Home » बेपत्ता यात्रुका परिवार भन्छन्– जिउँदो भेटिने आश छैन, लास भेट्न पाए पनि हुन्थ्यो
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोका कारण बगेका २ वटा बसका अधिकांश यात्रुको अवस्था अझै अज्ञात छ ।बेपत्ता यात्रुका परिवारका सदस्य चितवनमै बसेर खोजी तथा उद्धार कार्यको प्रगति दैनिक कुर्दै बसिरहेका छन् । भारत, बिहार निवासी ४५ वर्षीय एहसान उल हक तिनैमध्येका एक हुन् । उनी आफ्ना काका आविद हुसेनको अवस्था बुझ्नका लागि चितवनमै बस्दै आएका छन् । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल बसमा सवार थिए आविद हुसेन । काठमाडौँमा गार्मेन्ट सम्बन्धी काम गर्ने उनी इद मनाउन घर गएका थिए । परिवारसँग इद मनाएर काठमाडौँ फर्किने क्रममा असार २७ गते उनी वीरगंजबाट एन्जल बस चढेका थिए ।बिहान काठमाडौँ पुग्ने र काममा हाजिर हुने उनको लक्ष्य थियो । तर, विडम्बना ! उनी बाटोमै दुर्घटनामा परे । बससहित त्रिशूलीमा खसेका उनको अवस्था अज्ञात छ ।काकासँगै काठमाडौँमा बसेर काम गर्दै आएका एहसान काका हराएपछि काठमाडौँबाट १५ जनाको टोलीसहित घटनास्थलमा आएका थिए । ३ दिनसम्म काकाको खबर पत्ता नलागेपछि आफूसँग आएका सबैलाई काममा फर्काएर उनी कान्छो काकाको साथमा चितवनमा खोजी तथा उद्धार कार्यमार्फत आउने खबरको प्रतीक्षामा बस्दै आएका छन् ।एहसानलाई घर–परिवारबाट पनि निरन्तर फोन आइरहन्छ । बेपत्ता काकाको अवस्थाबारे सोधिएको प्रश्नको जवाफ दिँदादिँदै उनी थकित हुन्छन् । सबैले सोध्ने प्रश्न करिब उस्तै हुन्छ– ‘के छ ? केही पत्तो लाग्यो ?’अनि एहसानले दिने जवाफ पनि एउटै हुन्छ, ‘अहिलेसम्म त भेटिएको छैन । पुलिसहरू खोजिरहेका छन् ।’गार्मेन्टमा कपडा सिलाइको काम गर्ने हुसेनका २ छोरा र ४ छोरी छन् । छोराहरू पनि गार्मेन्टमै काम गर्दै आएका छन् ।एहसान भने काठमाडौंमा मार्बलको काम गर्दै आएका छन् । एहसानलाई २ दिन अघिसम्म काका सकुशल भेटिने आश थियो । तर अब भने उनले आश मारिसकेका छन् ।अहिलेसम्म फेला परेका शवको अवस्था प्रत्यक्ष देखेका एहसानलाई काका जिउँदै भेटिने आश छैन तर शव भेटियोस् भन्ने कामना गरिरहेका छन् ।‘अब त जिउँदो भेटिने आशा छैन । हिजो अस्तिसम्म त जिउँदो भेटिन्छ भन्ने लागेको थियो । अब त गाह्रो भयो,’ उनले भने, ‘अब त शव भेटिन पनि गाह्रो हुन्छ भन्ने लागिरहेको छ ।’चितवनको गर्मीमा सोमबार घटनास्थलमा चाउचाउ र पानी खाँदै गरेको अवस्थामा भेटिएका एहसानको दैनिकी घटनास्थल, अस्पताल गरेर बितिरहेको छ । काका भेटिए कि भन्ने आशासहित उनी अस्पताल र घटनास्थल तथा प्रहरीले खोजीकार्य गरिरहेको ठाउँमा पुग्छन् ।नारायणगढबाट १८ किलोमिटर पश्चिमउत्तर पर्ने सिमलताल (घटनास्थल), त्रिशूली र नारायणी नदीको किनार डुल्नु उनको दैनिकी हो । कसैको शव भेटियो भन्ने थाहा पाउनासाथ उनी भरतपुर अस्पताल पुग्छन् ।उजाडिएको घटनास्थल, बेग लिएर बगेको नदी अनि अस्पतालको शवगृह पुग्नु उनको नियमित कामजस्तै बनेको छ ।उद्धारमा खटिएको प्रहरीले बेपत्ता यात्रुका परिवारको मोबाइल नम्बर लिएर ह्वाट्स एप ग्रुप बनाएको छ । खोजतलासका क्रममा भेटिएका व्यक्तिको फोटो सोही ग्रुपमा प्रहरीले राखिदिने गरेको छ । त्यो फोटो हेरेर पहिचानका लागि आफन्तहरु आउने गरेका छन् ।चितवनको इमेज प्यालेस होटलमा ३ दिनदेखि निःशुल्क बसिरहेका उनी प्रहरीसँग समन्वय गरेर काठमाडौँ फर्किने तयारीमा छन् । काका भेटिएपछि आउने गरी काठमाडौँ जाने सोच बनाएको उनले बताए ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.