ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने बताएका छन् ।बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले पछिल्लो १० वर्ष नेपालको उर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्त्वपूर्ण अवसर बन्ने दाबी गरेका हुन् ।मन्त्री बस्नेतले निजी क्षेत्र र सरकारको इच्छाशक्तिले आगामी १२ वर्ष भित्रमा २८ हजार मेगावाट बढी विद्युत् उत्पादन गर्नसक्ने बताए। उनले सरकार आगामी १२ वर्षमा २८ हजार मेगावाट बढी विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार अघि बढिरहेको बताए । उनले पछिल्लो डेढ वर्षको अवधिमा १ हजार भन्दा बढी मेगावाट विद्युत् उत्पादनको अवस्था सिर्जना भइरहेको समेत बताए ।’११२ वर्षको इतिहासबाट हिसाब गर्दा र त्यहाँ प्लस माइनस गुणा गर्दा हिसाब नमिल्न सक्छ । तर पछिल्लो एक दशक र १६ महिनाको अवधिमा १ हजार भन्दा बढी मेगावाट विद्युत् उत्पादनको अवस्था सिर्जना भइरहेको छ, यो हिसाबले हेर्दा आगामी १२ वर्षमा हामी २८ हजार भन्दा बढी विद्युत उत्पादन गर्न सक्छौँ,’ मन्त्री बस्नेतले भने ।मन्त्री बस्नेतले लगानीमैत्री वातावरण सिर्जना गरेर अघि बढ्नसके उर्जा क्षेत्रका समस्या समाधान हुने बताए । लगानीकर्तालाई थप लगानीका लागि सहज वातावरण बनाउनेतर्फ सरकार अग्रसर रहेको मन्त्री बस्नेतको भनाइ थियो ।





