो बाल्न लगाउँदै, “न्याय” को नारा लगाइरहेका थिए। आज त्यही विधानको लासलाई काँधमा बोकेर टिकटको फोटो खिचाउँदै फेसबुकमा स्टाटस: “लोकतन्त्र जित्यो!” यो नैतिक जिम्नास्टिकको नयाँ विश्व रेकर्ड हो कि क्या हो?
सिद्धान्त भनेको त टिकटको मौसम अनुसार फेरिने रङ पो रहेछ! हिजो हरियो, आज निलो, भोलि जे पनि। कार्यकर्तालाई भने “तिमीहरू लड, हामी टिकट लिन्छौं” भन्ने शाही फर्मुला ? तल्लो तहमा लाठी चार्ज खाने, माथि टिकट चार्ज गर्ने यो त लोकतन्त्रको नयाँ मोडल हो: एक व्यक्ति, एक टिकट, शून्य अडान।
छेपारोले पनि लाज मान्छ होला अब कम्तीमा ऊ रङ फेर्दा लुक्छ, यिनीहरूले त लाइभ फेसबुक मा रङ फेर्दै “म नै सत्य हुँ” भन्दै हिँड्छन्। राजनीति सेवा हो कि टिकटको स्वाद? सेवा हो भने यस्तो स्वादु सेवा कसले खान्छ र?
तैपनि, सबै टिकट प्राप्त महानुभावहरूलाई हार्दिक बधाई। आशा छ, यो पटक कम्तीमा इमानको टिकट पनि जित्नुहोला नत्र त छेपारो पनि तपाईंहरूलाई देखेर हाँस्छ। रङ फेर्नुहुन्छ, तर लाज नफेर्नुहोला त्यो त बाँकी छ अझै।
