• २०८१ चैत्र १३ | Wed, 26 Mar 2025
  • दागबत्ती प्रकरण,पीडित पक्षलाई पुनः धम्की

    दागबत्ती प्रकरण,पीडित पक्षलाई पुनः धम्की

    बर्दिबास, साउन ३० गते । छोरा नभएका मृतक परिवारसँग दागबत्तीका लागि पाँच लाख रुपियाँ माग्नेले पीडित पक्षलाई पुनः धम्क्याएको छ । घटना सार्वजनिक गरेको भन्दै काजकिरियाको भोजभातमा आफूहरू सहभागी नहुने जानकारी गराएको पीडितले आरोप लगाएका छन् ।

    बर्दिबास नगरपालिका–१४ मा छोरा नभएका ७० वर्षीय फकिरा साह सोनारको साउन २४ गते मृत्यु भएको थियो । पुरुषले नै शव उठाएर दागबत्ती दिनुपर्ने र काजकिरिया गर्नुपर्ने भन्दै ज्वाइँबाट नै पैसा मागिएको समाचार प्रकाशित भएपछि ‘समाचार छाप्न लगाएर आफूहरूको हुर्मत लिएको’ आरोप लगाउँदै काजकिरियाको भोजभातमा सहभागी नहुने जानकारी पाएको पीडित परिवारले जनाएका छन् ।

    “पैसा मागेको कुरो पत्रिकामा छपाइस्, भोज खाएको पनि भाइरल गराउँला, सानोतिनो कुराको पनि पोल खोलौला । त्यसैले अब हामी शुद्ध शान्तिको भोजमा सहभागी हुँदैनौँ भनेका छन्,” पीडित परिवारले बताए । समाचार प्रकाशित भएपछि प्रहरी र स्थानीय सरकारले पनि सक्रियता बढाएको छ । प्रहरीले मृतकका ज्वाइँ जातीय मुखिया (माइन्जन) समेत रहेका आरोपित इनरजित साह सोनारसँग सोधपुछ गरेको छ ।

    इलाका प्रहरी कार्यालय बर्दिबासले सोनारलाई आइतबार कार्यालयमै झिकाएर घटनाबारे सोधपुछ गरेको हो । प्रहरीको सूचना पाएपछि इनरजित समर्थकसहित उपस्थित भएको बर्दिबास प्रहरीले जनाएको छ । घटनाबारे र पाँच लाख रुपियाँ मागेको सम्बन्धमा जानकारी लिइएको प्रहरीले जनाएको छ ।

    तर, काजकिरियामा बसेकाले पीडित परिवारलाई उपस्थित गराउन नसक्दा सोधपुछ एकपक्षीय मात्र भएको छ । “मुख्यतः पाँच लाख रुपियाँ मागेकोबारे इनरजितसँग सोधपुछ गरिएको र काजकिरिया सकिएपछि पीडित परिवारसँग पनि बुझ्ने प्रहरीले जनाएको छ । घटना जानकारीपछि बर्दिबास प्रहरीका सई भीम कटुवाल नेतृत्वको टोलीले पीडित परिवारको घरमै पुुगी वस्तुस्थिति बुझ्ने काम गरेको छ ।

    बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्रीले नगर क्षेत्रमा भएको घटनाबारे जानकारी लिने काम भइरहेको बताए । उनले पीडित परिवारलाई भयरहीत वातावरणमा बाँच्न पाउने र न्यायको अनुभूति गराउन नगरपालिकाले कुनै कसर बाँकी नराख्ने विश्वास दिलाए । आवश्यक परेका सबै प्रकारका सहयोग उपलब्ध गराउन आफूसमेत तत्पर रहेको उनले बताए ।

    वडा नं. १ का वडाध्यक्ष भोला खड्काले पनि घटनाको विरोध र पीडितलाई सहयोगको प्रयासमा जुटेको बताए । गोरखापत्र अनलाईन

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण ३०, सोमबार ०४:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP