
चीनले वित्तीय उद्योगका नियम कसिलो पारेको छ ।
शेयर बजारमा सेल–अफ (आफूसँग भएको शेयर धमाधम बेच्ने प्रवृत्ति) गहिरिँदै गएपछि अधिकारीहरूले शेयर बजारमा लगानीसम्बन्धी नियमलाई कसिलो पारेका हुन् ।तीन वर्षयता चीनको शेयर बजारले ६० खर्ब डलर बराबरको पुँजीकरण गुमाइसकेको छ । यी उपायहरू निष्पक्ष बजार व्यवस्था सृजना गर्न अपनाइएको चाइना सेक्युरिटिज रेगुलेटरी कमिशन (सीएसआरसी) ले भनेको छ ।नयाँ नियमअन्तर्गत सोमबारदेखि ‘शर्ट–सेलिङ’ मा सीमा तोक्नेछ । व्यापारीहरूले शेयर वा अन्य सम्पत्तिको मूल्य घट्छ भनेर बाजी राख्नु नै शर्ट सेलिङ हो । व्यापारीहरूले उधारोमा शेयर किन्छन् अनि भाउ घटेर तल पुगेपछि पुनः किन्ने उद्देश्यले यसलाई बेचिदिन्छन् ।गएको वर्ष सीएसआरसीले शेयर बजारलाई टेवा दिन अनेकौँ अनौपचारिक उपायहरू ल्याएको थियो । तर ती उपायहरूले काम गरेन । निषेधित शेयर उधारोमा किन्न सोमबारदेखि पूरै बन्देज लगाइएको सीएसआरसीले भनेको छ ।यस मामिलामा थप सीमाहरू मार्च १८ देखि लागू गरिने बताइएको छ । गएको हप्ता चिनियाँ प्रधानमन्त्री लि छियाङले अधिकारीहरूलाई शेयर बजारलाई स्थिर बनाउन थप बाध्यकारी उपायहरू अपनाउन निर्देशन दिएका थिए ।चिनियाँ अर्थतन्त्रले लामो समयसम्म सुस्त आर्थिक वृद्धिको सामना गर्न सक्ने चिन्ताले यतिबेला लगानीकर्ताहरू ग्रस्त छन् । यस्तोमा चीनको शेयर बजारमा व्यापक सेल–अफ आइरहेको छ ।