
ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरस्थित बाबिया गाउँमा खानी तथा भूगर्भ विभागको निर्देशनलाई चुनौती दिँदै अवैध ढुंगाखानी सञ्चालन हुँदै आएको पाइएको छ । मछिन्द्रनाथ मल्टिप्रपोज प्रालिद्वारा सञ्चालित ढुंगाखानीले अनुमति भन्दा बाहिर गएर सार्वजनिक जग्गा समेतमा उत्खनन गरेको पाइएको छ। यस्तै क्रसर सञ्चालन गरेको र विभागीय सर्त तथा सहमति समेत पालना नगरेको भेटिएको छ । विभागले उक्त खानी तत्काल बन्द गर्नु पर्ने र हाल सम्म भएको सार्वजनिक जग्गा दोहनको क्षतिपूर्ति तिर्नुपर्ने भन्दै गोदावरी नगरपालिकालाई गत कात्तिक १७ गते पत्र पठाएको थियो । पत्रको जवाफ नआएपछि विभागले पुनः मङ्सिर २६ मा अर्को पत्र पठाएको थियो । त्यसपछि नगरपालिकाले पत्रको जवाफ दिँदै खानीमा भइरहेको अवैध कार्यका सम्बन्धमा उपमेयरको संयोजकत्वमा अनुगमन समिति बनाएर फिल्डको अनुगमन गर्ने र उक्त प्रतिवेदनका आधारमा निर्णयमा पुग्ने बताएको छ । २०७१ मा मछिन्द्रनाथ मल्टिप्रपोज प्रालिका सञ्चालक हुन् केदार नाथ तिमल्सिना । कटुवाल दहबाट मछिन्द्र सामुदायिक बन र गिद्धेभिर सामुदायिक बनबाट बगुवा जोड्ने मोटर बाटो निर्माण गर्ने नाममा अवैध ढुङ्गा उत्खनन सँगै त्यहाँ क्रसर समेत सञ्चालन भइरहेको छ । त्यहाँ कित्ता नम्बर ११ को ६४ रोपनी वन, बुट्यान सरकारी भनी स्रेस्तामा उल्लेखित जग्गाको ढुङ्गा उत्खनन गरिएको विभागले जनाएको छ । स्थानीयहरूले पटक पटक वडाको प्रतिनिधिसहित खानी सञ्चालकसँग छलफल चलाएका थिए । खानी सञ्चालकलाई नियमपूर्वक र स्थानीयलाई असर नपर्ने गरी चल्न चलाउन सुझाव दिए कुनै पनि कुराको सुनुवाइ नभएको गुनासो स्थानीयवासीको छ । खानीले गरेको सार्वजनिक दोहनका कारण वस्तीनै खतरामा परेपछि गत भदौ ५ मा गोदावरी नगरपालिका, डिभिजन बन कार्यालय, जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला समन्वय समिति ललितपुर, जिल्ला प्रहरी, खानी तथा भूगर्भ विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा लिखित निवेदन दिएका थिए । निवेदनमा उत्खनन भैसकेका सार्वजनिक जग्गा, उत्खनन हुँदै गरेका सार्वजनिक जग्गा र खानी तथा भूगर्भ विभागबाट उत्खनन स्वीकृत नभएका व्यक्तिगत जग्गामा भइरहेका सम्पूर्ण जग्गाको नापी कार्यालय तथा मालपोत कार्यालयबाट प्रमाणित स्रेस्ता, नक्सा लगायतका प्रमाणहरू फोटो तथा भिडियोहरू पेस गरिएको थियो । उक्त खानी जवर्जस्ती रूपमा सञ्चालन हुनुमा नगरपालिकाको भूमिका शङ्कास्पद रहेको स्थानीयवासी बताउँछन् । उक्त अवैध ढुङ्गाखानी सञ्चालित क्षेत्रमा ६४० रोपनी ६ आना सार्वजनिक जग्गा रहेको प्रमाणित तथ्याङ्क स्थानीयले विभागमा बुझाएका छन् । खानी माथि रहेको अन्दाजी ११० रोपनी जग्गामा असर पुग्न सक्ने भन्दै खानी तथा भूगर्भ विभागले तोकेको मापदण्ड स्टेप कटिङ्गको पनि कुनै कार्यान्वयन नभएको गुनासो स्थानीयको छ । मछिन्द्रनाथले नयाँ कसर उद्योग सञ्चालन गरिरहेको छ ।गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले विभागको पत्र आएपछि सम्बन्धित वडालाई खानीको काम तत्काल रोक्न परिपत्र गरिएको बताए । उनले रातोपाटीसँग भने, ‘विभागले पत्र पठाएको छ । हामीले उपमेयरज्यूको संयोजकत्वमा अनुगमन टोली बनाएर फिल्डको अध्ययन गर्न पठाएका छौं । उहाँहरूले प्रतिवेदन बुझाएपछि बोर्डमा छलफल गरेर कुन कारबाही के गर्ने भन्ने निर्णयमा पुग्छौँ ।’ सिलवालका अनुसार सम्बन्धित वडाले पनि प्रतिवेदन बुझाएको छ । ‘हामीलाई वडाको छुट्टै प्रतिवेदन प्राप्त भएको छ, बोर्डमा यसबारे छलफल भइरहेको छ,’ प्रवक्ता सिलवालले भने,‘ तर, हामीले आफ्नै कार्यालयबाट पनि छुट्टै अनुगमन टोली पठाएर सत्य तथ्य पत्ता लगाई प्रतिवेदन बुझाउन भनेका छौं ।’ विभागका प्रवक्ता नारायण बाँस्कोटाले नगरपालिकालाई पटक पटक पत्राचार गरी अवैध रूपमा सञ्चालित खानी र क्रसरबारे जानकारी गराएको बताए । उनले भने,‘स्थानीय तहबाट सञ्चालित क्रसरले सार्वजनिक अतिक्रमण गरेको र सर्त पालना नगरेको भनेर कारबाहीका लागि गोदावरीलाई पत्र पठाइएको थियो, उसले अनुगमन समिति बनाएर छानबिन भइरहेको जवाफ दिएको छ ।’ मछिन्द्रनाथ मल्टिप्रपोज प्रालिका सञ्चालक केदार नाथ तिमल्सिनालाई यसबारे प्रतिक्रियाका सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।






