प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद यज्ञराज सुनुवारले सरकार बिचौलियाहरुबाट कमाउने धन्दामा लागि परेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनीहरुले नेताहरु चुनावका लागि चन्दा संकलनमा व्यस्त रहेको, कर्मचारीहरु कमिसनमा चलेको, ठेकेदारहरू कामै नगरी कमाउने धन्दामा लागेको भन्दै आपत्ति समेत जनाए ।
सांसद सुनुवारले ढिलासुस्ती र कमजोर काम गर्ने ठेकेदारहरूलाई कारबाही हुने गरी कानुनी व्यवस्था गर्न तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्न पनि सरकारलाई दवाव दिए । आफूले प्रतिनिधित्व गरेको ओखलढुंगा जिल्लामा समेत विकास, निर्माणका कामहरुमा ढिलाई रहँदा पनि सरकारले कुनै चासो नदिएको उनको गुनासो थियो ।
सांसद सुनुवारले भने, ‘सरकार विचौलियाहरुबाट कमाउन व्यस्त छ । नेताहरु चुनावका लागि चन्द संकलनमा मस्त । कर्मचारीहरु कमिसनमा रमाउने, अनि ठेकेदारहरू काम नगरी कमाउने । आजको मुलुकको अवस्था, मुलुकका थिति यहाँ पुगेको छ भन्ने कुरा समाजमा उठ्न थालेको छ । आज जुन ढंगले हामीले गति दिनुपर्ने थियो, हामीले भनेका थियौ– सार्वजनिक खरिद ऐन यो संसदमा ल्याइयोस् । त्यसमा आमूल परिवर्तनको खाँचो छ ।
राम्रो काम गर्ने पुरस्कार, ढिलासुस्ती र कमजोर काम गर्नेहरुलाई कारबाही हुनुपर्दछ भनेर हामीले भनेका थियौं । तर त्यसो हुन सकिरहेको छैन । मेरो जिल्ला ओखलढुंगामा समेत थुप्रै सरकारी भवनहरु, सडक कालोपत्रे लगायतका स्तरोन्नति गर्नुपर्ने अनि विद्यालय भवनहरु, सँगसँगै स्वास्थ्यका भवनहरु अनि पुलहरू, सडकहरू निर्माणमा जुन प्रकारले ढिला भइरहेको छ । यसले नागरिकलाई त्यहाँका जनतालाई ठूलो मार परिरहेको कुरा मैले पटकपटक उठाइरहेको छु । ’
सांसद सुनुवारले पुलपुलेसाहरुको आवश्यक व्यवस्था सरकारले मिलाउन नसक्दा जनता मारमा परिरहेको पनि बताए ।
प्रतिक्रिया