प्रधानमन्त्री पुष्पकमल दाहालले विकास, सेवा र सुशासनको क्षेत्रमा सरकारले राम्रो काम गरिरहेको र आगामी वर्ष अझै राम्रो गर्ने दाबी गरेका छन् । माओ जयन्तीका अवसरमा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा मंगलबार प्रधानमन्त्री दाहालले सरकारले दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने बताए । प्रधानमन्त्रीका हैसियतमा मंगलबार साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने जानकारी दिँदै प्रधानमन्त्री दाहालले अब कस्ता कामहरूलाई प्राथमिकतामा राख्ने भन्ने विषय स्पष्ट रुपमा राख्ने बताए । सिंहदरबारमा मन्त्रालय र सचिवहरूका कामलाई आफैंले समीक्षा र छलफल गरिरहेको उनको भनाइ थियो ।कामबाट परिणाम निकाल्नका लागि सरकार लागिरहेको उनको भनाइ थियो । ‘पुस लागेपछि मैले आफ्नो कार्यशैलीलाई परिणाममुखि बनाउने, मन्त्रालय र कर्मचारीतन्त्रलाई युनिफाइड ढंगबाट नेतृत्व गरेको छु,’ उनले भने, ‘आज जनतालाई यो गर्छु र त्यो गर्छु होइन गर्न सुरु गरिसकेका कामबारे भन्छु र गर्ने लक्ष्यहरू भन्छु । केही त रेकर्ड बनेका छन्, केही रेकर्ड नबनेका होइनन् । मानिसहरूले गहिरो गरी हेर्नेहरूले त्यो महसुस गरेका छन् । अर्को वर्ष हामीले धेरै रेकर्ड बनाउनैपर्छ सेवा, विकास र सुशासनको क्षेत्रमा ।’ सरकाले यी क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने प्रधानमन्त्रीको भनाइ थियो ।सामाजिक न्याय र समृद्धिका लागि सरकारले काम गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो । उनले सरकारले पहिलो वर्षमा कायम गरेको परम्परालाई तोडेर दोस्रो वर्षमा अझै राम्रोसँग काम गर्ने बताए ।माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले संविधानले निर्दिष्ट गरेको समाजवादको आधार तयार गर्न माओवादीको नेतृत्व लागिरहेको बताए । उनले पार्टीको विचारलाई नयाँ विश्वअनुकूल परिमार्जन गर्नुपर्ने पनि बताए । पार्टीले विचार निर्माण र संश्लेषणको अभियानलाई अगाडि बढाउने पनि उनको भनाइ थियो ।पार्टीका युवाहरूलाई अध्ययन, चिन्तन र विचार विकास तथा निर्माणमा लाग्न उनको आग्रह थियो । विगतमा युद्धकाल र शान्ति प्रक्रियामा योगदान गरेका कार्यकर्ता तथा नेताहरूलाई पार्टीलाई अगाडि बढाउन भूमिका दिने पनि उनले बताए ।





