• २०८१ चैत्र ४ | Mon, 17 Mar 2025
  • फोहोर व्यवस्थापनमा बालेन शाह असफल कि असहयोग ?

    फोहोर व्यवस्थापनमा बालेन शाह असफल कि असहयोग ?

    २८ साउनको राति तीनपिप्ले आठमाई नजिक ढकाल खोलामा ३ ट्रक फोहोर फालियो । राति अज्ञात समूहले पानीको मुहानमा फोहोर फालेको थियो । त्यसपछि अर्को दिन बिहानैदेखि स्थानीयले सडक अवरुद्ध गरे । प्रहरीले फोहोर फाल्ने एक जनालाई पक्राउ गरेपछि स्थानीयले अवरोध हटाए । बालुवा बोक्ने प्र.३–००३–१२४६ नम्बरको ट्रिपरले फोहोर बोकेर लगेको पाइएको थियो । त्यसका चालकमाथि प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

    २९ साउनमै फोहोर बोक्ने गाडीले बाख्रा मारेको भन्दै स्थानीयले सडक अवरूद्ध गरे । क्षतिपूर्ति दिने सहमतिपछि स्थानीयले अवरोध हटाए । तर,दिनभर सडक अवरूद्ध भएर फोहोर बोकेको गाडी बञ्चरे डाँडा जान पाएनन् । कुनै अवरोध नभए आइतबारबाट २५० देखि ३५० गाडी फोहोर बञ्चरेडाँडा लैजाने भन्ने थियो । तर,उक्त अवरोधका कारण जम्मा ९०  गाडी फोहोर मात्र बञ्चरेडाँडा पुगे ।

    एक साता अघि मात्रै फोहोर बोकेका २ वटा डोजर र एउटा स्काभेटर तथा काठमाडौं महानगरपालिकाबाट फोहोर बोकेर गएका गाडीमा तोडफोड गरियो । राति पानी परेर फोहोर फाल्न नपाएका गाडीहरू आलेटारनजिकै पार्किङ गरेर राखिएको थियो । त्यही बेला राति १ बजेतिरको समयमा ती गाडीमा अज्ञात समूहले तोडफोड गरेको काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले बताइन् ।

    काठमाडौं उपत्यकाको फोहोरमा अवरोध भएको आज ७२ दिन पुगेको छ । ७२ दिनसम्म विभिन्न बहानामा फोहोरमा अवरोध हुँदै आएको छ । काठमाडौं महानगरका प्रमुख बालेन शाह यसलाई फोहोरमा राजनीतिको संज्ञा दिन्छन् ।

    बञ्चरे डाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेका र केही काम भइरहेको अवस्थामा नयाँ नयाँ अवरोध आउनु विडम्बनाको कुरा भएको उनको भनाइ छ ।

    शाह भन्छन्,‘जग्गा लिन तथा संरचना निर्माणमा र प्रभावितहरूले पाउने सुविधा तथा मुआब्जाजस्ता काममा ५ अर्ब खर्च भइसकेको छ । यो झुक्याएर गरिएको पनि थिएन । यसका वैधानिक सम्झौता छन् । ती सम्झौताको पालना गर्नु सबैको कर्तव्य हो ।’

    फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम दिन खोजिएको उनको आरोप छ । त्यसअघि लामो समयसम्म स्थानीयबासीले आन्दोलन गरेका थिए । त्यसपछि सरकार र स्थानीयबीच एक सहमति बनेको थियो । उक्त सहमतिपछि फोहोर बञ्चरेडाँडामा फाल्न थालिएको थियो । तर यसले निरन्तरता पाउन सकेन ।

    फोहोरको नाममा राजनीति कसरी भइरहेको भन्ने उदाहरण एउटा विज्ञप्तिबाट पनि प्रष्ट हुन्छ । धादिङको धुनिवेशी नगरपालिकाका तीन राजनीतिक दलका सभापति तथा वडाध्यक्षहरूले २९ साउनमा पत्र लेखे । आफ्ना नगर कार्यसमितिका अध्यक्ष तथा सभापतिलाई लेखिएको पत्रमा फोहोरमैला सधैँका लागि बन्द गर्ने विषय उल्लेख थियो ।

    स्थानीयले त्यसलाई अव्यवस्थित ढंगबाट फोहोर फाल्दै आएको आरोप लगाएका छन् । नेपाली काँग्रेस धुनिवेशी नगरपालिका–१ का सभापति पूर्णसिंह तामाङ,नेकपा माओवादी केन्द्रका अध्यक्ष विष्णु तामाङ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष भिषण धितालले आफ्ना नगर अध्यक्ष तथा सभापतिलाई पत्र लेखेर फोहोर रोक्न माग गरेका हुन् । उनीहरूले फोहोरको समस्या समाधान नगरेको खण्डमा अबको संघ र प्रदेशको निर्वाचन वहिस्कार गर्ने सम्मको चेतावनी दिएका छन् ।

    १७ वर्षदेखि काठमाडौं महानगरपालिका लगायतका धेरै पालिकाले धादिङ र नुवाकोटको सिमाना सिसडोल र पछिल्लो समय कुडुल्ले बञ्चरेडाँडामा फोहोर फाल्दै आएका छन् ।

    के साँच्चै फोहोरको नाममा राजनीति भयो ?

    काठमाडौं महानगरपालिको सातौँ नगर कार्यपालिका बैठकमा वडाध्यक्षहरू कडा रूपमा प्रस्तुत भए । बैठकमा एमाले–काँग्रेसका वडाध्यक्षहरु मेयर बालेन्द्र शाहविरुद्ध आक्रमक रूपमा प्रस्तुत भए । फोहोरको समस्याको सबै दोष उनीहरूले उनीमाथि थोपार्ने प्रयास गरे ।

    काठमाडौं–७ का वडाध्यक्ष विमल होडाले फोहोर व्यवस्थापनका लागि बनेको कार्यदलको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । मेयर शाहप्रति आक्रोशित शैलीमा पेश भएका वडाअध्यक्ष होडाले भने, ‘मेयरज्यूको अध्यक्षमा रहेको कार्यदल कहाँ छ ?कतिवटा वैठक गर्नुभयो ?के प्रगति भयो ?हामी पनि आफ्नो वडाका मेयर हौं । तपाईंले हामीलाई जानकारी दिनु पर्दैन ?

    उनले फोहोर व्यवस्थापनभन्दा अर्को एजेन्डामा प्रवेश नै नगर्ने अडान लिए । ‘गाईजात्रा अगाडि गाईजात्रा नगरौं । फोहोर कार्यदलको के प्रगति छ,आज मलाई जवाफ चाहियो, उनले भने ।

    वडाअध्यक्ष होडाले रातोपाटीसँग मेयर शाहलाई असहयोग गर्न नखोजेको बताए । ‘स्वतन्त्र रूपमा जितेपनि हाम्रो पनि मेयर हो उहाँ । हामीले असहयोग गर्ने कुरा भएन । हामीले त उहाँलाई सहयोग गर्न खोजेका छौं । तर,उहाँ एक्लै अगाडि बढ्न खोज्नुभएको छ, वडाअध्यक्ष होडाले भने ।

    के–के भयो काम ? 

    स्थानीयको आन्दोलन र सरोकारवाला निकायबीचको सम्झौता १७४ पटक भइसक्यो । अन्तिम पटक २३ जेठ २०७९ मा शहरी विकास मन्त्रालय,काठमाडौं महानगरपालिका,धुनिवेशी नगरपालिका,ककनी गाउँपालिकाबीच भएको थियो ।

    सहमतिअनुसार शहरी विकास मन्त्रालय,सडक विभाग,काठमाडौं महानगरपालिका लगायतका निकायले आ–आफ्नो काम अगाडि बढाएका छन् । तर,नयाँ–नयाँ समस्या निम्त्याउँदा समस्या भइरहेको छ । पूर्व शहरी विकासमन्त्री रामकुमार झाँक्रीले फोहोरको समस्या साझा भएको भन्दै यसको समाधानका लागि सबैले लाग्नुपर्ने बताएकी छिन् ।

    यसरी सम्भव थियो र छ फोहोर व्यवस्थापन, भन्दै सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै झाक्रीले अहिलेसम्म भएका उपलब्धि र अब गर्नुपर्ने कामको विषयमा सुझाव दिएकी छिन् ।

    अहिले बालाजु–तीनपिप्ले सडक खण्ड निर्माणको काम अगाडि बढेको छ । त्यसका लागि सडक विभागले पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया थालेको छ । तर,निर्माण व्यवसायीले सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । जसले गर्दा प्रक्रिया रोकिएको छ ।

    त्यस्तै सिसडोलमा फोहोरको पहाडमा करिब २ सय मिटर बाटो निर्माण गरिएको छ । त्यसकै लागि एक साता फोहोर विसर्जन रोकिएको थियो । अहिले उक्त काम अन्तिम चरणमा पुगेको छ ।

    वर्षात्को समयमा फोहोरको पहाडमा सडक निर्माण गर्न समस्या भइरहेको भन्दै अहिले एकतर्फी मात्र सडक बनाइएको छ । प्रभावित क्षेत्रमा १५ शैयाको अस्पताल बनाउने प्रक्रियासमेत अगाडि बढेको छ । त्यसका लागि काठमाडौं महानगरले सरोकारवाला निकायसँगको समन्वयमा काम अगाडि बढाएको छ ।

    त्यस्तै प्रभावित क्षेत्रका जनताको स्वास्थ्य बीमा गर्ने कार्यक्रमसमेत महानगरले अगाडि बढाइसकेको छ । बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोरको वैज्ञानिक व्यवस्थापनको लागि आवश्यक कार्यविधि शहरी विकास मन्त्रालयले बनाएर महानगरलाई हस्तान्तरण गरेको थियो । तर,महानगरले आफै काम गर्न सक्षम नहुँदासम्म केही समयको लागि महानगरलाई प्राविधिक सहायता शहरी विकास मन्त्रालयले दिने निर्णय नै भएको थियो । त्यसको प्रक्रिया पनि अगाडि बढेको छ ।

    धादिङ र नुवाकोटका विभिन्न तीन वटा सडक,ढल,नाली निर्माणका लागि झण्डै ४० करोड विनियोजन गरिएको छ । खानेपानी,वन,भौतिक पूर्वाधार,स्वास्थ्य,शिक्षा र संघीय मामिला मन्त्रालयले समेत आफ्नो जिम्मेवारीमा परेको काम गर्दै आएका छन् ।

    स्थानीय सरोकारवालाले राखेको गुठी जग्गालाई रैकर जग्गामा परिणत गर्ने प्रक्रिया थाल्नेबाहेक अधिकांश माग सम्बोधनको चरणमा रहेको पूर्वमन्त्री झाँक्रीको भनाई छ । धेरै काम अगाडि बढेको तर,विभिन्न निकाय र तहबीच समन्वयको अभाव रहेको उनले बताइन् ।

    त्यसो भए किन उठ्न सकेन फोहोर ?

    काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले अवरोधका कारण फोहोर उठ्न नसकेको बताए । स्थानीयले विभिन्न माग अघि सारेर सडक अवरूद्ध गर्दा काठमाडौंको फोहोर उठ्न नसकेको उनको भनाइ छ । अहिले जायज माग भन्दा पनि फोहोरको नाममा राजनीति गर्ने समूह सक्रिय रहेकोले समस्या भइरहेको मेयर शाहको बुझाइ छ ।

    गाडी तोडफोड गर्नेलाई पक्राउ गरेको विषयमा समेत एक गिरोह रुष्ट देखिएको छ । गाडी तोडफोड गर्नेलाई पक्राउ गरेर मुद्दा चलाइएको छ । यो विषय उक्त गिरोहलाई मन नपरेपछि अवरोध सिर्जना गर्दै आएको महानगरको बुझाई छ ।

    गाडी तोडफोड गर्नेलाई कारवाही हुनुपर्छ भनेर अगाडि बढेका छौं । विगतमा मुद्दामा नगएको यो समस्या बेला बेला देखा परेको थियो ।’ मेयर शाहले भने ।

    फोहोरको गाडी रोक्नु भनेको एम्बुलेन्स रोकेजस्तो भएको भन्दै अनेकन बहाना झिकेर अवरोध भइरहेको मेयर शाहको भनाइ छ । ‘सम्झौताअनुसार काठमाडौं महानगरले गर्नुपर्ने काम गर्दै आएको छ । औषधि छर्किने,क्यापिङ गर्ने लगायतका काम गर्दै आएको छ । वर्षाले गर्दा पोष्टक्लोजर गर्न सकिएन, मेयर शाहले भने ।

    काठमाडौं महानगरपालिकाले फोहोर फाल्ने ठाउँ आफ्नो क्षेत्रमा नपरेको र अन्य निकायसँग समन्वय गरेर अगाडि बढ्दा ढिलासुस्ती भएको उनको भनाइ छ ।

    हामीले गृह मन्त्रालय,शहरी विकास मन्त्रालय लगायतका धेरै निकायसँग समन्वय गरेर मात्र अगाडि बढ्नु परेको छ । यसरी धेरै निकायसँग समन्वय गरेर काम गर्दा केही ढिलासुस्ती भएको जस्तो देखिन्छ ।’ मेयर शाहले भने ।

    प्रतिपक्षीको चासो

    लामो समयदेखि फोहोर व्यवस्थापन हुन नसकेको प्रति बेला बेला राजनीतिक दलको एजेण्डा पनि बन्ने गरेको छ । एमाले सांसद् रामवीर मानन्धरले काठमाडौंका मेयर शाहले फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै आफ्नो जिम्मा दिन आग्रह गरेका थिए ।

    संसद् बैठकमै उनले फोहोर व्यवस्थापनको लागि कार्यदल गठन गर्नुपर्ने र त्यसको संयोजक आफूलाई दिन उनको माग थियो । अहिले फेरि एमालेकै अर्का नेताले समेत फोहोर व्यवस्थापनमा आफ्नो पार्टीसँग सहकार्य गर्न मेयर शाहसँग अनुरोध गरेका छन् । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापनमा आफ्नो पार्टीसँग सहकार्य गर्न मेयर शाहलाई प्रस्ताव गरेका हुन् ।

    यो सरकारसँग फोहोरको समस्या समाधान गर्ने हुति नरहेको उनको टिप्पणी छ । संसद् बैठकमा आइतबार बोल्दै भट्टराईले फोहोर नउठेको विषयमा प्रधानमन्त्रीले कुनै पहल नगरेको र मन्त्रीहरू बेखबर रहेको गुनासो गरे ।

    उनले भने, ‘काठमाडौं फोहोरले डुङडुङ गन्हाउने भइसक्दा पनि सरकारले कुनै पहलकदमी गर्न सक्दैन । यो सरकारसँग हुति पनि छैन ।’

    त्यसपछि उनले मेयर शाहलाई आग्रह गर्दै भने, ‘म शाहलाई भन्न चाहन्छु,ठोस प्रस्तावसहित आउनुस्,एमालेसँग त्यो भिजन र दृष्टिकोण छ । एमाले पूर्ण क्षमताका साथ सहयोग गर्न तयार छ । यदि तपाईं सरकारको भर पर्नुभयो भने असफल हुने निश्चित छ । काठमाडौंको बर्बादी हुनेछ । सांस्कृतिक सहर काठमाडौंको रक्षा गरौं ।’

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण ३०, सोमबार १३:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP