• २०८१ कार्तिक २५ | Sun, 10 Nov 2024
  • मिथिला चित्रकलाकी सुनैना

    मिथिला चित्रकलाकी सुनैना

    महोत्तरी : मधेसमा छोरीका लागि देख्ने सपनामध्ये सबैभन्दा महत्त्वपूर्ण सपना राम्रो ज्वाईं र खानदानी परिवार हो। छोरीले कलिलै उमेरमा बिहेवारी गर्ने र घरभित्रै घुम्टोमा गृहस्थी जीवन बिताउने तराई मधेसमा संस्कृति नै भइसकेको छ।

    मैथिली समुदायले तोकेको यही घेरालाई तोडेर कलाको माध्यमबाट विश्वयात्रा गरिसकेकी महोत्तरीकी सुनैना ठाकुर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारको हकदार बनेकी छन्। मिथिला चित्रकलाकै कारण सुनैनाले ‘एन पिस अवार्ड २०१२’, अमेरिकाको ‘कमन ग्राउन्ड अवार्ड २०१६’, ‘सफल महिला उद्यमी अवार्ड २०७३’ र ‘ललितकला विशेष पुरस्कार २०१७’ प्राप्त गरिसकेकी छन्। मिथिला कलामार्फत महिला सशक्तीकरण, लैंगिक समानता र अधिकारको क्षेत्रमा योगदान पुर्‍याएबापत उनलाई गत वर्ष ५० हजार राशिको संगीत ग्रान्ट अवार्ड प्रदान गरिएको थियो।

    २०६२ सालमा सुनैनाले भर्खरै एसएलसी उत्तीर्ण गरेकी थिइन्। बिहेपछि घुम्टोभित्र बस्नुपर्ने र आँगन नाघ्न कठिन हुने अप्ठेरोबीच जनकपुरमा दुईदिने तालिममा सहभागी भइन्। भारतबाट आएका प्रशिक्षकले तालिमपछि तीन सय सहभागीलाई चित्रकला प्रतिस्पर्धा गराएका थिए। सुनैना त्यस प्रतिस्पर्धामा पहिलो स्थानमा आइन्। यही सफलताले सुनैनालाई मिथिला चित्रकलाको विराट क्षितिजमा पाइला उचाल्ने अवसर जुरायो। ‘यो अनपेक्षित सफलता थिएन। तर, पहिलो थियो। जसले मलाई बुहार्तनको एउटा नयाँ परिभाषाभित्र अटाउन मद्दत गर्‍यो’, सुनैना भन्छिन्, ‘म घरबाहिर निस्केर आफ्नो सिर्जना यात्रामा अघि बढ्न सक्ने भएँ।’

    कक्षा १० मा ‘मिथिला चित्रकला’ शीर्षकको पाठ पढेपछि उनलाई आफ्नो संस्कृतिबारे अझ जान्ने र बुझ्ने रहर जागेर आयो। एसएलसीपछि उक्त चित्रकलाबारे पढ्ने वा प्रशिक्षण लिने केही संघ, संस्था वा कलेजको खोजी गरिन्। तर, अभिभावकका लागि छोरीको रहर र पढाइभन्दा महत्त्वपूर्ण जिम्मेवारी थियो, विवाह। नभन्दै १३ वर्षमै महोत्तरी सुगाका शम्भु ठाकुरसँग मैथिली परम्पराअनुसार उनको विवाह भयो।

    यसले सुनैनाको कलायात्रा झन्डै अवरुद्ध भयो। तर, अन्तर्मनको ऊर्जाले उनलाई चैनले बस्न दिएन। केही गर्नैपर्ने आकांक्षा दुई वर्षपछि अझै बढेर आयो र कलायात्रालाई निरन्तरता दिने हिम्मत जुटाइन्। त्यस अवधिमा चित्रांकन गर्ने आफ्नो खुबीलाई तन्दा, पर्दा र तकियाको खोलमा प्रयोग गरिरहन्थिन्। कला यात्रालाई नयाँ ढंगले थालनी गर्ने ध्याउन्नमा रहेकी सुनैनाका लागि एउटा तालिम जीवनको सबैभन्दा सुन्दर मोड बन्यो।

    यसपछि सुनैनाको जीवनसँग जोडियो, ‘सर्च फर कमन ग्राउन्ड’। घरपरिवारलाई मनाएर त्यस संस्थाद्वारा जनकपुरधाममा आयोजित महिला नेतृत्वसम्बन्धी तालिममा सहभागी भइन्। चार दिवसीय यो आवासीय तालिमका लागि रातदिन घरबाहिर बस्नुपर्ने सबैभन्दा ठूलो चुनौती थियो। तर, उनको आँट र हिम्मतले सम्भव भयो। ‘तालिमपछि संस्थाले दिएको १० हजार रुपैयाँबाट गाउँकै महिलालाई नेतृत्वसम्बन्धी तालिम दिएर चित्रकारिता सिकाएँ। उत्पादित सामग्रीको प्रदर्शनी गाउँबाट क्रमिक रूपमा सदरमुकाम जलेश्वरसम्म पुर्‍याउँदा प्रदर्शनी हेर्नेले निकै चासोका साथ सामग्री किनेका थिए’, उनले भनिन्।

    यसरी चित्रकला फाँटमा काम तीव्र बनाइरहेका बेला सुनैनालाई एउटा इमेल आयो। जसमा महिला नेतृत्वसम्बन्धी ‘कन्टेन्ट’ झल्किने गरी चित्रकला बनाउन अनुरोध गरिएको थियो। शान्ति पुनस्र्थापनामा काम गरिरहेका आठ विदेशी महिला आएर तिनको अध्ययन गर्ने भनिएको थियो। निर्धारित समयमा ती महिला सुनैनाको गाउँमा पुगेर विषयगत तालिमका लागि मिथिला चित्रकला बोकेर फर्किए।

    त्यसपछि उनी रहर पूरा गर्ने अधिकारका लागि बोल्न सक्ने भइन्। बाबाआमा मात्र नभएर विवाह गरेर गएको परिवारबाट पनि राम्रो साथ र सहयोग पाइन्। महिलाका लागि लागू हुने नियममा चल्नु परेन। आफ्ना लागि आफैं बाटो बनाइन्।

    समाजले बनाएको इज्जत र प्रतिष्ठाको परिभाषालाई बदल्ने अठोट राखिन्। ‘परिवार फकाउन सक्नु आफ्नै दायित्व हो। परिवारको साथ मिलेपछि अन्य कुराको डर हुँदैन’, सुनैना भन्छिन्।

    सन् २००७ बाट चित्रकला सुरु गरेकी सुनैनाले मिथिला चित्रकलाको अध्ययन गर्न खोजिन्। उनले सन् २०१० मा श्रीमान्को सहयोगमा भारतको जितवारपुर पुगेर त्यहाँकी मिथिला चित्रकार कल्पना सिंहसँग तालिम लिइन्। ‘सुरुमा त नेपालबाट आएको भनेर उहाँले मेरो अनुरोधलाई त्यति चासो दिनु भएन तर, मेरो काम देखेर खुसी हुनुभयो,’ उनले विगतलाई सम्झिएर भनिन्, ‘उहाँबाट नै प्राकृतिक रङहरू बनाउने र प्रयोग गर्ने तालिम लिएको हुँ।’

    परिवारको साथका कारण नै उनी अहिले देश विदेशमा समेत कलाको माध्यमबाट गाउँठाउँको पहिचानलाई चिनाइरहेकी छन्। ‘चित्र त आफैंले बनाउने हो। पहिला दिमागमा चित्र सिर्जना गर्न र त्यसैलाई क्यानभासमा उतार्न सक्नु चित्रकारको विशेषता मानिन्छ’, उनी भन्छिन्। संस्कृतिको उत्थान र प्रवद्र्धन, चित्रकलामार्फत नयाँ पुस्तालाई लोप हुँदै गएको संस्कृतिको ज्ञान हस्तान्तरण, मिथिला चित्रकलामार्फत महिला सशक्तीकरण र लैंगिक समानताको सन्देश उनका मुख्य उद्देश्य हुन्।

    मिथिला चित्रकलालाई माध्यम बनाएर महिला मात्र नभएर कुनै पुरुषले पनि व्यक्ति, परिवार, समाज र देशमा आर्थिक, सामाजिक परिवर्तनका लागि भूमिका निर्वाह गर्न सक्ने विश्वास सुनैना राख्छिन्।

    तर, नेपालमा मिथिला चित्रकलाले जुन किसिमले बजार पाउनुपर्ने त्यो नदेखेर थोरै खिन्न छन्। क्यानडा, फिलिपिन्स, अमेरिका, युरोपमा चित्रको बजार राम्रो भएको अनुभव गरेकी छन्। ‘म र मसँग काम गर्ने ६, ७ जना महिला त मिथिला चित्रकलाले दिएको आम्दानीसँग खुसी होउँला। तर, सयौं महिला छन् जसको चित्र बजारसम्म पुग्न सकेको छैन’, उनी भन्छिन्, ‘मिथिला चित्रकलाको प्रचार र उत्थानका लागि सरकारी निकाय र अन्य समुदायको पनि साथ र सहयोग आवश्यक छ।’

    आफूले चित्रकला सिकाएका सयौं महिलाले मिथिला चित्रकलाका लागि बजार र हौसला पाएको हेर्न चाहन्छिन्। सानो हुँदा आमा, हजुरआमाले चित्र कोर्ने गरेको उनी ध्यान दिएर हेर्थिन्। माटोको घरको भित्तामा बनाइएका मान्छे, हात्ती, चरा, फूलका चित्रले उनलाई आकर्षित गथ्र्यो। त्यही आकर्षणले मिथिला संस्कृतिसँग जोडिएको चित्रकला कोर्न रुचि बढ्यो। गाउँघरमा बनाइने माटाका हात्तीघोडा, कपडाका बेहुलाबेहुली र हाँस मयूरलाई सानै उमेरमा कागजमा उतारेर साथीसंगतीदेखि गुरुसम्मलाई देखाउँथिन्। उनीहरूबाट स्याबासी पाउँदा उनी फुरुंग हुन्थिन्। प्रायः महिलाको जीवनशैली, परिवर्तित रूप र भूमिका, मातृस्नेह, प्रकृति र महिला सशक्तीकरण सम्बन्धित चित्र प्रदर्शनमा राख्ने गर्छिन्।

    # मधेश

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण २१, शनिबार ०७:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP