मोरङमा खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा ३ जना पक्राउ परेका छन् । जिल्लाको उर्लाबारी नगरपालिका–४ बस्ने २५ वर्षीय गौतम तामाङसहित ३ जनालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही नगरपालिका–५ बस्ने २६ वर्षीय आसाङ लिम्बुसहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
सोही नगरपालिका–६ स्थित (हाल बन्द रहेको तरुण क्याफेको बाहिर पट्टीको बार्दलीमा) पुरानो रिसिबीको कारण दुई पक्षबीच खुकुरी हानाहान भएको थियो । सो झडपमा परेर गौतम तामाङसहित ३ जना घाइते भएका थिए । सो घटनालगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न लिम्बुसहित ३ जनालाई खुकुरीसहित पक्राउ गरेको हो ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका गौतमको बीएण्डसी अस्पताल बिर्तामोड झापामा उपचार भइरहेको छ भने अन्य २ जना सामान्य घाइतेको गोदावरी अस्पताल उर्लाबारी र आश्रय मेडिकलमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया