
तस्करीलाई अक्षुण्ण राखिराख्न समिति गठनको नाटक मञ्चन गरिन्छ । त्यस्ता समितिहरू तस्कर समात्नका लागि गठन गरिएकै हुँदैनन् भन्नेमा दुईमत नहोला ।सुन तस्करीको प्रसंग फेरि समाचारहरूमा आयो । जति ठूलो परिमाणमा बरामद भए पनि सुन तस्करीको निरन्तरतामा क्रमभंगता नहुनुको प्रस्ट सन्देश हो— यो तस्करी राज्य संरक्षित र संगठित रूपमा निर्बाध भइरहेको छ र अपवादमा तस्कर समूहबीचको स्वार्थ–बेमेलका कारण बरामद हुने गरेको छ ।यो निर्बाधको तस्करी र अपवादको बरामदगी हेर्दा राज्य संयन्त्रको मुहार र तस्कर समूहको जोखिम उठाउने प्रवृत्तिलाई बुझ्न खासै गाह्रो पर्दैन । जुन देशमा अरू केही चल्दैन, त्यहाँ मस्करी र तस्करी मात्रै चल्ने गर्दछ ।राजनीतिक र प्रशासनिक क्षेत्रमा चाप्लुसी, मस्करी र व्यापारिक क्षेत्रमा धन्दा र तस्करी मात्र सम्भव छ भन्ने पुष्टि टनका टन सुन तस्करी र सोसँग मेल खाने अन्य सामाजिक–राजनीतिक घटनाक्रमले तथ्यसंगत रूपमा गर्छन् । सकारात्मक केही राम्रो गरेको वा गर्न खोजेको कुरो अपबादमा पर्नु र राज्य संयन्त्रको कुशासनको चक्र निर्बाध रूपमा सञ्चालन हुनुलाई राज्यको आन्तरिक विधि–प्रणाली पूर्ण रूपमा खलबलिसकेको र खुइलिसकेको रूपमा बुझ्नुपर्ने हुन्छ ।तस्करी राज्यविरुद्धको गम्भीर फौजदारी अपराध हो तर व्यवहारमा यो राज्यको समर्थनमा चल्ने नियमित धन्दाका रूपमा विस्तार हुन गएको छ । नक्कली भुटानी शरणार्थी, ललिता निवासजस्ता आपराधिक घटनाहरू पनि सिद्धान्ततः राज्यविरुद्धको फौजदारी कसुरका रूपमा अदालतमा दर्ता गरिए पनि व्यवहारमा ती सबै अपराधको आधिकारिकतामा राज्यका अधिकारीको संलग्नता थियो । जसले अपराध रोक्नुपर्ने हो, उसैले अपराध जन्माउनु लोकतन्त्र र कानुनी राज्य भएको मुलुकमा विरलै हुने घटना हो ।लफङ्गा नेता, लठैत तर निरीह दास प्रवृत्तिका कार्यकर्ता भएको देशमा मात्रै राज्यविरुद्धको अपराध राज्य समर्थनमा चल्ने गर्दछ र राज्य प्रणालीलाई अनपेक्षित र अवैधानिक कोर ग्रुप र चोर ग्रुपले कब्जामा राखेका हुन्छन् । अहिले यो कोर ग्रुपको घेरा साँघुरिएर आफ्नै सन्तानको कब्जामा पर्न गएको छ भने चोर ग्रुपमा लठैत कार्यकर्ताको धङधङी यत्रतत्र देख्न सकिन्छ । ‘हाम्रा महान् क्रान्तिकारी नेताका विरुद्धमा बोल्छस् ? तेरो बंगारा झारिदिऊँ ?’ भन्दै सार्वजनिक कार्यक्रममै झम्टिन आउने लठैत कार्यकर्ताहरूले गल्ली–मोहल्ला कब्जा गरेका छन् । यस्ता सबै खाले कब्जाको अन्तका लागि सामाजिक चेतना आ–आफ्नै अनुभव र अनुभूतिको जगमा राजनीतिक प्रणाली र पात्र परिवर्तनको मुद्दा पनि सशक्त तर असंगठित रूपमा समाजमा देखा पर्न थालेको छ ।अहिले मुलुकमा जे भइरहेको छ, बेठीक भइरेको छ भन्नेमा लगभग आम सहमति छ तर बेठीकलाई ठीक र स्थायित्व दिने विकल्पका विषयमा एकीकृत र संगठित संकल्पको अभाव देखिन्छ । मुलुक फेरि जिन्दवाद र मुर्दावादको चेपुवामा पर्न थालेको छ । विगतमा जसलाई जिउँदो मानियो ती अहिले मूर्दातुल्य छन् र जो अहिले मूर्दासरि छन् तिनलाई फेरि जिउँदो तुल्याउन जिन्दावाद र मुर्दावादको समूहमा विभक्त हुन पुगेका छन् । यो विभक्तिको अन्तहीन खेलोमा देशभक्ति र राज्य सुशासनको शक्ति निरीह बन्न गएको छ ।परिणामस्वरूप मुलुक फेरि अर्को राजनीतिक, सामाजिक र आर्थिक झट्काको सन्निकट रहेको देखिन्छ । यिनी नै फेरि हुँदै हुन्न भन्ने आम जनमतको बुझाइमा एकमत भए पनि यिनी र उनीको पछाडिको पनि अर्थात् उनी पनि त उस्तै भन्ने द्विविधामा मुलुक फस्न गएको छ । यो द्विविधाको सुविधामा रहेका विगतका जिन्दावादहरू मुर्दावादको अस्त्रबाट आफूलाई जोगाउन सफल भएका छन् । मुलुकभित्र प्रोत्साहन र दुरुत्साहनको परिस्थितिको स्थलगत अध्ययन–विश्लेषण गरेर तस्करले लगानीको जोखिम उठाउने गर्दछ । जहाँ तस्करी राज्यको प्रोत्साहन र प्राथमिकतामा पर्ने गर्दछ, त्यहाँ तस्करका लागि लगानी गर्ने ढुक्कको वातावरण बन्ने गर्दछ ।अफ्रिकी मुलुकमा सुन तस्करीको सञ्जाल फैलाउन सफल भारतीय मूलका रमेश पटानीलाई एक संवाददाताले ‘तपाईं यसरी निस्फिक्री र ढुक्कका साथ कसरी सुन तस्करी गराउन सफल हुनुभएको छ ?’ भनी सोध्दा जवाफ आएको थियो, ‘म एउटा गोजीमा पैसा र अर्को गोजीमा सरकार प्रमुखलाई राखेर मात्रै सुन तस्करीमा लगानी गर्ने गर्दछु ।’ पटानीको जवाफ खोज्न अन्त कहीँ जानुपर्दैन, यसका लागि हाम्रो विमानस्थल नै साक्षी छ ।विगतमा सरकार परिवर्तन गराउनेदेखि विमान अपहरण गराउनेसम्मको अन्तर्राष्ट्रिय छवि बनाउन र कालोसूचीमा पर्न सफल मुलुकको एक मात्र पुरानो विमानस्थल हाम्रो राजनीतिक उपलब्धि र सामाजिक चेतनाको प्रतिबिम्बका रूपमा लज्जित भएर ठिङ्ग उभिएको छ, जहाँ कि पहेंलो धातु सुन कि त पहेंलो वस्त्रमा श्रमजीवी स्वाभिमानी नागरिकका लासहरूको ओसारपसार हुने गर्दछ । राजनीतिको लछारपछार र तस्करीको ओसार–पसारलाई अक्षुण्ण राखिराख्न समिति गठनको नाटक मञ्चन गरिन्छ । त्यस्ता समितिहरू तस्कर समात्नका लागि गठन गरिएका हुँदै होइनन् भन्नेमा दुईमत नहोला ।अनुसन्धानको वैधानिक बाटो र स्वाभाविक प्रक्रियालाई अवरुद्ध पार्न समिति गठन गर्ने र केही थान सुझाव दिने रणनीतिक उद्देश्य र प्रपञ्चका लागि गठन गरिएका यी भुत्ते समिति भत्तामुखी र सत्तामुखी मात्र हुन सक्छन् भनेर गठन गर्ने सत्तापक्ष र प्रतिपक्षलाई थाहा छ तर यसमा दुवैको आम र अन्धसहमति हुने गर्छ ।सुन तस्करीको सञ्जालको सतहमा भरिया र पृष्ठभूमिमा जरिया अर्थात् ठूला लगानीकर्ता र संरक्षणकर्ता हुन्छन् । यी भरिया पनि कारबाहीको भूमिकाबमोजिम विभिन्न कित्तामा वर्गीकरण गरिएका हुन्छन् । हामीकहाँ अहिलेसम्म पक्राउ परेका सबै भरिया निर्णायक र ठूलो लगानी गर्नेहरू होइनन् । यी त तलबी र मतलबी भरिया मात्रै हुन् । वास्तविक लगानीकर्ता भरिया त प्रत्येक दलका प्रमुख नेता र राज्यदोहनको अवसरबाट पटकपटक लाभान्वित भएका नेतागण स्वयं पर्ने गर्छन्, जसले मुलुकदोहनका माध्यमबाट आर्जेको कालो धनलाई विभिन्न खाले तस्करी सञ्जालको विस्तारमा प्रयोग गरेका छन् ।वैधानिक अधिकारप्राप्त अनुसन्धानले यिनै भरियाको जरियाबाट आफूलाई समेत समात्न सक्ने सम्भावना देखेर सोको रोकथाम तथा नियन्त्रणका लागि समिति गठन गर्ने गरिन्छ, जुन अपराधबाट बच्ने–बचाउने रणनीतिक उपायबाहेक केही होइन । प्रहरी ऐनको प्रस्तावनामा अपराध रोक्ने र अपराधी पत्ता लगाउने कार्यका लागि प्रहरी फोर्सको गठन गरिनेछ भनी स्पष्ट रूपमा उल्लेख छ ।अर्थात्, कुनै पनि मुलुकमा या त प्रहरी स्वयंले वा प्रहरीको साथ–सहयोगमा अपराधी पत्ता लगाउनुपर्ने हुन्छ, यसबाहेक राज्यविरुद्धको अपराधमा अपराधी पत्ता लगाउने अर्को वैधानिक मार्ग नै हुँदैन । तर, यहाँ त अपराधी पत्ता लगाउनेभन्दा सत्ता टिकाउने सवाल प्रमुख हुन गएको छ र सत्ता टिकाउन हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको भूमिका चिरस्मरणीय रहँदै आएको सर्वविदितै छ ।सुन तस्करी वा मुलुकमा व्याप्त सबै खाले तस्करीभित्रको गुह्य कुरा यही हो, बाँकी सबै अनुसन्धानले नठहर्याएका आफूअनुकूलका अनुमानयोग्य विषय मात्र हुन् । अनुमानको सुविधालाई कायम राख्न र आफ्नो वास्तविक भूमिकालाई सुरक्षा कवच दिन गठन गरिने सबै खाले समितिको तत्काल खारेजी नगरी भरियाका माध्यमबाट अनुसन्धानको जरियामा पुगिँदैन भन्ने कुरा विगतदेखि नै पुष्टि–प्रमाणित हुँदै आएको छ ।लोकतान्त्रिक प्रणालीका माध्यमले मुलुकको मुहार फेर्न सकिन्छ भन्ने विश्वास गुमाइसकेका पुरातन सोच भएका, अपराधजन्य कर्मबाट आर्जेको शक्ति र लठैत कार्यकर्ताको पोषणबाटै सत्ता टिकाउन सकिन्छ भन्ने मनोग्रन्थीबाट ग्रस्त नेतामा अब भने रूपान्तरणको सम्भावनाको कल्पनासम्म गर्न सकिन्न ।यिनी वा उनीबाट चल्ने भनेकै तस्करी मात्रै हो, चाहे वस्तुको होस् वा व्यक्तिको, यी दुवै कार्यका लागि हाम्रो मुलुक ज्यादै ऊर्वर छ । यो विडम्बनालाई नयाँ खाले सम्भावनामा परिणत गर्न विद्यमान प्रणाली, प्रवृत्ति र पात्रमा ठूलै कम्पनको समीप हामी पुगेका छौं । यो सामीप्यको गर्भमा लुकेको परिणाम के होला भन्न सकिन्न, तर परिवर्तनको नियमले गर्ने खारेजी र स्थापनाले परिस्थितिको परिवेशलाई सम्बोधन गर्ने नै छ भनी विश्वास त गर्नैपर्यो ।