सिरहा । सिरहाका विभिन्न निर्वाचन क्षेत्रमध्ये अलिक बढी चासोका साथ हेरिएको क्षेत्र हो – सिरहा २ । कारण – यहाँबाट दुई हेविभेट नेता चुनावी प्रतिस्पर्धामा छन् ।
जसपा एमाले गठबन्धनबाट जसपाका प्रभावशाली नेता राजकिशोर यादव उम्मेदवार छन् भने सत्ता गठबन्धनबाट कांग्रेस नेतृ चित्रलेखा यादव चुनावी प्रतिस्पर्धामा छिन् । राजकिशोर यसअघि सिरहा ४ बाट चुनाव जितेका थिए ।
अन्तिम समयसम्म उनी यसै क्षेत्रबाट पुनः चुनाव लड्ने चर्चा थियो । तर, अन्तिम समयमा उनलाई पार्टीले सिरहा २ पठायो । टिकट लिएर मनोनयनका लागि धनगढीमाई नगरपालिकास्थित प्रशासकीय भवनमा आएका उनले पत्रकारसँगको साक्षात्कारमा भने, ‘ठूला नेताको क्षेत्र निश्चित हुँदैन । राष्ट्रिय नेता कुनै एउटा ठाउँको हुँदैन । सिंगो देशको अभिभारा हुन्छ । त्यसैले जुनसुकै ठाउँबाट चुनाव लड्न सक्छ । यहाँ मेरो आवश्यकता देखेर म आएँ ।’
राजकिशोर चुनावी राजनीतिका कुशल खेलाडी अनि तेज रणनीति निर्माता मात्रै होइनन्, प्रष्ट अनि दमदार भाषण कलाका कारण पनि कतिपयले उनलाई चानाक्य भन्छन् । सायद त्यसैले होला, नयाँ क्षेत्र भएपनि उनी यतिखेर त्यहाँ त्यहाँ सबैभन्दा अत्यधिक चर्चामा छन् ।
उनको चुनावी कार्यक्रम हेर्दा, सिरहा २ का गाउँ अनि बस्ती घुम्दा, त्यहाँका मान्छेसँग गफिँदा लाग्छ – राजकिशोरले सिरहा २ मा गज्जब तरिकाले आफ्नो कब्जा जमाइसकेका छन् । मनोनयन दर्ता गराएपछि उनले एकदिन क्षेत्र छाडेर कतै गएका छैनन् ।
‘फूल टाइम’ क्षेत्रमा बिताइरहेका उनले आफ्ना भिजन, मुद्दा र योजनाहरु प्रष्टसँग जनतासामु राखिरहेका छन् । त्यसैले भन्नुपर्छ, त्यहाँका अधिकांश मतदाताले चुनावी बात गर्यो कि राजकिशोरको चर्चा गरिभ्याउँछन् । अधिकांश मतदाताका मुखबाट सुनिने एउटा प्रमुख वाक्य हो – संसदमा राजकिशोरको उपस्थितिले अर्थ राख्छ ।
विकास अनि सामाजिक मुद्दाप्रति बडो गम्भीर रहने उनले सिरहा ४ मा सांसद रहँदा थुप्रा विकास निर्माणका काम गरेका छन् । कतिपय ठूला योजनाहरु अझै सञ्चालनमा छन् । कतिपय योजनाहरु सुरु हुने क्रममा छ । त्यसले पनि वर्षौंदेखि आश-आशमै दिन काटेका त्यहाँका मतदाताका लागि उनी भरोसायोग्य पात्र बन्न पुगेका छन् ।
यसरी हेर्दा सिरहा २ बाट उनको विजयीको स्पष्ट संकेत देखिँदैछ । स्थानीय तहको मत परिणामका हिसाबले पनि उनी बलिया उम्मेदवार छन् । सिरहा २ मा धनगढीमाई नगरपालिकाका सबै १२ वटा वडा, सुखीपुर नगरपालिकाका सबै १० वटा वडा, औरही गाउँपालिकाका सबै ५ वटा वडा, वरियारपट्टी गाउँपालिकाका सबै ५ वटा वडा, नवराजपुर गाउँपालिकाका सबै ५ वटा वडा, अर्नामा गाउँपालिकाका दुई वटा वडा, लक्ष्मीपुरपत्तारी गाउँपालिकाका एउटा वडा, गोलबजार नगरपालिकाका एउटा वडा गरी ४१ वटा वडा छन् ।
जसमध्ये मुख्य पालिकाहरु धनगढीमाईमा एमाले, सुखीपुरमा एमाले, औरहीमा जसपा, वरियारपट्टीमा जसपा र नवराजपुरमा जसपाले जितेको छ । यस्तै वडाहरुमा जसपा–एमाले गठबन्धन र सत्ता गठबन्धनले २०–२० वटा वडा जितेका छन् । जनमत पार्टीले एउटा वडा जितेको छ ।
वडाको मत हेर्दा जसपाले मात्र वडामा २१ हजार ९७ मत ल्याएको छ । एमालेको मत १८ हजार ३५८ छ । दुबै दलको मत जोड्दा ३९ हजार ४५५ हुन्छ ।
कांग्रेसले १९ हजार ४७४, माओवादी केन्द्रले ११ हजार ६५८, नेकपा एकीकृत समाजवादी पार्टीले तीन हजार ९२३ र लोकतान्त्रिक समाजवादी पार्टीले ९ सय ७९ मत ल्याएका छन् । यी सबै दलको मत जोड्दा ३६ हजार ३४ हुन्छ ।
यसरी हेर्ने हो भने पनि सत्ता गठबन्धनभन्दा जसपा–एमाले गठबन्धन तीन हजार ४२१ मतले अगाडी छ । तर, एउटा सत्य कुरा के हो भने चुनावमा क्याडरले पनि प्रभाव पार्छ, पार्छ । त्यसैले अहिले जुन किसिमको माहोल यहाँ देखिएको छ, यसले झन् राजकिशोरको मत बढ्ने देखिन्छ ।
हामीले उनै राजकिशोरसँग चुनावी गफ पनि गर्यौं । उनले १० हजारको मत्तान्तरले चुनाव जित्ने दावी गरे । यस क्षेत्रका जनता सधैं शासक मात्रै पाएको र शासकले शासन बाहेक केहि पनि नगरेकोले जनता यसपालि सेवक चुन्न लागेको उनको भनाइ छ ।
प्रतिक्रिया