काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारकाे छानबिन गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले कुनै पनि भ्रटाचार काण्डमा सरकार निर्मम भएर प्रस्तुत हुने बताएका हुन् । यसअघि भएका तमाम बेथितिको जबाफ नागरिकले खोजेको भन्दै गृहमन्त्री लामिछानेले अब भ्रष्टाचारका ठुल्ठुला काण्डका पुराना फाइल खोल्ने बताए ।
न्यूनतम साझा कार्यक्रममा नै इतिहासको कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको विरुद्ध सरकार निर्मम भएर खडा हुने उल्लेख गरिएको लामिछानेको भनाइ छ । ‘कुनै पनि कालखण्डमा भएकाे भ्रष्टाचारकाे निर्मम छानबिन गर्ने भन्ने कुरा सरकारका नूनतम साझा कार्यक्रममा बुँदाका रूपमा उल्लेख गरेका छाैँ । सरकार भ्रष्टाचारका विरुद्ध सरकार निर्मम भएर खडा हुन्छ,’ उनले भने ।
यस्तै उनले आफू र आफू सम्बद्ध दलका सांसद कुनै पनि अनियमिततामा नमुछिने बताएका छन् । ‘म र म सम्बद्ध दलका सांसद कुनै पनि किसिमका अनियमिततामा संलग्न हुने छैनौँ, नागरिकलाई दुःख कुनै काण्डमा मुछिने छैनौँ,’ उनले भने, ‘म र मेरा सांसदहरूका कारण जनताले शिर झुकाउनुपर्ने छैन ।’
उनले भने, ‘हामी आफ्नाे कर्तव्य पालना गर्ने कुरामा कहीँ कतै चुक्याैँ भने पदमा र कुर्सीमा टाँसिरहने छैनाैँ, झुन्डिइरहने छैनाैँ, प्रधानमन्त्री र सत्ता साझेदार दलसँग पनि प्रतिबद्धता जनाउँछाैँ ।’
प्रतिक्रिया