नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले दैलेख जिल्लामा पेट्रोल पदार्थ अन्वेषणका लागि ल्याएको ड्रिल मेसिन लगायत समान नेपालगञ्जको भन्सारमा रोकिएको बताएकी छिन् । प्रतिनिधिसभा बैठकमा बोल्दै रानाले चीनबाट भारतको कोलकत्ता हुँदै नेपालगन्ज आइपुगेको सामान भन्सारमा छुट पत्र उपकरणको नाम फरक परेको कारणले रोकिएको भन्दै सरकारले तत्कालै समस्या समाधान गरेर समान छुट गराउनुपर्ने बताइन् ।उनले ती समान भन्सार नाकादेखि दैलेख सम्म पुर्याउन ७/८ दिन लाग्ने र उपकरण हप्तौँ दिनसम्म रोकिँदा अन्वेषणको काम रोकिएको उल्लेख गरिन् । रानाले भनिन्, ‘मैले सिडिओलाई बुझ्दा १० ट्रक समान रोकिएको रहेछ । प्रक्रिया मिलाएर रोकिएको सामान छुटाई पेट्रोलियम अन्वेषणको काम सुचारु गराउन सरकारको ध्यानाकर्षण गराउँछु ।’







