देवप्रसाद पाण्डे- जो सर्पका टोकाइबारेका समाचार पढ्न छुटाउँदैनन् । सन् २०१५ मा सर्पका बारेमा जर्मनीको गोथे विश्वविद्यालयबाट विद्यावारिधी (पिएचडी) गरेका उनी कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रध्यापक हुन् । सन् २०१० जनवरीदेखि २०२२ डिसेम्बरसम्म स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित नेपालका सर्पदंशसम्बन्धी घटनाका समाचार संकलन र विश्लेषण गरेका छन् उनले ।यो अवधिमा प्रकाशित १ सय ७ सञ्चारमाध्यमका २ सय ९६ वटा समाचार पढेपछि नेपालमा सर्पले टोकेर तराइमा मात्रै नभएर हिमाली जिल्ला ताप्लेजुङसम्म पनि मानिसहरूको ज्यान गइहरको थाहा पाए ।ताप्लेजुङमा जुन सर्पले टोकेर मान्छेको मृत्यु भयो त्यसको उपचारमा प्रयोग हुने ‘एन्टी स्नेक भेनम’ नेपालमै नरहेको पाण्डे बताउँछन् । समाचारहरूका आधारमा विश्लेषण गर्दा नेपालमा ५३ जिल्लामा सर्पदंशको समस्या रहेको उनले बताए ।‘यी जिल्लामा नेपालको जनसंख्याको ८५ प्रतिशत बसोबास छ । त्यसैले सर्पदंश (सर्पको टोकाइ) कति गम्भीर विषय हो भन्ने छर्लंग हुन्छ,’ पाण्डेले भने । समाचारहरूलाई आधार मान्दा यी जिल्लामा ४३ हजार ४ सय ८२ जनालाई सर्पले टोकेको उनले बताए ।सर्पदंशको समस्या ५३ जिल्लामा रहे पनि तीन जिल्लामा विष नभएका सर्पको टोकाइ रहेको र ४३ जिल्लामा सर्पले टोकेका कारण मान्छेको मृत्यु नै हुने गरेको उनले बताए । उनले संकलन गरेका समाचारको विवरणलाई आधार मान्दा विषालु सर्पले टोकेका ४३ जिल्लामा १३ वर्षको अवधिमा ६ सय ९५ जनाको मृत्यु भइसकेको छ ।‘सबै सर्पदंशमा हैन कि विषालु सर्पले टोकेका मध्ये १५ प्रतिशत जतिको निधन हुने गरेको समाचार हेर्दा थाहा भयो,’ पाण्डेले भने । समाचारमा आएको यो विवरण सरकारले निकाल्ने वार्षिक प्रतिवेदनको नजिक रहेको उनी बताउँछन् । सरकारले विषालु सर्पले टोकेका मानिसमध्ये १० प्रतिशत हाराहारीमा निधन हुने गरेको उनले बताए । उनले सर्पदंशका कारण मृत्यु हुने धेरै घटना तराइका जिल्लामा भए पनि ताप्लेजुङसम्म पनि मान्छेको मृत्यु भएको देखिनु चिन्ताजनक भएको बताए ।उनले संकलन गरेको १३ वर्षको समाचारको विश्लेषण गर्दा ताप्लेजुङमा आठ जनाको निधन भएको पाइएको छ । ताप्लेजुङमा मान्छेको ज्यान लिने गरेर टोक्ने सर्प हरेउ परिवारभित्रको ‘माउन्टेन पिट भाइपर’ रहेको उनले बताए । नेपालमा ९० प्रजातिका सर्प पत्ता लागेको पाण्डेले बताए । तीमध्ये विषालु प्रजातिका १८ छन् भने विषालुमध्ये पनि १० प्रजातिका अति विषालु रहेको उनले जानकारी दिए । नेपालमा सर्पदंशको विषयमा चर्चा गर्दा तराइलाई केन्द्रमा राखेर योजना बन्ने गरेको छ । पहाड र हिमाली क्षेत्रमा पनि समस्या रहेको देखिएको हुँदा अब बन्ने सरकारी नीति पहिलाको जस्तो नहोस् भन्ने उनले सुझाव दिए ।मान्छेको ज्यानैसमेत लिने पिटभाइपर परिवार समूहका सर्प एक ठाउँ गुजुल्टो परेर बस्ने र सिकारलाई झम्टदा स्प्रिङ (तन्के जस्तो स्वाट्ट तन्केर) जस्तै झम्टेर बिजुलीको गतिमा पुरानै ठाउँमा गुजुल्टिने स्वभावको हुने गरेको उनले बताए । ‘यो झाडीमा बस्छन् । अलि परबाटै झम्टन्छ । सिकारलाई झम्टने यसको तरिकाले नजिकमा केही किरा या जीव देखिँदैन । केहीले कोतर्यो भन्ने ठान्नु हुन्छ,’ उनले भने, ‘त्यसैले मानिसहरू सर्पले टोक्यो कि के गर्यो भेउ पाउँदैनन् ।’त्यसैले पिट भाइपर प्रजातिका सर्प र यिनका स्वभावबारे पनि सर्वसाधरणलाई बढी जानकारी दिन आवश्यक रहेको उनले बताए । ‘पत्रकारका समाचारले समस्या के हुन, कहाँ छन् भन्ने संकेत गरेको छ । यसबारे सरकारले ठोस पहल गर्नुपर्छ,’ उनले भने । सर्पदंशका घटनाका बारेमा समाचारहरू आइरहे पनि उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनमका बारेमा धेरै नलेखिएको उनले बताए ।नेपालमा उपयुक्त एन्टी स्नेक भेनम आउन नसकेको उनको बुझाइ छ । नेपालमा करेतका ६ प्रजाति छन् । राजगोमनसहित तीन खाले गोमन छन् । नेपालमा करेत सर्पको एउटा र गोमन सर्पको एउटा प्रजातिको एन्टी स्नेक भेनम आउँछ । त्यसैगरी पिट भाइपर समूहको बाघे सर्पको एन्टी स्नेक भेनम आउँछ । करेतको जुन प्रजातिले टोके पनि उही एकै प्रजाति र गोमनको पनि यस्तै तरिकाले एन्टी स्नेक भेनम प्रयोग हुन्छ । सर्प विज्ञ पाण्डे यसो गर्नु उपयोगी हैन भन्छन् । अझ कुनै अवस्थामा खतरनाक नै हो भन्ने उनले बताए ।’ताप्लेजुङ क्षेत्रमा ज्यान लिने गरेको माउन्टेन पिट भाइपरको एन्टी स्नेक भेनमनै ल्याइँदैन,’ उनले भने । तर यसको भेनम थाइल्याण्डमा उत्पादन हुने गरेको पाण्डेले जानकारी दिए । ‘विश्वमा कुन प्रजातिको सर्पले टोकेको हो र विषको मात्रा कति छ रगत परीक्षण गरेर पत्ता लगाउने र जुन प्रजातिको हो त्यसैको एन्टी स्नेक भेनम दिने गरिन्छ । हाम्रोमा सर्पले टोकेपछि विषको लक्षण नै देखा परेपछि बल्ल उपचार सुरु हुन्छ । त्यसमाथि उपयुक्त एन्टी स्नेक भेनम पनि छैन,’ पाण्डेले भने ।





