काठमाडौं,०२ असोज । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको आर्थिक र कर्मचारी प्रशासन महाशाखामा लगाएको ताला आइतबार खुलाइएको छ।
चौतर्फी दबाबपछि दुवै आर्थिक र कर्मचारी प्रशासन महाशाखामा लागेको ताला खुलाइएको हो। तालाबन्दीका कारण आर्थिक तथा प्रशासनिक कामकाजहरू ठप्प रहँदै आएको थियो भने कर्मचारीलाई तलव खुवाउन सकस परेको थियो।
त्रिविका कर्मचारीले लगातार अनुरोध गरेपछि नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले श्यामराज ओझा, विष्णु बडैला, दिपक ओझा र हरिष देउवालाई प्रतिनिधिको रूपमा वार्तामा पठाइएका थिए।विभिन्न १३ वटा शाखा प्रमुखहरू र विद्यार्थीको विचमा आर्थिक र कर्मचारी शाखा खोल्ने सहमति भएको थियो।
नेविसंघले असार २७ गते महाशाखा सहित रजिष्ट्रार कार्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, व्यवस्थापन र मानविकी डिन कार्यालयमा तालाबन्दी गरेको थियो।
त्रिविले आज आइतबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हाल त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्याको समाधानका लागि जिम्मेवार विद्यार्थी संगठनको नाताले नेपाल विद्यार्थी संघले आर्थिक प्रशासन र कर्मचारी प्रशासन महाशाखामा लगाएको ताला खोली सहज वातावरण सिर्जना गरेकोमा महाशाखा प्रमुखहरू तथा समग्र त्रिविको तर्फबाट हार्दिक आभार तथा धन्यवाद् व्यक्त गर्दछौं। आरोप र प्रत्यारोपले विश्वविद्यालय चल्दैन भन्ने उदाहरण आजको छलफल र नेपाल विद्यार्थी संघले देखाएको उदारताबाट पनि प्रमाणित भएको छ। विद्यार्थी साथीहरूको परीक्षा प्रणालीसम्बन्धी उठाएका मागहरू वार्ता र संवादबाट समाधान गर्न विश्वविद्यालयका पदाधिकारीज्यूहरूलाई अनुरोध पनि गर्न चाहन्छौं।’
अहिलेपनि त्रिवी उपकुलपति कार्यालयमा तालाबन्दी छ। परीक्षामा हुबहु प्रश्नपत्र सोध्नेलाई कारबाही हुनुपर्ने नेविसंघको माग छ। समयमानै नतिजा सार्वजनिक हुनुपर्ने, शैक्षिक क्यालेण्डर सार्वजनिक गर्नुपर्ने लगायत माग अघि सार्दै नेविसंघले तालाबन्दी गर्दै आएको छ।
प्रतिक्रिया