
कांग्रेस मधेश प्रदेशले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । मधेश प्रदेश कार्यालय जनकपुरधाममा प्रदेश सभापति कृष्णप्रसाद यादवको अध्यक्षतामा शनिबार साँझ बसेको बैठकबाट वरिष्ठता, कार्यक्षमता, समावेसी समानुपातिक तथा बैठकमा सहभागी भएका सदस्यहरूले व्यक्त गरेको भावनालाई समेत ध्यानमा राखी प्राथमिकताक्रम निर्धारण गरेर ७ जनाको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरी पठाउने निर्णय गरेको हो ।वरिष्ठताको आधारमा पठाइएको सूचीमा आनन्दप्रसाद ढुंगाना धनुषा, फरमुल्लाह मंसुर बारा, नागेन्द्रकुमार सर्लाही, राधेचन्द्र यादव बारा, रामचन्द्र तिवारी महोत्तरी, रजिन्द्रबहादुर अमात्य पर्सा र हृदयनारायण यादव रौतहट रहेका छन् । प्रदेशले ८ जिल्लाबाट आएका सबै उम्मेदवारहरुको नाम सिफारिस गरेर पठाएको हो ।जिल्लाहरूबाट सिफारिस भएर आएको नामावली र आफैं मधेश कार्यालयमा उपस्थित भई दर्ता गराइएको नामावलीमाथि छलफल गर्दै वरिष्ठता, समावेशितालगायतका पार्टीमा दिएको योग्यदानको मूल्यांकन गर्दै सम्भावित उमेदवारहरूको नाम सिफारिस गरिएको कांग्रेस मधेश प्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।