सरोज कुमार पासमान
सिरहा, कार्तिक १३ गते । आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपाल आठ विकेटले जित प्राप्त गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा कुशल मल्लले विजयी छक्का प्रहार गर्दै नेपाललाई पहिलो खेलमा विजयी बनाएको हो । टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ४५ रन बनाएको छ । जवाफी ब्याटिङमा उत्रिएको नेपालले कुशल भुर्तेल र आसिफ शेखको साझेदारीमा जित नजिक पुगेको थियो । आसिफ २७ रनमा बोल्ड भए । उत्कृष्ट पारी खेलेको भूर्तेलले अर्धशतक पूरा गर्दै ७४ रनमा क्याच आउट भए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे ।
यस अघि सिंगापुरले ब्याटिङ गर्दै ओपनर रोहन रंगराजन सर्वाधिक ४६ रनको मद्दतले १४५ रनको लक्ष्य नेपाल सामु पेश गरेको थियो । अर्का ब्याट्सम्यान आर्यवीर चौधरीले २३ बलमा ३३ रन र विकेटकिपर मानप्रित सिंहले २६ बलमा २४ रनको योगदान गरेका छन् ।
सानदार बलिङ गरेको नेपालका तीन बलरले समान दुई विकेट हात पारेका थिए । तिव्रगतिका बलर अभिनाश बोहराले चार ओभरमा तीन विकेट लिएका थिए । यसबाहेक करण केसी, गुल्शन झासहित लेग स्पिनर सन्दीप लामिछानेले दुई÷दुई विकेट लिएका छन्। चार ओभरमा २१ रन खर्चिएका सोमपाल कामी विकेट विहिन भए ।
आइसिसी टी–२० विश्वकप छनोटमा नेपालसहित कुल आठ टिम सहभागी छन् । दुई समूहमा चार–चार टोली रहेका छन् । समूह ‘ए’का सबै खेल त्रिवि मैदानमा हुनेछ । यो समूहमा आयोजक नेपालसहित सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले १४ कात्तिकमा मलेसिया र १६ कात्तिकमा ओमानसँग खेल्नेछ ।
समूह ‘बी’का सबै खेलसहित सेमिफाइनल मूलपानी माथिल्लो मैदानमा हुनेछ । प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनल स्थान बनाउनेछन् । फाइनल पुग्ने दुई टोलीले टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।






