सिमरा : कामकाजका लागि अन्यत्र खटाउने सचिवस्तरको निर्णय उल्टाउँदै बाराको निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुमनकुमार कार्की पुनः फर्किन लागेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन ११ गते जिल्लाभित्रै रहेको पचरौता नगरपालिकामा उनको सरुवा गरेको भएपनि उक्त निर्णय उल्टाएर कार्की निजगढ फर्कन लागेका हुन्।
कार्कीलाई सरुवा गर्दै मन्त्रालयले उनको स्थानमा मकवानपुरस्थित थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीलाई पठाएको थियो। मन्त्रालयले सरुवा गरेपछि पुरी साउन १३ गते निजगढमा हाजिर हुँदै काम थालेका थिए। पुरीले काम थालेको दुई दिन नबित्दै मन्त्रालयले पुनः कार्कीलाई निजगढ फर्काएको हो।
पचरौतामा सरुवा गर्ने निर्णयप्रति असन्तुष्टी जनाउँदै आएका कार्कीले मन्त्रालय पुगेर सचिवस्तरीय निर्णय उल्टाएका हुन्। कार्कीले आफ्नो सरुवाको निर्णय स्थगन गर्न मन्त्रालय पुगेर राजनीतिक दबाब दिएको बुझिएको छ। सचिवस्तरीय निर्णयको पत्र नगरपालिकामा आएलगत्तै कार्की काठमाडौं पुगेका थिए। उनले राजनीतिक शक्ति प्रयोग गरेर सरुवाको निर्णय स्थगन गर्न लगाएको मन्त्रालय स्रोतको दाबी छ।
‘कार्कीलाई निजगढबाट पचरौता सरुवा गरिएको थियो। तर, थेग्नै नसक्ने दबाब आएपछि तत्कालका लागि स्थगन गर्न बाध्य भयौं’ मन्त्रालय स्रोतले भन्यो। कार्कीलाई अन्यत्र सरुवा गरेर पचरौता पठाउने निर्णय स्थगन गरिएपछि निजगढ आएका पुरीलाई भने मन्त्रालय तानिएको छ। मन्त्रालय स्रोतका अनुसार कार्कीलाई अन्यत्र सरुवा गर्ने निर्णय तत्काल स्थगन गर्न कर्मचारीलाई राजनीतिक दबाब बढी आएको थियो। दबाबकै कारण उनको यो चौथोपटक सरुवा स्थगित भएको हो। झण्डै दुई वर्षदेखि निजगढमा कार्यरत कार्कीको यसअघि तीन पटकसम्म सरुवाको निर्णय स्थगन भइसकेको छ। दुईपटक सिन्धुलीको स्थानीय तह र एकपटक मन्त्रालयमा सरुवा भएका कार्कीले आफ्नो सरुवा रोक्दै आएका छन्। मन्त्रालयको निर्णयलाई पटकपटक उल्टाउन सफल कार्कीले चौथोपटक सरुवा स्थगन गर्न लगाएका हुन्।
मन्त्रालयको निर्णयअनुसार कामकाजमा खटिनुभन्दा पनि राजनीतिक शक्ति प्रयोग गरेर पटकपटक निर्णय नै उल्टाएपछि निजगढका स्थानीय समेत अचम्मित बनेका छन्। नियमित सरुवालाई रोकेर कार्की पटकपटक निजगढ फर्कन चाहेको विषयलाई समेत स्थानीय स्तरमा चासोका साथ हेरिएको छ।
‘उहाँसँग ठूलै शक्ति रहेछ, त्यसैले प्रत्येक पटकको निर्णय रोक्दै आउनुभएको छ, स्थानीय श्याम तामाङले भने ‘तर पटकपटक निजगढ फर्केर आउनुपर्ने कारण चाहिँ के रहेछ हामीले बुझेनौं।’ मन्त्रालयको निर्णयअनुसार केही दिनअघि मात्रै प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका पुरीसँग परिचयात्मक कार्यक्रमसहित स्वागत गरेका कर्मचारी पुनः कार्की नै फर्कने सूचना पाएपछि अलमलमा छन्। ‘छिनछिनमै कार्यालय प्रमुख फेरिनु राम्रो विषय त होइन। तर, कर्मचारी खटनपटन गर्ने निकायले नै गरेपछि हामीले केही भन्न मिल्दैन’ एक कर्मचारीले भने।
नियमित र कानुनी तरिकाबाट कार्यालय प्रमुख फेर्ने मन्त्रालयको सचिवस्तरीय निर्णय उल्टिनु दुःखद रहेको जनप्रतिनिधिको भनाइ छ। निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले स्थानीय तहलाई अलमल्याउने, विवाद उत्पन्न गराउने काम मन्त्रालयबाटै भएको भन्दै पुरानै निर्णय कार्यान्यवनमा ल्याउनुपर्ने बताए।
‘नियमित हिसाबले कार्यालय प्रमुखको सरुवा गरियो, अर्को प्रमुख आएर काम सुरु गर्नुभयो’ नगरप्रमुख पुरीले भने ‘तर, फेरी केही दिनमै कार्यालय प्रमुख सरुवाको निर्णय स्थगन गर्ने अनि कार्यालयमा काम थालेका कर्मचारीलाई फिर्ता पठाउनेजस्ता कार्य अत्यन्तै अपरिपक्व निर्णय हो। हामी यसको बिरोधमा छौं।’
नगरपालिकालाई मन्त्रालयले असहयोग गर्ने काम गरेको र अलमल्याउन खोजेको भन्दै नगरप्रमुख पुरीले कार्यालय प्रमुख सरुवा गर्ने निर्णय स्थगन नगरी कार्यान्यवनमा ल्याउन माग गरेका छन्। नगर प्रमुख पुरीले भर्खरै नयाँ प्रमुख प्रशासकीय अधिकृतको हाजिर भइसकेको हुँदा कार्कीले हाजिर गर्न सक्ने अवस्था नरहेको बताए। मन्त्रालयलाई समेत यस विषयमा जानकारी गराइएको नगर प्रमुख पुरीले बताए।
प्रतिक्रिया