• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • भेरी अस्पताल परिसरमा ब्लड बैंक बन्ने

    भेरी अस्पताल परिसरमा ब्लड बैंक बन्ने

    नेपालगन्ज,२० भदौ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ब्लड बैंकका लागि नेपालगन्जमा अत्याधुनिक भवन बनाउने भएको छ। भौतिक  पूर्वाधार तथा यातायात मन्त्रालयको ३ करोड सहयोगमा भेरी अस्पताल परिसरमा  रहेको रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्र रहेकै स्थानमा लिफ्टसहितको ५ तले  भवन बनाउन लागेको हो। रेडक्रस सोसाइटीको ६०औं स्थापना दिवसका अवसरमा  आइतबार ब्लड बैंक परिसरमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात  मन्त्री मोहम्मद इस्तियाक राईले मन्त्रालयले बजेट विनियोजन गरेको खुलासा गरेका  हुन्।

    मन्त्रालयको मातहतमा रहेको निर्माण व्यवसाय विकास परिषद्का अध्यक्षसमेत  रहेका मन्त्री राईले गत १३ भदौको परिषद् बैठकबाट निर्णय गराएर ब्लड  बैंकको भवन निर्माणमा सहयोग गरेका हुन्। कार्यक्रममा मन्त्री राईले भनेका  थिए, ‘यो रकम मन्त्रालयको काम गर्ने हरेक ठेकेदारले प्रतिठेक्काबापत ०.०१  प्रतिशत रकम सामाजिक उत्तरदायित्वका लागि खर्च गर्न छुट्ट्याएका हुन्छन्। ब्लड बैंकको  भवन जीर्ण रहेको थाहा पाएपछि हामीले सहयोग गरेका हौं।’

    तीन करोड  रुपैयाँबाट ५ लाख रुपैयाँ डीपीआर निर्माणमा खर्च हुने र बाँकी २ करोड ९५ लाख  रुपैयाँमा भवन निर्माण हुने मन्त्रालयका उप–सचिव पशुपतिबाबु पुरीले गत १४  भदौमा सडक डिभिजन कार्यालय नेपालगन्जलाई पत्राचार गरेको पत्रमा उल्लेख छ। भेरी  अस्पतालको एक कट्ठा जग्गामा निर्माण गरिएको रेडक्रसको क्षेत्रीय रक्तसञ्चार  केन्द्रको भवन साँघुरो भएको छ। भेरीकै जग्गामा ब्लड बैंकको ठीक पूर्वतिर  मूल सडकसँग जोडेर बनाएका सटर भेरी अस्पतालले भत्काउने भएपछि रक्तसञ्चारका लागि  कोठाको अभाव हुँदै थियो। ब्लड बैंकको नयाँ भवनले त्यो अभाव पूरा गर्नेछ।  यो ब्लड बैंकले जिल्लामा खुलेका सबै अस्पतालका लागि रक्तसञ्चार सेवा दिँदै  आएको छ।

    लुम्बिनी प्रदेश सरकारले भेरी अस्पतालमा पनि रगत निःशुल्क गरेको छ। प्रदेश  सरकारले ‘प्रदेश निःशुल्क रक्तसञ्चार व्यवस्थापन कार्यविधि–२०७८’ पारित गरेर  नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवाबापत लाग्ने शुल्कमा ९ सय ५० रुपैयाँ  शोधभर्ना गर्ने गरी भेरी अस्पतालमा यो व्यवस्था गरेको हो। सरकारले १  साउनदेखि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल दाङमा  रक्तसञ्चार सेवा निःशुल्क गरेको थियो। संघीय सरकारको मातहतमा रहेको  केन्द्रीय स्तरको अस्पताल भेरीलाई पनि प्रदेश सरकारले यो सुविधा दिएको छ।

    भेरी  अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाईं र नेपाल  रेडक्रस सोसाइटी बाँके शाखाका मन्त्री अजिज अहमद सिद्धिकीले आइतबार निःशुल्क  रक्तसञ्चारसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौता लगत्तै बर्दियाको ठाकुरबाबा नगरपालिका–५ तकियाका देवीराम थारूले आफ्नी बिरामी पत्नीका  लागि निःशुल्क रगत लिएका थिए। संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले चौधरीलाई पहिलो निःशुल्क रगत उपलब्ध गराएका  थिए।

    सम्झौतापत्रमा रेडक्रसले प्रतियुनिट रगतबापत भेरी अस्पतालबाट ९ सय ५०  रुपैयाँ शोधभर्ना पाउने उल्लेख छ। यो रकम भेरी अस्पताललाई प्रदेश सरकारले  उपलब्ध गराउनेछ। नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको क्षेत्रीय रक्तसञ्चार  केन्द्रका प्रमुख उपेन्द्र रेग्मीका अनुसार यसअघि बिरामीले १ हजार रुपैयाँ तिरेर  प्रतियुनिट रगत लिने गरेका थिए।

    ब्लड ग्रुप छुट्ट्याउनु पर्दा ५० रुपैयाँ र  हेमोग्लोबिन परीक्षण गर्दा पनि ५० रुपैयाँ तिर्नुपर्नेछ। यो रकम पनि भेरी  अस्पतालले नै भेरीलाई भुक्तानी गर्नेछ। रगत लगेर फिर्ता भएको अवस्थामा भने  प्रतियुनिट ४ सय ५० रुपैयाँ पनि ब्लड बैंकले भेरीबाट पाउनेछ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र २०, सोमबार ०४:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP