Gundruk Online
Wednesday, January 21, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » सुदूरमा सुत्केरी, कष्टको कहर

सुदूरमा सुत्केरी, कष्टको कहर


सुदूरमा सुत्केरी, कष्टको कहर

 बाजुराको बूढीनन्दा नगरपालिका–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले गत सोमबार बाटैमा बच्चा जन्माइन् । बिहान घरबाट करिब आधा घण्टा टाढाको आधारभूत स्वास्थ्य केन्द्र जाँदै गर्दा उनी धमेनाबाडा नजिकैको बाटोमा सुत्केरी भएकी हुन् । आधारभूत स्वास्थ्य केन्द्रकी प्रमुख अहेव धर्मा चँदाराले बाटोमै सुत्केरी भएको भेटेपछि स्याहार गरेकी थिइन् । गएको भदौ ११ मा बाजुराकै खप्तड छेडेदह गाउँपालिका–१ जारिमतोला गाउँकी ३२ वर्षीया उज्जली सुनार घरबाट ६ घण्टा पैदल र दुई घण्टा गाडीको यात्रापछि अछामस्थित बयालपाटा अस्पताल पुगिन् । चिकित्सकले सामान्य प्रसूति हुन नसक्ने र शल्यक्रिया गर्नुपर्ने बताएपछि उनी आत्तिइन् ।त्यसअघि तीन छोरीलाई घरमै जन्म दिएकी उज्जलीलाई चिकित्सकले शल्यक्रिया नगरे ज्यान जोखिममा पर्ने बताए पनि डरले उनी अस्पतालबाट घर फर्किइन् । घर फर्किने क्रममा बाजुराको बाह्रबिस सिगाडानजिक बाटैमा सुत्केरी भइन् । सिगाडास्थित आधारभूत स्वास्थ्य चौकीमा कार्यरत अनमी सिर्जना सार्कीले बाटैमा नभेटाएर स्वास्थ्य स्याहार गर्न नपाएको भए उनको ज्यान तलमाथि हुन पनि सक्ने बताइन् ।मानव विकास सूचकांकको पुछारमा रहेको सुदूरपश्चिमको बाजुरा र अछामका ग्रामीण क्षेत्रमा गर्भवती र सुत्केरी आमाले भोग्नुपरेका संघर्षका यस्ता अनेकौं गाथा छन् । खासगरी गर्भवती र सुत्केरी अवस्थामा दुर्गम क्षेत्रका विपन्न परिवारका आमाले कष्टसाध्य चुनौती सामना गर्नुपर्ने बाध्यता अझै घट्न सकेको छैन । स्वास्थ्य सेवामा पहुँच, नियमित गर्भ जाँच र पोसिलो खानेकुरा खान नपाउनु मात्रै होइन, घरमै सुत्केरी, कामको बोझ, कलिलै उमेरमा बच्चा जन्माउने र रूढिवादी परम्पराको दुष्चक्रमा रहेका दुर्गमका आमामध्ये कतिले त अकालमै ज्यान गुमाउनु परिरहेको छ ।अछाम तुर्माखाँद गाउँपालिका–१ की ३८ वर्षीया पूर्णकला नेपालीले पाँच सन्तान घरमै जन्माइन् । तर, छैटौं जत्काल (गर्भवती काल) उनका लागि साँच्चिकै काल बनेर आयो । डेढ वर्षअघि सदरमुकाम मंगलसेनबाट करिब दुई सय किलोमिटर दूरीमा रहेको रहफमा पर्ने नेपालीबाडाकी पूर्णकलालाई सुत्केरी व्यथा लागेपछि परिवारले पाँच दिनसम्म गाउँकै धामी–झाँक्री देखाए । उल्टै व्यथाले च्याप्दै गयो । केही उपाय नलागेपछि छैटौं दिन स्वास्थ्य चौकी पुर्‍याइयो ।अत्यधिक रक्तस्राव भएर उनको स्वास्थ्य चौकीमै मृत्यु भयो । पूर्णकलाको मृत्युलाई परिवारजन अहिले पनि देवीदेवताको श्राप ठान्छन् । ‘हेराउन कोराउन (धामीझाँक्री देखाउने) सकेजति गरेकै हो, जडीबुटी त केही बाँकी राखेनौं । पहिलाका नातिनातिना घरमै जन्मिएका हुन् । छैटौं जत्कालका बेला समयमै अस्पताल पुर्‍याए पनि बुहारी बाँच्थिन् जस्तो लाग्दैन,’ उनकी सासू लल्ता नेपालीले भनिन्, ‘माइत्या र घर देउतालाई नमानेर बुहारीको ज्यान गएको हो । सुत्केरी हुने बेला मर्नु भनेको देवताले श्राप दिनुजस्तै हो ।’घरमै बच्चा जन्माउने चलन सुदूरपश्चिमका गर्भवतीलाई कालको मुखमा पुर्‍याउने कारणमध्ये एक हो । सुरक्षित प्रसूति सेवा तीनवटै तहका सरकारको प्राथमिकतामा भए पनि कार्यान्वयन अवस्था नाजुक छ । दुर्गम क्षेत्रमा भौगोलिक विकटता, सचेतना र स्वास्थ्य सेवाको उपलब्धताका दृष्टिले राज्यले भनेजस्तो सेवा पाउँदैनन् आमाहरू । गत असार १७ गते अछामको ढकारी गाउँपालिका–७ की १७ वर्षीया गौरी नेपालीलाई तीन दिनसम्म सुत्केरी व्यथा लाग्यो । चौथो दिनमा उनले घरमै मृत शिशु जन्माइन् । व्यथा लागेदेखि सुत्केरी नहुँदासम्म अत्यधिक रक्तस्रावलगायतका जटिलता देखिएका भए पनि उनलाई स्वास्थ्य संस्था लैजानुको साटो परिवारले धामीझाँक्री हेराए । अन्तिम अवस्थामा जिल्ला अस्पताल पुर्‍याइएकी गौरालाई नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लिएर उपचार गरेपछि उनको ज्यान जोगियो ।स्वास्थ्य संस्थामा गर्भजाँच गराउन आउनेको उमेरबाट पनि बालविवाह अर्थात् कलिलो उमेरमा बच्चा जन्माउनेको संख्या प्रस्ट हुन्छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको वार्षिक प्रतिवेदन, २०७९ अनुसार सुदूरपश्चिममा २० वर्षमुनिका गर्भजाँच गराउनेको संख्या ६ हजार ६० छ । जसमध्ये बाजुराका ३ हजार ६१ गर्भवतीमध्ये ४ सय ३१ जना २० वर्षभन्दा कम उमेरका रहेको प्रतिवेदनमा उल्लेख छ । साथै, बाजुराका ६ प्रतिशत किशोरीले स्वास्थ्य संस्थामा गर्भपतन गराएको तथ्यांक छ । अछाममा कुल ५ हजार ६ सय ७२ गर्भवतीमध्ये ७ सय ३२ जना २० वर्षभन्दा कम उमेरका छन् । सबैभन्दा धेरै कैलालीमा १ हजार ७ सय ९१ जना गर्भवती २० वर्षमुनिको उमेरका रहेको उक्त प्रतिवेदनमा उल्लेख छ ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २०७७ देखि २०७९ सम्मको तीन वर्षमा सुदूरपश्चिममा ५ हजार ६ सय ६८ गर्भवती घरमै सुत्केरी भएका छन् । घरमै बच्चा जन्माउने चलन रहेका पहाडी जिल्लामध्ये डोटीमा सबैभन्दा धेरै छ । डोटीमा तीन वर्षको अवधिमा ९ सय २२ गर्भवती घरमै सुत्केरी भएका छन् । यस्तै, दोस्रोमा बाजुरा छ । बाजुरामा तीन वर्षको अवधिमा ७ सय १४, अछाममा ५ सय २३ जना गर्भवती घरमै सुत्केरी भएको अभिलेख स्वास्थ्य निर्देशनालयको छ ।सबैभन्दा धेरै जनसंख्या भएको, सबैभन्दा बढी संख्यामा प्रसूति हुने र तुलनात्मक स्वास्थ्य सेवामा पहुँच रहेको कैलालीमै पनि तीन वर्षको अवधिमा १ हजार १ सय १९ गर्भवतीले घरमै बच्चा जन्माएका छन् । ‘सुत्केरी गराउन अस्पताल लैजानुपर्छ भन्ने कुरामा हाम्रो गाउँघरमा विश्वास गर्दैनन् । मलाई त अन्तिम अवस्थामा अब मर्छ भनेर लगेका हुन्,’ अछाम ढकारीकी गौरी नेपालीले भनिन्, ‘अन्तिम अवस्थामा भए पनि म कालबाट त बाँचें । तर, अझै पनि छोरा पाउनैपर्छ भन्छन् । मलाई फेरि अर्को पटक मर्न मन छैन ।’ सुत्केरी भएको बेला नौ दिनसम्म गोठमा बस्नुपर्ने चलन रहेको उनले बताइन् ।ग्रामीण क्षेत्रमा गर्भावस्था र सुत्केरी संवेदनशीलतामा अझै वृद्धि नभएको दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीहरू बताउँछन् । ‘गर्भ जाँचमा नियमित आउनेलाई सुत्केरी हुने दिन तोकिएको हुन्छ । तर, समयमा स्वास्थ्य संस्थामा आउँदैनन्,’ बाजुराको विकट हिमाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारी भन्छन्, ‘त्यसैले बाटोमै सुत्केरी हुने समस्या दोहोरिरहन्छ । व्यथा लागेपछि मात्रै स्वास्थ्य संस्थाका लागि हिँडाउँछन् । गत वर्ष पनि बाम गाउँकी गर्भवती बिच्छ्या जाने बेला बाटोमै सुत्केरी भइन् ।’अछाम ढकारीकी गौरी नेपालीको भोगाइ पनि फरक छैन । ‘सुत्केरी भएपछि गोठमा बस्नुपर्ने, १० दिनसम्म छुई मान्ने चलन अछाममा सबैतिर छ । यो समयमा अलग्गै बस्नुपर्ने, पोषिलो खानेकुरा खान नदिने चलन छ,’ उनले भनिन्, ‘वर्षा र हिउँदमा गोठमा बस्दा धेरै गाह्रो हुन्छ ।’ दुर्गम गाउँमा अझै पनि गर्भवती र सुत्केरीले समयमा स्वास्थ्यचौकी जानुपर्छ भन्ने चेतना नभएको रहफ स्वास्थ्य चौकीकी अनमी गीता लम्साल बताउँछिन् । परिवारको बेवास्ता, छोरा नै पाउनुपर्छ भन्ने मानसिकता र गर्भवती–सुत्केरी समयमा गह्रौं भारी बोक्ने, खानपिनमा ध्यान नदिनाले दुर्गमका प्रजनन उमेरका महिलाको स्वास्थ्य असुरक्षित हुने गरेको छ । ‘अत्यधिक रक्तस्राव भएपछि ज्यान जोखिमको अन्तिम अवस्थामा भएपछि मात्रै स्वास्थ्य चौकीमा आउँछन्,’ उनले भनिन्, ‘त्यही समयमा उपचार गर्न सक्ने जनशक्ति र स्रोतसाधन हामीसँग हुँदैन ।’स्वास्थ्य कार्यालय अछामका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३०, २०७८/७९ मा ३४ र २०७९ /८० मा २२ प्रतिशत जटिलतायुक्त सुत्केरी र गर्भवतीलाई रेफर र व्यवस्थापन गरिएको छ । अर्कोतिर पुरुषको हैकम चल्ने यहाँका अधिकांश ग्रामीण समाजमा महिलाले चुलोचौकोदेखि मेलापात सबै सम्हाल्नुपर्ने बाध्यता बदलिएको छैन ।पुरुषका लागि समाज खुला छ भने महिलाका लागि अंकुश छँदै छ । ‘विपन्न परिवारमा त अझ पुरुषहरू भारतमा रोजगारी गर्न जाने भएकाले बालबच्चा हुर्काउनेदेखि घरखेतको काम गर्ने जिम्मा महिलाहरूकै काँधमा हुन्छ,’ बाजुराकी अधिकारकर्मी रुक्मिणी शाहले भनिन् । अछामबाट जटिलतायुक्त अवस्थामा स्वास्थ्य संस्थामा आउने महिलाको संख्या केलाउँदा अन्तिम अवस्था नहुँदासम्म घरमै सुत्केरी गराउने प्रयास हुने गरेको तथ्यांकहरूले पनि देखाउँछन् ।

कलिलै उमेरमा विवाह

स्वास्थ्यकर्मीहरूका अनुसार आमाको स्वास्थ्य जोखिममा पर्नुका कारणमध्ये उमेर नपुगी विवाह गर्ने प्रचलनसमेत एक हो । उमेर नपुगी विवाह गर्ने परम्पराले सुदूरपश्चिममा महिलाको स्वास्थ्यमा गम्भीर असर परिरहेको घटनाक्रमहरूले देखाउँछन् । बालविवाहको यकिन तथ्यांक नभेटिए पनि आपत्कालीन हवाई उद्धारमार्फत गर्भवतीको उपचार गर्नुपरेको तथ्यांकले पनि २० वर्षमुनिका गर्भवतीको जोखिमको अवस्था स्पष्ट गर्छ ।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रतिवेदनअनुसार सुदूरपश्चिमका पहाडी जिल्लामा २०७७ देखि २०७९ सम्म ५० जना गर्भवतीलाई स्थानीय स्तरमा सुत्केरी हुन नसकेर आपत्कालीन हवाई उद्धार गरेर सुविधासम्पन्न अस्पतालमा पुर्‍याउनु परेको अभिलेख छ । तीमध्ये १८ जना गर्भवतीको उमेर २० वर्षभन्दा कम रहेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा अछामबाट सबैभन्दा बढी गर्भवतीको हवाई उद्धार भएको छ । तीन वर्षको अवधिमा अछामका १५ जना गर्भवतीको हवाई उद्धार भएकामा सात जना २० वर्षभन्दा कम उमेरका छन् । मंगलेन नगरपालिका–१३ की १८ वर्षीया गोमा तिरुवालाई २०७९ चैत ३० गते हवाई उद्धार गरिएको थियो ।जिल्लाभरको आधिकारिक तथ्यांक नभए पनि बाजुरामा बालविवाह नघटेको स्वास्थ्यकर्मीहरू बताउँछन् । बाजुराबाट उद्धार गर्नुपरेका १० जना गर्भवतीमध्ये ६ जना २० वर्षभन्दा कम उमेरका छन् । जिल्लाको हिमाली गाउँपालिका–५ क्युडी गाउँकी १५ वर्षीया गर्भवती ममिता लोहारलाई २०७९ चैत १९ गते सेनाको हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेतमा उपचार गराएपछि उनको ज्यान जोगियो । नमिताका श्रीमान् जयलाल लोहारले भने, ‘एक वर्षअघि भागी विवाह गरेका हौं । उनलाई व्यथा लागेपछि एक बिहानको पैदल दूरीमा पर्ने रुगिन बर्थिङ सेन्टरमा लिए पनि त्यहाँ सुत्केरी हुन नसक्ने भन्दै हेलिकोप्टर मगाएका हुन् ।’ गाउँपालिकामा ३० प्रतिशत बालविवाह हुने गरेको अनुमान रहेको हिमाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारी बताउँछन् ।

घटेन मृत्युदर

स्वास्थ्य कार्यालय बाजुराका अनुसार २०७९/८० मा पाँच जना सुत्केरीको मृत्यु भएको तथ्यांक छ । यस्तै अछाम स्वास्थ्य कार्यालयका अनुसार सोही अवधिमा तीन जना सुत्केरीको मृत्यु भएको छ । बाजुरामा नवजात शिशुको मृत्यु संख्या १२ छ । मंगलसेन–७ की सरिता (नाम परिवर्तन) ले विवाह गरेको २ वर्षपछि सन्तान पाउने योजना बनाएकी थिइन् । दुई वर्षसम्म सन्तान नभएको भन्दै उनका सासू–ससुरा भने धामीझाँक्रीकहाँ जान सुरु गरिसकेका थिए । ‘जब त गर्भ रह्यो तर कामको बोझ भने घटेन,’ उनले भनिन्, ‘मेलापातबाट ठूलो भारी बोक्नुपर्थ्यो । आठ महिना भएपछि पेटमा बच्चा नखेलेजस्तो महसुस हुन्थ्यो । बच्चा त पेटमै मरिसकेको रहेछ ।’अछाममा गर्भमै हुने शिशु मृत्युदर र जन्मनेबित्तिकै मृत्यु हुनेको संख्या बढेको स्वास्थ्य कार्यालयको तथ्यांक छ । स्वास्थ्य कार्यालयका अुनसार आर्थिक वर्ष २०७५/७६ मा मृत्यु हुने नवजात शिशुको संख्या ४३ छ भने मृत जन्मसंख्या ४२ छ । २०७६/७७ नवजात शिशुको मृत्युसंख्या ४४ छ भने मृत जन्मसंख्या ४९ पुगेको छ । २०७७/७८ मा मृत्यु हुने नवजात शिशुको संख्या ३१ छ भने मृत जन्मसंख्या १ सय ९ पुग्यो । २०७८/७९ मा १८ जना नवजात शिशुको मृत्यु भयो भने ८६ मृत जन्मे । आर्थिक वर्ष २०७९/८० मा ३० नवजात शिशुको मृत्यु भयो भने ८० को मृत जन्म भएको तथ्यांक छ ।स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगाना दुर्गम भेगमा गर्भवती र सुत्केरीलाई समयमै स्वास्थ्य संस्था नलैजाने समस्या कायम रहेको बताउँछन् । उनका अनुसार अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गर्दा त्यस्तो आमा र पेटमा भएको बच्चा एवं आमालाई जोखिम हुन्छ । १३ स्वास्थ्य संस्था रहेको बाजुराको हिमाली गाउँपालिकामा दक्ष प्रसूतिकर्मीको अभाव छ ।गाउँपालिकाका अनुसार ६ वटामा मात्रै दक्ष प्रसूतिकर्मी (एसबीए तालिम पाएका) छन् । अर्कोतिर कैयौं यस्ता गाउँ छन्, जहाँबाट स्वास्थ्य संस्था पुग्न ६/७ घण्टा उकालो–ओरालो हिँड्नुपर्ने बाध्यता छ । ‘१ नम्बर वडाको गुम्बाबाट युना पुग्न ६ घण्टा लाग्छ,’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले भने, ‘बाम गाउँबाट बिच्छ्यामा रहेको स्वास्थ्य संस्थासम्म पुग्नै तीन घण्टा लाग्छ । क्युडीबाट रुगिन पुग्न पनि त्यति नै समय लाग्छ ।’

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.