गत वर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए तापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको पाइएको छ । ट्रन्सपरेन्सी इन्टरनेशनल (टीआई)ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क रिपोर्टमा नेपालको अवस्थामा दुई स्थान सुधार आएको हो ।ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार सूचकाङ्क रिपोर्टमा नेपाललाई १०० मा ३५ अङ्क (१०८ औं स्थान) दिइएको छ । अघिल्लो वर्ष नेपालको अंक ३४ (११० औं स्थान) रहेको थियो । रिपोर्टले यसवर्ष नेपालको भ्रष्टाचारसम्बन्धी सूचीमा दुई स्थान सुधार भएको देखाएको हो ।ट्रान्सपरेन्सी इन्टरनेशनलले आफ्नो प्रेश वक्तव्यमा न्याय प्रणालीको स्वतन्त्रताबाट मात्र भ्रष्ट आचरणमाथि कारबाही बढ्ने र शक्ति सन्तुलन हुनेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।१८० देश सम्मिलित सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा सूचीकृत भएको छ ।






