काठमाडौँ। नेपाली कांग्रेसले सहमहामन्त्रीहरूलाई समानुपातिकतर्फ उम्मेदवारका लागि सिफारिस भएका नामहरूबाट क्लस्टर छुट्याएरमात्रै छलफल गर्ने भएको छ । केन्द्रीय संसदीय समितिको बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टीका सहमहामन्त्रीहरूलाई सम्बन्धित क्लस्टरमा समानुपातिकतर्फ उम्मेदवारका लागि सिफारिस भएका नामहरूमध्ये क्लष्टर छुट्याएर ल्याउन जिम्मेवारी दिएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार बसेको बैठकले सहमहामन्त्रीहरूलाई आ–आफ्ना क्लस्टरमा सिफारिस भएका उम्मेदवारहरूको नाम छुट्याएर ल्याउने जिम्मेवारी दिएको हो ।
कांग्रेसले विधानबमोजिम १६५ र ३३० वटै निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ उम्मेदवारका लागि एक महिनासहित तीन जनाको नाम सिफारिस गरी पठाउन निर्देशन गरेको थियो । जिल्ला र क्षेत्रीय समितिहरूले भने आकांक्षी सबैको नाम राखेर सिफारिस गरी पठाएका छन् । ती नेताका अनुसार अहिलेसम्म सबै उम्मेदवारको नाम एकै ठाउँमा राखेर संख्या यकिन गर्नसमेत सकिएको छैन । एउटै क्षेत्रबाट २५ जनासम्मको नाम सिफारिस भएर आएको छ ।
कांग्रेसमा बुधबार बसेको बैठकले समानुपातिकतर्फ एक निर्वाचन क्षेत्रबाट एक जना उम्मेदवार हुने गरी उम्मेदवार चयन गर्ने मापदण्ड बनाइसकेको छ भने स्थानीय तहमा उम्मेदवार भएको व्यक्तिलाई उम्मेदवार नबनाउने, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका व्यक्तिसमेत पुनः उम्मेदवार बन्न नपाउने र उच्च नैतिकता, योग्यता, क्षमता भएका र पार्टीको पक्षमा लोकप्रिय मत थप्ने नेताहरूलाई प्राथमिकतामा राख्ने मापदण्ड बनाएको छ ।
बैठकमा सभापति शेरबहादुर देउवाले ती नै मापदण्डका आधारमा उम्मेदवार चयनको प्रक्रिया अघि बढाउन निर्देशन गरेका छन् ।कांग्रेसको संसदीय समिति २५ सदस्यीय हुन्छ । तर, अहिले सो समिति नै अपुरो छ । समितिमा पार्टीका पदाधिकारी १३ जना स्वतः सदस्य छन् भने सभापति देउवाले रामचन्द्र पौडेललाई मात्रै सदस्यमा मनोनीत गरेका छन् ।
तर, उम्मेदवार चयन गर्ने बुधबार र बिहीबारका बैठकमा भने नेता शेखर कोइरालासहित पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूलाई समेत आमन्त्रण गरिएको छ । कांग्रेसमा तल्ला तहबाट सिफारिस भएका नामका आधारमा संसदीय समितिले उम्मेदवार चयन गर्ने व्यवस्था छ । २ र ३ असोजभित्र समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाइसक्नुपर्ने निर्वाचन कार्यतालिका छ ।कानुनअनुसार प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ दलहरूले ११० जनाको बन्दसूची बुझाउनुपर्नेछ । त्यसमध्ये आदिवासी जनजाति ३२ जना, खसआर्य ३४, थारु ७, दलित १५, मधेसी १७ र मुस्लिम ५ जनाको नाम समेटिनुपर्ने हुन्छ ।
प्रतिक्रिया