Home » मिथिलामा सोमवती अमावस्या मनाइँदै
मिथिलाक्षेत्रमा आज परेको औँसीका दिन सोमवती अमावस्या पर्व मनाइँदैछ । महोत्तरीसहितका मिथिलाक्षेत्रमा आज बिहान प्रथम प्रहरदेखि नै धार्मिक महत्वका नदी, तलाउ तथा सरोवरमा पवित्र स्नान गर्नेको घुइँचो छ । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित पुरन्दर, वरुण र भार्गव (भृगु) सर (सरोवर, पोखरी) मा सोमवती अमावस्या स्नान गर्ने श्रद्धालु खचाखच छन् । यसैगरी, मटिहानी–७ स्थित लक्ष्मीसागर र जिल्लाका तीर्थस्थलहरू ध्रुवकुण्ड, कञ्चनवन, टुटेश्वरधाम नजिकका जलाशय र रातु नदी तटमा स्नान गरेर श्रद्धालु पीपल वृक्षमा पूजाआराधना गर्दैछन् । मिथिलामा सोमवती अमावस्याका दिन गरिने स्नान, दान एवं श्राद्ध अक्षयफल दिने पुण्यदायक मानिन्छ । सोमबार औँसी परेका दिन बिहान सखारै कसैसँग बोलचाल नगरी पवित्र जलाशयमा स्नान गर्ने परम्परा रहेको बर्दिबास–२ का बासिन्दा मैथिल कर्मकाण्डका ज्ञाता पण्डित महेशकुमार झा बताउँछन् ।सोमवती अमावस्याका दिन पवित्र जलाशयमा स्नानपछि पीपल वृक्षको फेदमा जल चढाउने, पीपल वृक्ष वरिपरि धागो बाँध्ने, दीपदान गर्ने, आरती तथा पुष्पाञ्जली गर्ने र यथासक्य प्रदक्षिणा गर्ने शास्त्रीय विधान रहेको झाको भनाइ छ ।सोमवती अमावस्यामा गरिने यी कार्यले समस्त पाप नास भई प्रतिकूल ग्रह बाधा हट्ने र सुख, शान्ति एवं समृद्धि प्राप्त हुने मैथिल जनविश्वास छ । पीपल वृक्षमा ब्रह्मा, विष्णु र शिव तीनै देवको बास हुनेहुँदा सोमबारको औँसीका दिन पवित्र जलाशयमा स्नान गरी देवस्मरण गर्ने चलन पूर्वीय वैदिक परम्पराकै रहेको पाका मैथिल बताउँछन् ।पीपल वृक्षमा ब्रह्मा, विष्णु र शिवको बास हुने शास्त्रमा उल्लेख छ । ‘ॐमूलते ब्रह्मरुपाय मध्यतो विष्णुरुपिणे , अग्रतः शिवरुपाय अश्वत्थाय नमोनमः ।।’ पीपल वृक्षको मूल ब्रह्मा, मध्य विष्णु र अग्रभाग शिवरुप मानिने शास्त्रीय मान्यताले सोमबार औँसीका दिन यहाँ गरिने पूजाआराधना, दान, श्राद्ध तथा आरती पुण्यदायक हुने कर्मकाण्डका ज्ञाता भङ्गाहा–५ सीतापुरका पण्डित विष्णुप्रसाद शर्माको भनाइ छ ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.