• २०८१ फाल्गुन ८ | Thu, 20 Feb 2025
  • जीतपुर सिमरामा वडाध्यक्षले अमिनलाई थुनेपछि कर्मचारी आन्दोलित

    जीतपुर सिमरामा वडाध्यक्षले अमिनलाई थुनेपछि कर्मचारी आन्दोलित

    वडाध्यक्षले नापीका कर्मचारी माथि दुव्र्यवहार गरेको भन्दै जीतपुर सिमरा उपमहानगरका कर्मचारीहरुले कार्यालयको सम्पूर्ण कामकाज ठप्प पारेर विरोधमा उत्रेका छन् ।  जीतपुर सिमरा  वडा नं ३ का वडाध्यक्ष ताराबहादुर कार्कीले अदालतमा विचाराधीन रहेको विवादित जग्गामा नापी कर्मचारीले भनेजस्तो काम नगरेको भन्दै २ जना अमिनलाई ३ घन्टासम्म थुनेर गाली गलौज गरेको कर्मचारीहरुले आरोप लगाएका छन् ।

    कार्कीले जनजागरण मध्यवर्ती सामुदायिक वनसँग जोडिएको शान्तबहादुर मल्लको विवादित जग्गा नाप्न बुधबार दिउँसो उपमहानगरका अमिनहरु अम्बिकाप्रसाद कुशहवा र प्रदीपकुमार वैठालाई बोलाएका थिए । जग्गा नाप्न पुगेका अमिनहरु अदालतमा मुद्दा विचाराधीन रहेको  विवादित जग्गामा फैसला नआएसम्म नापजाँच गर्न नसकिने भन्दै मुचुल्कामा हस्ताक्षर गर्न अटेर गरेपछि वडाध्यक्ष कार्कीले कुशहवा र वैठालाई ३ घन्टासम्म थुनेर राखेको कर्मचारीले आरोप लगाएका छन् ।

    ‘हामीले मुद्दा परेको जग्गा नाप्दैनौ भन्यौ, वडाध्यक्षले जसरी पनि नाप्नुपर्छ भनेर मुचुल्का उठाउनुभयो हामीले मुचुल्कामा हस्ताक्षर गर्न नमानेपछि यसलाई भित्र लगेर थुन भन्दै जबर्जस्ती कोठाभित्र लगेर थुन्नुभयो’ अमिन वैठाले भने, ‘हामीले अदालतमा मुद्दा परेको जग्गामा फैसला नभएसम्म नाप्न मिल्दैन भनेका मात्रै थियौ ।’

    थुनिएका कर्मचारीलाई नगरप्रमुख राजन पौडेलले प्रहरीको सहयोगमा बुधवार साँझ उद्धार गरेका थिए ।  वडाध्यक्ष कार्कीले कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै उपमहानगरका २४ वटै वडाका कर्मचारीहरुले बिहीवार कार्यलयका सम्पुर्ण कामकाज ठप्प पारेर विरोधमा उत्रिएका थिए ।

    ‘वडाध्यक्षले कर्मचारीहरूसँग लिखित रुपमा माफी मागेपछि मात्रै हामी लचिलो हुनसक्छौ नत्र काममा फर्कन सक्दैनौ’ आधिकारिक ट्रेड युनियन बारा जिल्ला अध्यक्ष राजेन्द्र कार्कीले भने । २४ वटा वडासहित उपमहानगरभित्र करिव ३ सय कर्मचारी कार्यरत छन् । वडाध्यक्षको कार्यशैलीका कारण कार्यालयमा बसेर काम गर्ने वातावरण समेत नभएको भन्दै कर्मचारीहरुले गुनासो समेत गरेका छन् ।

    यता, जीतपुर सिमरा वडा नं ३ का वडाध्यक्ष ताराबहादुर कार्कीले सामुदायिक वनसँग जोडिएको सार्वजनिक जग्गा नाप जाँचको क्रममा अदालतवाट नापी नआएको र उपमहानगरको नापीले नापजाँच गरिसकेपछि सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्न आलटाल गर्दा विवाद भएको बताए ।

    ‘मैले कर्मचारीलाई थुनेको छैन नापजाँच भएको जग्गाको मुचुल्कामा हस्ताक्षर मात्रै गर्न भनेको हो, सार्वजनिक सम्पतिको संरक्षण गर्ने क्रममा मलाई नियोजित ढंगले लगाएको आरोप मात्रै हो’ कार्कीले भने, ‘मैले गल्ती नगरेको विषयमा कर्मचारीसँग माफी किन माग्ने, यो मलाई बदनाम मात्रै बनाउन खोजिएको हो’ कार्की स्थानिय तह निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित  जनप्रतिनिधि हुन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र ३०, बिहीबार १२:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP