Home » मन्त्री भागबण्डामा कांग्रेस–एमालेबिच सैद्धान्तिक सहमति
सत्ता सहकार्यको समझदारी गरेका नेपाली कांग्रेस र नेकपा एमाले शक्ति बाँडफाँटमा घनीभूत संवादमा छन् । असार १७ को मध्यराति संसदको बाँकी कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका कांग्रेस र एमाले अहिले मन्त्रालयको भागबण्डा केन्द्रित छन् ।असार २८ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्छ । त्यसअघि नै मन्त्रालयको भागबण्डा टुङ्ग्याउन कांग्रेस र एमालेको तयारी देखिन्छ ।असार २० मा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस र एमालेका नेताहरूबिच मन्त्राललय भागबण्डाबारे दुई वटा विषयमा सैद्धान्तिक सहमति भएको थियो । देउवा र ओलीबिचको उक्त छलफलमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र एमाले उपाध्यक्ष विष्णु पौडेल सहभागी थिए ।एमाले र कांग्रेसबिच मन्त्रालय भागबण्डामा रस्साकसी नगर्ने र एकै पटक सबै मन्त्री नियुक्त गर्ने सैद्धान्तिक सहमति भएको नेताहरू बताउँछन् । कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार ओलीले अर्थ मन्त्रालय आफ्नै पार्टीले सम्हाल्ने सङ्केत गरेका थिए ।उनले भने, ‘अर्थ मन्त्रालय चाहिन्छ भन्ने उहाँ (केपी ओली)को कुरा थियो । तर, भागबण्डा मिलाउन बाँकी नै छ । नेताहरू बसेर काम गरिराख्नु भएको होला ।’ओली नेतृत्वमा बन्ने सरकारमा कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने नेताहरू बताउँछन् । अहिलेसम्मको छलफलमा कांग्रेस र एमाले बाहेकका दललाई सरकारमा सहभागी गराउने विषय प्रवेश भएको छैन ।नयाँ सरकारमा जान राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी लगायत इच्छुक छन् । कांग्रेस सभापति देउवाले असार १८ मा विपक्षी खेमामा रहेका साना दललाई आफ्नो निवास बोलाएर एमालेसँगको सहमतिबारे बिफ्रिङ गरेका थिए । त्यसपछि कांग्रेस र एमालेले आफूहरूसँग छलफल नगरेको राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ बताउँछन् ।कांग्रेस संसदीय दलका प्रमुख समेतक लेखकले प्रधानमन्त्री प्रचण्डले विश्वासकै मत लिन तीन–चार दिन बाँकी रहेकाले यसबिचमा सबै दलसँग छलफल हुने बताए । ‘राष्ट्रिय सहमतिको सरकार बनाउने भनेपछि सबै दलसँग छलफल हुन्छ । हामी छलफलमै छौँ,’ उनले भने । नयाँ बन्ने सरकारमा कांग्रेस र एमालेले मन्त्रालय भागबण्डामा रस्साकसी नगर्ने नेताहरू बताउँछन् ।कांग्रेस र एमालेबिच मन्त्रालय भागबण्डामा नयाँ विधि अपनाउने लेखकको भनाइ छ । उनका अनुसार ओली नेतृत्वको सरकारमा कांग्रेसले लिएका मन्त्रालय देउवाको नेतृत्वमा सरकार बन्दा एमालेले लिने गरी अहिले मन्त्रालयको भागबण्डा हुने छ ।एमालेसँग मन्त्रालय भागबण्डामा धेरै रस्साकसी नहुने भए पनि कांग्रेसमा आन्तरिक शक्ति सन्तुलन मिलाउन सभापति देउवालाई हम्मेहम्मे छ । कांग्रेस र एमाले एक ठाउँमा उभिएपछि प्रधानमन्त्री प्रचण्डले असार २८ मा विश्वासको मत नपाउने निश्चितजस्तै छ । यही साताभित्रै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने भएपछि मन्त्री प्राप्तिका लागि कांग्रेस सांसदहरूकोे दौडधुप चलिरहेको छ । सभापति देउवाका साथै आफू निकट प्रभावशाली नेताको घरमा कांग्रेस सांसदको घरदैलो चलिरहेको छ । कांग्रेसमा सभापतिका अलावा नेता शेखर कोइराला, महामन्त्री गगन थापा, नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, कृष्णप्रसाद सिटौला पनि शक्ति केन्द्र मानिन्छन् । देउवा पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन केन्द्रित छन् ।कांग्रेस नेताहरूका अनुसार ओलीले एकै पटक सबै मन्त्री नियुक्त गरेर जाने सङ्केत देउवालाई दिएका छन् । ‘सबै मन्त्री एकै पटक नियुक्त गर्ने तयारी छ । किस्ता किस्तामा मन्त्री नियुक्त गर्ने कुरा राम्रो हुँदैन भन्ने ओलीजीको बुझाइ छ । सभापतिजी पनि त्यही अनुसार गृहकार्य गरिराख्नु भएको छ,’ कांग्रेसका एक पदाधिकारीले रातोपाटीलाई भने ।ओलीले एमालेबाट मन्त्री छनोटमा कुनै समस्या नहुने भन्दै बेलैमा मन्त्रीको टुङ्गो लगाउन देउवालाई सुझाएका छन् । ‘विगतमा मन्त्री छनोट गर्दा हाम्रो पार्टीको गुटगत लफडा देखेर होला । ओलीजीले कांग्रेसबाट सरकार गठनसँगै मन्त्रीको नाम आओस् भन्ने चाहनु भएको देखिन्छ,’ ती पदाधिकारीले भने, ‘हाम्रो सभापतिजी पनि त्यसैमा लागिराख्नु भएको छ । कसलाई मन्त्री बनाउने भन्ने उहाँले एक खालको सोच बनाइ सक्नु भइसक्नु भएको होला ।’पार्टीभित्र हुने छलफलहरू औपचारिकताका लागिमात्र हुने ती पदाधिकारीको बुझाइ छ । बुढानीलकण्ठ पुगेर फर्किएका सांसदहरूका अनुसार मन्त्री छनोटको ठोस मापदण्ड बनाउने मुडमा देउवा देखिएका छैनन् । देउवाका स्वकीय सचिव भानुका अनुसार मन्त्री छनोटको मापदण्डबारे केही दिनमा नेताहरूबिच छलफल हुने छ । ‘अहिलेसम्म केही छैन । मन्त्री छनोटको मापदण्ड बनाउन केही दिनमा नेताहरू बस्नुहुन्छ । अझै चार–पाँच दिन बाँकी नै छ,’ उनले भने ।एमाले र कांग्रेसबिच सबै मन्त्रालयको टुङ्गो लागिसकेपछि पार्टीमा निर्णय हुने उनको भनाइ छ । ‘अहिलेसम्म एमाले र कांग्रेसका बिचमा मन्त्रालयको सबै टुङ्गो लागिसकेको छैन । एक–दुई दिनमा त्यो टुङ्गिएपछि पार्टीभित्र छलफल सुरु हुन्छ,’ भानुले भने, ‘एमालेले कुन कुन मन्त्रालय लिन्छ । कुन कुन पार्टी सरकारमा सहभागी हुन्छ भन्ने टुङ्गिएको छैन ।’एमाले अध्यक्ष ओलीले एमालेबाट नयाँ अनुहारलाई मौका दिने सङ्केत गरेका छन् । कांग्रेसमा पनि महामन्त्री गगन थापाले नयाँ व्यक्तिलाई सरकारमा पठाउनुपर्नेमा जोड दिँदै आएका छन् । ‘योभन्दा अघिल्लो पटक ९ जना मन्त्री कांग्रेसबाट सरकारमा थिए । कांग्रेसबाट मधेसी, थारू र दलित मन्त्री भएनन् । त्यसैले यसपटक समावेशीसँगै परिणाम दिन सक्नेलाई मन्त्री बनाउनुपर्छ । पटक–पटक मन्त्री भएकाहरूलाई यसपटक विश्राम दिएर घरमै राख्नुपर्छ,’ उनको भनाइ छ ।प्रचण्ड नेतृत्वको सरकारमा यसअघि सहभागी भएका मन्त्रीले यस पटक कांग्रेसबाट मौका नपाउने निश्चितजस्तै देखिन्छ ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.