धरान,२५ भदौ । धरान उपमहानगरपालिकाले साबुन र बेसार फ्याक्ट्री संचालन गर्ने भएको छ। उपमहानगरको कार्यपालिका बैठकले धरानमा साबुन र बेसार फ्याक्ट्री खोल्ने निर्णय गरेको उपमेयर अइन्द्रविक्रम बेघाले जानकारी दिएका छन्।
धरानका युवाहरुलाई स्वरोजगार बनाउन र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले साबुन र बेसार फ्याक्ट्री खोल्न लागिएको उपमेयर बेघाले बताएका छन्। धरान उपमहानगरपालिकाको ४,५ र २० नम्बर वडामा अत्याधिक रुपमा बेसार उत्पादन हुने भएकाले बोरस फ्याक्ट्री खोल्दा यहाँका किसान बेसार उत्पादनमा अझ जागरुक हुने उनको भनाइ छ। धरानको पाहाडी भेगमा उत्पादन भएको बेसार भारत लगायतका मुलुकमा निर्यात हुँदै आएको छ। धरानका किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले धरान–२० मा बेसार उद्योग खोल्ने तयारी नगरपालिकाले सुरु गरिसकेको उपमेयर बेघाले बताएका छन्। उनले बेसार उद्योग संचालन भएपछी स्थानीय युवाहरुलाई नै स्वरोजगार बनाउने पनि बताए।
त्यस्तै धरानमा बाहिरबाट निर्यात हुने साबुन विस्थापित गरी स्थानीय स्थरमै लुगा धुने, नुहाउने र भाँडा माझ्ने साबुन उत्पादन गर्ने पनि कार्यपालिका बैठकबाट निर्णय गरिएको उपमेयर बेघाले बताएका छन्। उनले साबुन फ्याक्ट्रीका लागि एकान्त स्थानमा जग्गा खोजेर तत्काल उत्पादन थाल्ने बताए। साबुन र बेसार फ्याक्ट्रीमा चाहिने जनशक्ति धरानकै स्थानीयलाई छनौट गरी रोजगारी दिने पनि उपमेयर बेघाले बताए। उनले साबुन उत्पादनमा चाहिने कच्चा पदार्थ बाहिरबाटै निर्यात गरि सुलभ मुल्यमा धरानवासिलाई साबुन उपलब्ध गराइने बताए।
प्रतिक्रिया