Home » मिथिलामा ‘भैयादुज’ मनाइँदै
महोत्तरी । मधेसका महोत्तरीसहित मिथिला क्षेत्रमा आज बुधबार ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ अर्थात् अन्तिम दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा रहँदै आएको छ । सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि भने धनतेरस गत शुक्रबार नै मनाइँदा छ दिनको भएको छ । दिनमा तिथिको भोग घटबढले यसपालि छ दिनको यमपञ्चक परेको हो ।भरद्वितीया, भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन् । अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा छ ।यमपञ्चकमा पर्वते मूलका र मैथिल हिन्दुको पर्व मनाउने पौराणिक कथावस्तु भने एउटै पाइन्छ । अघि सत्ययुगमा राजा बलिका बहिनी गङ्गा र यमुनाले स्वर्गका राजा इन्द्रसँग युद्ध गर्न हिँड्नुअघि दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएका कथा नै यो पर्वको आधार परम्परा रहँदै आएको मिथिलाका प्रसिद्ध साहित्यकार डा राजेन्द्र विमलले बताए ।मैथिल परम्पराको ‘भैयादुज’ पर्वमा दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्ने चलन नै छ । विवाहित दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ वस्त्र, आभूषण कोशेली लिएर जाने गर्छन् । पर्वमा दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो)ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइ बसाउँछन् । टाढाबाट थाकेर आएका दाजुभाइको गोडा कोपरामा राखेर तातोपानीले धुइन्छ । त्यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखिदिएर दिदीबहिनीले सप्तरङ्गी टीका लगाइदिने मैथिल परम्परा छ ।मैथिल परम्परामा यो विधि सम्पन्न गरिएसँगै दिदीबहिनीले गङ्गा, यमुनाको जस्तै वेग र कीर्ति दाजुभाइको होस् भन्दै गीतबाट भाव व्यक्त गर्दछन् । यसैक्रममा सुकेको केराउको दाना दाजुभाइलाई चबाउन दिइन्छ । ‘बजरी’ ख्वाइने भनिने यो विधिमा साह्रो न साह्रो केराउलाई बज्रसँग तुलना गरेर ‘बजरी’ भनिएको डा विमलको भनाइ छ । ‘बजरी’ ख्वाइने विधिको भाव भने दाजुभाइको शरीर बज्रसमान कठोर होस् भन्ने रहेको डा विमलले बताउनुहुन्छ । यो विधि सकिएपछि दाजुभाइले दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा राखिदिन्छन् । दिदीबहिनीले त्यसपछि दाजुभाइलाई मिष्ठान्न भोजन गराएर पर्व सम्पन्न गर्छन् ।मिथिलामा दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम सम्बन्ध प्रगाढ बढाउने तीनवटा पर्व परम्परा चलेका छन् । साउन पूर्णिमाका दिन दाजुभाइलाई बाँधिने सप्तरङ्गी डोरा ‘राखी’ बाँधीदिने र यमपञ्चक अर्थात तिहारको कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भैयादुजको कथावस्तु पौराणिक गाथामा आधारित राजा बलि र उनका दिदीबहिनी गङ्गा–यमुना नै हुन् । कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइने सामाचकेवा पर्व भने द्वापरयुगकालीन भगवान् श्रीकृष्णका पुत्र साम्ब र छोरी सामाबीच दाजुबहिनीको प्रेमपूर्ण स्नेह, समर्पण र त्यागको कथावस्तुमा आधारित भएको डा विमलको भनाइ छ ।पछिल्ला वर्षहरूमा मिथिलाका मूल बासिन्दा र यहाँ बसोबास गर्न आएका अन्य जाति, धर्म, परम्परा र संस्कृतिका विभिन्न समुदायबीच सांस्कृतिक घुलमिलले चाडवाड साझा बन्दै गएका छन् । पर्वते हिन्दू परम्पराको भाइटीका र मैथिल परम्पराको भैयादुज मनाउन दिदीबहिनी र दाजुभाइ मानेर फरक–फरक संस्कृति परम्पराका युवापुस्ता एकसाथ पर्व मनाउन थालेका छन् । पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.