सिमरा,१३ असोज । चाडपर्वलाई लक्षित गर्दै बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले मधेस प्रदेशका आठ जिल्लामा टाइम कार्ड लागु गरेको छ। सवारी तथा सडक दुर्घटना न्युनीकरणका लागि कार्यालयले बुधबार रातीदेखि यात्रुबहाक बसमा टाइम कार्ड लागु गरेको हो।
दसैं, तिहार र छठ पर्वमा राजमार्ग अन्य समयभन्दा ब्यस्त रहने र सम्भावित दुर्घटना न्युनीकरणका लागि कार्यालयले सवारीसाधनमाथि समयसीमा निर्धारण गरेको हो। पथलैयामा उपलब्ध गराइने टाइम कार्ड अनुसार चालकले सप्तरीको भारदह पुग्नु पर्नेछ।
तोकिएको समयभन्दा छिटो पुगेमा कारवाही हुने भन्दै ट्राफिक प्रहरीले चाडपर्वको समयमा हतारिएर सवारी नचलाउन समेत अनुरोध गरेका थिए। कार्यालयका ट्राफिक प्रहरी निरीक्षक सुशिल आचार्यले टाइम कार्डले सम्भावित दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने बताए। ‘टाइम कार्ड भनेको सवारी साधनको गतिलाई नियन्त्रण गर्नु हो। धेरै सवारी साधन तीव्र गतिका कारण दुर्घटनामा परेका हुन्छन्’, प्रहरी निरीक्षक आचार्यले भने, ‘अब टाइम कार्ड दिएपछि सोही समयमा पुग्नुपर्ने हुन्छ र दुर्घटनाको जोखिम कम हुन्छ।’
सवारी साधनलाई टाइम कार्ड लागु गर्दै प्रहरी निरीक्षक आचार्यले दुर्घटना न्युनिकरण गर्ने अभियानमा सहयोग गर्न चालकलाई अनुरोध गरेका थिए। चाडपर्वको समयमा मात्र नभई अन्य समयमा पनि यात्रुलाई सुरक्षित गन्तब्यमा पुर्याउन चालकको भूमिका महत्वपूर्ण हुने भन्दै प्रहरी निरीक्षक आचार्यले ट्राफिक प्रहरीको अभियानलाई सबैको साझा दायित्वका रुपमा लिन आग्रह गरे।
प्रहरी निरीक्षक आचार्यले यात्रुबसमा सवार यात्रुसंग कुरा गर्दै सवारी चालकले तिव्र गतिमा सवारी चलाएमा सम्झाउन, मापसे गर्न खोजेमा रोक्न, बढी भाडा लिएमा प्रहरीलाई जानकारी गराउन अनुरोध गरेका थिए। यात्राका क्रममा चालक, सहचालकबाट दर्व्यवहार र गुनासो भएमा राजमार्गमा खटिने ट्राफिक प्रहरीलाई जानकारी गराउन समेत सुझाव दिएका थिए।
कार्यालयले दिएको समयअनुसार पथलैयादेखि भारदहसम्मको दुई सय ५० किलोमिटरको यात्रा तीन घण्टा ४५ मिनेटमा पार गर्नुपर्नेछ। उक्त समय भन्दा छिटो पुग्ने सवारी साधनमाथी कारवाही हुने कार्यालयले जनाएको छ।
कार्यालयका ट्राफिक प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार पथलैयादेखि भारदहसम्मको विभिन्न स्थानमा रहेका ट्राफिक पोष्टमा टाइम कार्ड जाँच हुने र तोकिएको समय भन्दा अगाडी पुग्ने सवारीलाई कारवाही गरिने बताए। पथलैयाबाट भारदह पुग्ने र भारदहबाट पथलैया आउने सवारी साधन टाइम कार्ड अनुसार गन्तब्यमा पुग्नुपर्ने ट्राफिक प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए।
प्रतिक्रिया