झापा,१३ भदौ । झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिताबाट झापामा २७ खेलका लागि ४४९ खेलाडी छनोट गरिएको छ।
आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिताका लागि झापाबाट खेलाडी छनोट गरिएको हो। झापामा छनोट भएका खेलाडीले यही भदौ २४ देखि असोज ८ गतेसम्म सञ्चालन हुने १ नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगितामा भाग लिनेछन्।
त्यसका लागि झापाबाट ४४९ खेलाडी छनोट भएको झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णु नेम्बाङले जानकारी दिए। मेची रंगशालासहित जिल्ला विभिन्न स्थानमा एक सातासम्म खेलाडी छनोट प्रतियोगिता भएको थियो।
प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, भारत्तोलन, टेबल–टेनिस, कबड्डी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, बास्केटबल, बुद्धिचाल, आईटीएफ तेक्वान्दो, सुटिङ, खो खो, पौडी, शारीरिक सुगठन, सेपात्राका, जिम्नाष्टिक, हक्की, साइक्लिङ र आर्चरीका खे समावेश गरिएको थियो।
यता खेलाडी छनोट प्रतियोगिताको ५९औं राष्ट्रिय खेलकुद परिषद् दिवसको अवसर पारेर सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षता तथा झापा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा कराते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन र समितिका कार्यालय सचिव विष्णु नेम्वाङले स्वागत मन्तव्य राखेका थिए।
सोही अवसरमा झापा जिल्ला खेलकुद विकास समितिमा प्रशिक्षकको रूपमा लामो समय सेवा पुर्याएर सेवा निवृत्त हुनु भएका दुईजना प्रशिक्षकलाई सम्मान गरिएको थियो। हक्कीका प्रशिक्षक ज्ञानेन्द्र खड्का र तेक्वान्दोका प्रशिक्षक प्रदीप श्रेष्ठलाई सम्मान गरिएको हो।
त्यस्तै राष्ट्रिय खेलकुद परिषद् दिवसको अवसर पारेर खेलकुद परिसर सरसफाइ गर्नुका साथै मेची रंगशालाका वरिपरि वृक्षारोपण समेत गरिएको थियो।
प्रतिक्रिया