चितवन,१९ भदौ । खोला बढेर सडक माथिबाटै बग्न थालेको छ। पानी परे लगत्तै ठूला चट्टानसहित माथिबाट पहिरो खस्छ। पहिरोको हिलो मिसिएर खोलामा बग्ने पानीले पुल पनि भरिन्छ। हिलोले सडक पुरिएपछि घण्टौं सवारीसाधन अवरुद्ध हुन्छन्। यात्रुले समयमा गन्तव्यमा पुग्न पाउँदैनन्। यस्तो सास्ती भोग्नुपर्छ भरतपुर महानगरपालिका–२९ मा पर्ने मोरी खोला क्षेत्रमा। यो नारायणगढबाट २३ किलोमिटर मुग्लिनतर्फको दूरीमा पर्छ।
जब वर्षात्को समय आउँछ। यस्तो समस्या बर्सेनि हुने गरेको छ। अन्य स्थानबाट सडक लैजाने अवस्था नरहेकाले यस्तै समस्यासँग चालक र यात्रुले पौठेजोरी खेलेको धेरै वर्ष भयो। सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीका अनुसार यो खोलासँगै रहेको पहिरो डेढसय वर्षभन्दा पुरानो हो।
यसै पहिरो माथिबाट सडक र पुल बनाएकाले अहिले पनि समय–समयमा सडक अबरुद्ध हुँदै आएको छ।
‘भूगर्भविद्हरूले विभिन्न समयमा गरेको अध्ययनबाट यो पहिरो पुरानो भएको बुझिन्छ। धेरैले २ सय वर्ष पुरानो पनि भन्छन्। सडक खन्दा यहाँबाहेक ठाउँबाट लैजाने अवस्था नभएकाले सडक र पुल बन्यो। तर, अहिलेसम्म यसले सास्ती दिइरहेको छ,’ इन्जिनियर कार्कीले भने।
साउन यताको अवधिमा मात्रै यस क्षेत्रमा पहिरो खस्दा ५१ घण्टा ४२ मिनेट सडक अवरुद्ध भएको कार्की बताउँछन्। बिहीबार बिहान पहिरो खसेर साढे ८ घण्टा र अघिल्लो दिन ६ घण्टा सडक अवरुद्ध भयो। गत साउन १७ गते २२ घण्टा लगातार सडक बन्द भएको थियो। ‘यहाँ पहिरो खस्दा सँगै ठूला चट्टान पनि खस्ने भएकाले पन्छाउन समय लाग्छ। अझै खोलामा भेल बढ्यो भने त झनै समस्या हुने गरेको छ,’ इन्जिनियर कार्कीले भने। लामो समयदेखि हरेक दिन साना–ठूला पहिरो खस्ने गरेको उनी बताउँछन्।
पहिरोकै कारण मौरी खोलाको चर्चा भए पनि यसको विकल्प र रोकथामका लागि कुनै प्रयास भएका छैनन्। पहिरो पन्छाउँदैमा सरकारको करोडांै लगानी भइसकेको छ। नारायणगढ मुग्लिन सडक निर्माण अघि नै यो पहिरो गएको स्थानीय जानकारहरू पनि बताउँछन्। सडक निर्माणका बेला पनि पहिरोले दुःख दिने गरेको थियो। पहाडबाट पहिरो खसेर पुरिएको भागमै सडक निर्माण गरिएको हो।
‘मौरी खोलाका बारेमा अनुसन्धान पनि भइरहेको छ। त्यसको अध्ययन हेर्दा त्यो ठाउँ नै माथिबाट ठूलै पहिरो आएर बनेको ठाउँ हो’, सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर कार्कीले भने, ‘अहिले सडक बनायौं। पहिरो कुनै वर्ष आउने र कुनै वर्ष नआउने भयो। अहिले खोलाको माथिल्लो भागमा पहिरो जानथालेको छ। त्यसैले पहिरोको सास्ती भएको हो।’ यो पहिरोको विषयमा विभागीय स्तरमा विद्यावरिधी गर्नेहरूले पनि अनुसन्धान गर्दै आएको उनी बताउँछन्।
२०६० सालमा १६ स्थानमा पहिरो जाँदा एक महिना सडक बन्द भएको थियो। त्यसपछि जापानी दातृसंस्था जाइकाले पहिरो नियन्त्रण गरेको थियो। अहिले रोकथाम गरेको भन्दा माथिबाट पहिरो खसेको छ। कार्कीका अनुसार यस स्थानमा प्राकृतिक भू–बनोट नै कमजोर छ। भूकम्प र अस्थिर भूबनोटका कारण पटक–पटक पहिरो जाने गरेको छ। उक्त ठाउँको पहिरोका विषयमा अध्ययन र अनुसन्धानका लागि विदेशीसमेत आउने गरेका छन्। सडक डिभिजन कार्यालयका सूचना अधिकारी शिव खनाल भन्छन्, ‘बाटो र पुल नै पहिरो माथि छ। चलाएमान भएकाले पहिरो जाने गरेको हो,’ उनले भने, ‘मौरी पुलको आसपासका डाँडा भएको स्थान करिब दुई वर्ष पुरानो पहिरो भएको विभिन्न अध्ययनले देखाएको छ।’
बाटो नभएको कारण पहिरोको माथिल्लो स्थानमा जान कठिन छ। गत वर्ष ड्रोन क्यामेराको सहायताबाट पहिरो निरीक्षण गरिएको थियो। माथिल्लो भागमा भोर्ले दाहाखानी सडकको ट्र्याक खोल्दा बनेको खोल्सामा पानी बग्न थालेपछि पहिरो बढेको छ। खोल्साले बाटो पनि बगाएको छ। सडक विभागले पहिरो नियन्त्रण गर्न अध्ययन थालेको बताएको छ। राजधानीसँग जोड्ने उक्त सडक खण्डलाई मुलुकको लाइफ लाइनका रूपमा चिनिन्छ। तर, यहाँ पहिरोले दुःख दिएको वर्षौं भए पनि उचित समाधान खोजिएको छैन। यो सडकमा दैनिक १२ हजारभन्दा बढी सवारी गुड्छन्।
प्रतिक्रिया