
सुरक्षा व्यवस्थापनमा लापरबाही, एसएसपीको नेतृत्वमा छानबिन समितिलघुवित्त तथा मिटरब्याजपीडित समूहले आफ्ना माग सम्बोधन नभएको भन्दै संघीय संसद् भवन परिसरमै छिरेर प्रदर्शन गरेका छन् । संसद् भवन सुरक्षार्थ तैनाथ प्रहरीलाई छक्याउँदै प्रदर्शनकारीले सोमबार नयाँ बानेश्वर पानीट्यांकीतर्फको गेटबाट भित्र छिरेर नाराजुलुस गरेका हुन् ।विभिन्न असन्तुष्ट समूहले काठमाडौंका मुख्य स्थान केन्द्रित धर्ना, जुलुसलगायत विरोधका कार्यक्रम बढाएपछि जिल्ला प्रशासनले माइतीघर, बानेश्वर, तीनकुने, सिंहदरबार बाहिरी क्षेत्र, शीतलनिवास, बालुवाटारलगायत अति विशिष्ट व्यक्तिका कार्यालय एवं निवास तथा आउजाउ हुने संवेदनशील ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । पुस ४ मा काठमाडौं प्रशासनले निषेधित क्षेत्र तोक्दा संसद् भवन बाहिरको भागलाई पनि समेटेको थियो । त्यसपछि यी स्थान तथा वरपर बाक्लो रूपमा प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गराइएको थियो ।तर, अति संवेदनशील एवं सरकारबाटै निषेधित क्षेत्र तोकिएको स्थान हुँदै ठूलो समूहले प्रहरीलाई झुक्याई संघीय संसद् भवन छिरेर प्रदर्शन गरेको हो । यो घटनाले सुरक्षा कमजोरीलाई सतहमा ल्याएको छ । अर्कातर्फ यो घटनाले प्रदर्शनकारीहरू कसरी आफ्ना माग पूरा गर्न जस्तोसुकै जोखिम मोलेर पनि निषेध गरिएको ठाउँमा पुग्छन् भन्ने पक्ष उजागर गरिदिएको छ ।केही दिनयता उपत्यका बाहिरबाट आएका सुदखोर–लघुबित्त पीडितहरू सरकारविरुद्ध आन्दोलनमा छन् । त्यही क्रममा सोमबार सानो–सानो समूह बनाएर बानेश्वर पुगेका थिए । त्यही मौकामा पानीट्यांकीतर्फको गेटबाट प्रहरीलाई ठेलेर भित्र छिरेका थिए । त्यसपछि नाराजुलुसमा उत्रिएका प्रदर्शनकारीमध्येका ४८ महिला र १ जना पुरुष पक्राउ परेका छन् ।काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी दीपक थापाका अनुसार विभिन्न ठाउँबाट सोमबार दिउँसो ५/६ जना भेला भएर बानेश्वरको पानीट्यांकी नजिक गएको देखिन्छ । ‘आज कार्यक्रम छैन, यसो घुम्न आएको भन्दै’ संसद् भवनको ३ नम्बर गेटअघि भेला हुने क्रम बढ्यो । उनीहरू अलिअलि गर्दै त्यस क्षेत्रमा आइपुगेर छरिएर गेटको वरिपरि बसेका थिए,’ थापाले भने, ‘पानीट्यांकी नजिकै प्रहरीको सीआरभी भ्यान पनि बस्छ । प्रहरीको अरू टोली पनि बाहिर बस्छ । तर त्यहाँ को आइरहेको छ र के गर्न चाहिरहेको छ भन्ने प्रहरीले भेउ नै पाएन ।’थापाका अनुसार पानीट्यांकीतर्फको गेटमाथि दुई जना सेन्ट्री बसेका थिए । गेटमा दुई जना तैनाथ थिए । त्यही बेला एक जना प्रहरी काम विशेषले संसद् परिसरभित्र छिरेका बेला गेटको सुरक्षामा एक जना मात्र प्रहरी हुन पुगे । त्यही बेलामा यताउता छरिएर रहेका मानिसहरू एकत्रित भई गेटबाट सुरक्षाकर्मीलाई धकेलेर प्रवेश गरे । उनीहरू संसद्को मुख्य भवन बाहिरको खुला स्थानमा नाराबाजीसहित प्रदर्शन गरे ।संसद् भवन परिसरको सम्पूर्ण सुरक्षा कमान्ड नेपाल प्रहरीको हुन्छ । संसद्को हलभित्र सांसदको सुरक्षा भने संसद् सचिवालयमातहत रहने मर्यादापालकले गर्छन् । संसद् परिसर क्षेत्रको सुरक्षाका लागि त्यहाँ इन्स्पेक्टरको नेतृत्वमा विशेष कार्यदलको एउटा टुकडी नै तैनाथ छ । त्यसलाई समेत छलेर प्रदर्शनकारी भित्र प्रवेश गर्नुले सुरक्षा अवस्था नाजुक देखाएको छ । संसद् भवनभित्र आन्दोलनकारी प्रवेश गरेको घटना गम्भीर भएको भन्दै सभामुख देवराज घिमिरेले लघुवित्त ऋणीहरूको समूह हूलहुज्जतसहित प्रवेश गरेको र नाराबाजी गरेको विषयमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँग जानकारी लिएका छन् ।यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेश मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे रहेको समिति गठन गरेको छ । प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले संसद् भवन परिसरमा भएको घटनाबारे छानबिन समितिको प्रतिवेदन आएपछि के कसो गर्नुपर्ने हो, आवश्यक निर्णय लिइने बताए । सोमबार साँझ नै गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखलाई मन्त्रालयमा बोलाएर संसद् भवनमा भएको घटनाबारे जानकारी लिएका थिए ।संवेदनशील क्षेत्रमै यसरी प्रदर्शनकारी छिरेको घटना गम्भीर रहेको भन्दै गृहमन्त्री श्रेष्ठले असन्तुष्टि जनाएका थिए । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा सावधानी अपनाउन पनि मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयले संसद् भवनको बाहिरी सुरक्षामा तैनाथ प्रहरीको टोलीलाई तानेर सोमबारै अर्को टोली खटाएको छ ।