Home » युएन वुमनमा महिला मन्त्री चौधरीको संबाेधन- नेपालले महिला सशक्तीकरणलाई प्राथमिकता दिएको दाबी
महिलाले विश्वभरका पुरुषहरूको तुलनामा उच्च गरिबी अनुभव गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बताएकी छिन् । गरिबी लैङ्गिक समानताको लागि ठुलो बाधक रहेको बताउँदै मन्त्री चौधरीले कोभिड–१९ महामारी, जलवायु परिवर्तन, खाद्यान्न, इन्धन र मल लगायतको सङ्कट र चुनौती पुरुषले भन्दा बढी महिलाले भोग्नु परेको बताइन् ।अमेरिकाको न्यूयोर्कमा जारी युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री चौधरीले महिलाले विश्वको आधा जनसङ्ख्याको आधा सम्भावना बोकेको भएता पनि विश्वव्यापी लैङ्गिक समानता हासिल गर्न चुनौतीहरू रहेको बताइन् । ‘सेक्युरिटी जनरलको रिपोर्टले काम गर्ने समय, रोजगारी, वित्तीय समावेशीकरण, वित्तीय स्रोतमा पहुँच र सामाजिक सुरक्षामा महिला र पुरुषबिचको ठुलो अन्तर देखाउँछ । सामाजिक सुरक्षा, समावेशी दिगो विकास लक्ष्य हासिल गर्न लैङ्गिक समानता, महिला सशक्तीकरण महत्त्वपूर्ण रहेको छ ।’ नेपालले महिला र युवतीहरूको अधिकार र मुद्दालाई सधैँ उच्च प्राथमिकतामा राखेको मन्त्री चौधरीले बताइन् । नेपालको संविधानले महिला र युवतीहरूको पारिवारिक मामिला र सम्पत्तिको हक लगायत मौलिक हकको प्रत्याभूति गरेको भन्दै मन्त्री चौधरीले नेपालमा महिला र युवतीहरूको सङ्घीय र प्रादेशिक संसद्को ३३ प्रतिशत, स्थानीय सरकारमा ४० प्रतिशत सिटको ग्यारेन्टी गरेको उल्लेख गरिन् । उनले भनिन्– ‘हामीले हाम्रो विकास प्रयासमा लैङ्गिक समानता र महिला सशक्तीकरणलाई प्राथमिकता दिएका छौँ । १६ औँ पञ्चवर्षीय आवधिक योजनामा लैङ्गिक जबाफदेही शासन प्रणालीलाई समावेश गर्न प्रतिबद्ध छौँ ।’मन्त्री चौधरीले जमिन र सम्पत्तिमा एक तिहाइ महिलाको स्वामित्व रहेको बताउँदै लघु, साना र मझौला उद्यममा महिलाहरूको सहभागिता बढिरहेको जिकिर गरिन् । ‘करिब ४५ प्रतिशत लघु, साना र मझौला उद्योगहरू महिलाद्वारा सञ्चालित छन् । सहकारीमा ५६ प्रतिशत महिला छन् । यसले आर्थिक स्वतन्त्रतालाई दिगो बनाउन योगदान गरेको छ ।’ उद्यपि गरिबी सम्बोधन गर्न स्रोतसाधनको अभाव भएकाले असमानताहरू रहेको उनको भनाई छ ।साथै, मन्त्री चौधरीले नेपाल अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न, लैङ्गिक समानता र सबै महिला र युवतीहरूको सशक्तीकरण, शिक्षा, रोजगारी, उद्यमशीलता, स्रोत र सम्पत्तिमा समान पहुँच प्रदान गर्न, संस्था र क्षमताको कमीलाई सम्बोधन गर्न, महिला तथा बालिकाको विकासमा लगानी गर्न प्रतिबद्ध रहेको उल्लेख गरिन् ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.