क्यानडा–११ विरुद्धको तेस्रो तथा निर्णायक मैत्रीपूर्ण एकदिवसीय प्रतियोगितामा नेपालको ‘ए’ टोलीले पहिले ब्याटिङ गर्ने भएको छ । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा क्यानडा–११ ले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।तीन खेलको शृंखला हाल १–१ को बराबरीमा छ । आजको खेलमा विजयी हुने टोलीले शृंखला आफ्नो पक्षमा पार्नेछ । त्यसैले नेपाल र क्यानडा दुबै टोलीले जितको सक्दो प्रयास गर्नेछन् ।पहिलो एकदिवसीय खेलमा क्यानडा–११ ले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको थियो । दोस्रो खेलमा भने नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई दुई विकेटले हराएको थियो ।तेस्रो खेल काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा विहान ९ः३० बजे सुरु हुनेछ । यसअघि नेपाल र क्यानडाको सिनियर टोलीले तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थिए । उक्त शृंखलामा नेपाल ३–० ले विजयी भएको थियो ।






