• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • रौतहटको वाग्मती र लालबकैया नदीमा कटान सुरु, स्थानिय निकाय र प्रशासनद्वारा रोकथामको प्रयास

    रौतहटको वाग्मती र लालबकैया नदीमा कटान सुरु, स्थानिय निकाय र प्रशासनद्वारा रोकथामको प्रयास

    रौतहट, २३ श्रावण । रौतहटको राजदेवी र माधवनारायण नगरपालिकामा वाग्मती र लालबकैया नदीमा आएको बाढीले कटान सुरु गरेको छ ।

    वाग्मतीले राजदेवी र माधवनारायण र लालबकैयाले गौर–४ स्थित लालबकैया बानेश्वर मन्दिरको पश्चिमतर्फ कटान सुरु गरेको हो । कटानपछि बस्ती डुबानमा पर्ने भन्दै स्थानीय त्रासमा छन् । कटान गरेको क्षेत्रमा बोरा, बास राखेर अस्थायी रुपमा रोकथाम गर्न स्थानीय र सुरक्षाकर्मी खटिएका छन् ।

    राजदेवी नगरपालिकाको वडा नम्बर १ र ६ मा पर्ने क्षेत्रमा वाग्मतीको बाढीले धमाधम कटान गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए । ‘बाढी कम भएपनि कटान रोकिएको छैन । वाग्मतीले कटान सुरु गरेपछि तनाव थपिएको छ,’ उनले भने, ‘यसरी कटान गर्‍यो र रोकथाम गर्न सकिएन भने बाँधलाई असर गर्छ ।’ कटान रोक्न अहिले स्थानीय र सुरक्षाकर्मी खटिएको उनले सुनाए ।

    कटान रोक्न वाग्मती लालबकैया नदी नियन्त्रण आयोजना परबानीपुरले ठूलो परिमाणमा बोरा पठाएको छ । अहिले बोरा र बाँस राखेर अस्थायी रुपमा रोक्ने प्रयास भइरहेको छ । नदी गहिरो भएकाले बोरा राख्न नसकेको स्थानमा बाँस राखेर कटान रोक्ने काम भइरहेको प्रजिअ शाहीले बताए ।

    यता माधवनारायण नगरपालिका– ८ रजवाडा र ९ गहढो भगवानपुरस्थित बाँधभन्दा १० मिटर पूर्व वाग्मती नदीले तीव्र रुपमा कटान सुरु गरेको छ । स्थानीय तहले पनि कटान क्षेत्रमा बोरामा बालुवा राखेर रोक्न सहयोग गरिरहेको छ । बर्खाको बेला दुवै नदीले डुबान र कटानको समस्यामा हुँदै आएको छ । यही समस्याबाट नदी छेउका स्थानीय लामो समयदेखि त्रासमा छन् । गत वर्ष बौधीमाई र परोहा नगरपालिकाको तेजापाकड क्षेत्रमा लालबकैया नदीले झन्डै सय मिटर बाँध कटान गरेको थियो ।

    गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले कटान गरेको क्षेत्रमा स्थायीरुपमा नियन्त्रण गर्नुपर्ने बताए । गौर–४ स्थित बानेश्वर मन्दिरको पश्चिमतर्फ कटान सुरु गरेपछि निरीक्षण गर्न गएका नगरप्रमुख साहले भने, ‘बर्सेनि कटानले स्थानीयलाई त्रासमा परेको छ ।

    केन्द्रीय सरकारले स्थायी नियन्त्रणको प्रयास गर्नु पर्छ । बोरा राखेर अस्थायी नियन्त्रण गरेर मात्र हुँदैन । यसले निकट भविष्यमा ठूलो दुर्घटना निम्त्याउँछ ।’ बाढीबाट हुने धनजनको क्षति रोक्न तत्कालीन जल उत्पन्न प्रकोप विभाग ८ नम्बर डिभिजनमार्फत भारत सरकारको सहयोगमा दुई दशकअघि वाग्मती र लालबकैया नदीको दुवैतिर ४४ किलोमिटर बाँध निर्माण गरिएको थियो । कटानले बाँध समेत खतरामा परेको प्रजिअ शाहीले बताए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण २३, सोमबार ०५:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP