बुटवल,३१ साउन । बुटवलको फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा एक महिला र एक पुरुष मृत फेला परेका छन्। होटलको कोठामा रक्ताम्य अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार धादिङ्ग कुमपुर-५ घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन्।
युवतीको नाम पुष्पा भनिए पनि थर र घरको पूरा ठेगाना खुल्न नसकेको प्रहरीको भनाई छ। उनको घर दाङ्ग रहेको बताइएको छ। मृतक महिलाका श्रीमान विदेशतिर रहेको र एक डेढ महिनादेखि हराएको भन्ने खुलेको छ। प्रहरी निरीक्षक घिमिरेका अनुसार युवती पलङ्गमा उत्तानो परेको अवस्थामा मृत फेला परेकी छन् भने युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
तन्ना र टावेलमा रगत पोतिएको देखिँदा युवतीको हत्या गरी आफूले आत्माहत्या गरेको हुन सक्ने प्रहरी निरीक्षक घिमिरेले बताए। उनका अनुसार उनीहरु आइतबार राती त्यही होटलमा बस्न आएका थिए।
प्रतिक्रिया