Home » बागमती सरकारमा एमालेको ‘इन्ट्री’ कहिले ?
सत्ता समीकरण पछि बागमती प्रदेश सरकारमा दलहरू सहभागी गराउने क्रम चलिरहेको छ । बिहीबार हाम्रो नेपाली पार्टीलाई सहभागी गराएर सत्ता सुरक्षित गरेका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले नेकपा एमालेलाई पनि सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।सत्ता समीकरणमा निर्णायक मानिएको हाम्रो नेपाली पार्टीलाई ५ बुँदे सहमति सहित सरकारमा सहभागी गराएका मुख्यमन्त्री जमरकट्टेलले एमालेलाई पनि मन्त्री सहभागी गराउन प्रयत्न गरेका थिए । तर, एमालेले तत्काल सरकारमा जाने मनस्थिति बनाएन र मन्त्री पठाएन । एमालेले अङ्क गणितीय हिसाबले सत्ता साझेदार दल बने पनि विश्वासको मत दिएपछि मात्र सरकारमा सहभागी हुने रणनीति बनाएको थियो ।मुख्यमन्त्री जम्कट्टेलको प्रयत्नका बिच एमालेबाट एकालाल श्रेष्ठलाई बिहीबार नै शपथ गराउने चर्चा थिए । तर, एमालेले विश्वासको मत पछि मात्र सरकारमा सहभागी हुने बताएपछि सो कार्यले सफलता पाउन सकेन । केही आन्तरिक छलफल र तयारी नपुगेको भन्दै एमाले बिहीबार सरकारमा सहभागी नभएको सत्तारुढ दलका एक सांसदले जानकारी दिए । मन्त्रालय भागबन्डा, पावर सेयरिङ्ग र पार्टीको छलफल नपुगेका कारण एमाले सरकारमा सहभागी नभएको उनले बताए ।एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले मुख्यमन्त्री जमरकट्टेलले विश्वासको मत लिएपछि मात्र एमाले बागमती प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको बताए । तत्काल नै सरकारमा सहभागी हुने र सरकार विस्तारको कार्यक्रमको योजना नहरेको उनले बताए । १९ गते मुख्यमन्त्री जम्कट्टेललेको विश्वासको मत पछि मात्र सरकारमा सहभागी हुने विषयमा निर्णय हुने उनको भनाई छ ।प्रदेश सरकारका सत्ता साझेदार दलहरू बिच मन्त्रालय र विषयगत समिति लगायतका विषयमा छलफल गरी टुंग्याएसंगै सरकार विस्तार गरी एमाले सरकारमा सहभागी हुने उनले बताए । सत्ता समीकरण पछि प्रदेश सरकार माथिको संकट टार्न र सरकारलाई बहुमत पु¥याउने तर्फ ध्यान दिँदा सरकारमा सहभागी हुने विषयमा छलफल हुन नसकेको उनले बताए ।‘बदलिएको राजनीतिक परिस्थितिमा सरकारलाई बहुमत जुटाउने प्रयत्न पहिलो थियो । हामीले त्यसलाई नै प्राथमिकतामा राख्यौ । हाम्रो नेपाली पार्टी सरकारमा सहभागी भयसँगै बहुमतको ग्यारेन्टी भएको छ ।’ उनले भने, ‘आन्तरिक छलफल र तयारी नभएकाले एमाले अहिले नै सरकारमा सहभागी नभएको हो । मुख्यमन्त्री जमरकट्टेलले विश्वासको मत लिएसँग हामी सरकारमा सहभागी हुन्छौ । मन्त्रालयको सङ्ख्या, संसदीय समितिको सभापति लगायतका विषयमा छलफल हुन सकेको छैन । अब सरकार विस्तार हुँदा ती विषयहरू पनि टुङ्ग्याएर अघि बढ्छौ ।’उनका अनुसार विश्वासको मत लिए लगत्तै २÷३ दिनमा नै सरकार र संसदीय समितिको विषयले पूर्णता पाउने छ । सरकारमा सहभागी हुँदा विगतका विषयहरूलाई पनि मूल्याङ्कन गरी एमालेले मन्त्री छनौट गर्ने उनको भनाई छ । केन्द्रीय तहमा छलफल गरी मन्त्री चयनका विषयमा निर्णय गरिने उनले बताए । बागमती प्रदेशको १२ मन्त्रालयलाई ११ वाट कायम गर्ने गरी सत्ता गठबन्धन दलहरू बिच सहमति भएकाले सो विषय पनि छलफल गरी टुङ्ग्याउने पौडेलले बताए ।बागमती प्रदेशका १२ मन्त्रालय मध्ये ५ मन्त्रालय अझै पनि मन्त्री विहीन अवस्थामा रहेको छ भने सो मन्त्रालयको कार्यभार मुख्यमन्त्री मातहत नै रहेको छ । ३ मन्त्रालयमा माओवादी केन्द्रका मन्त्री रहेका छन् भने २ मा एकीकृत समाजवादी र १ मा हाम्रो नेपाली पार्टीले नेतृत्व गरिरहेको छ ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.