• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • अमेरिकी सभामुख पेलोसी ताइवान पुगेपछि ‘युद्ध’को मनस्थितिमा चीन

    अमेरिकी सभामुख पेलोसी ताइवान पुगेपछि ‘युद्ध’को मनस्थितिमा चीन

    ताइवान : अमेरिकी सदनकी सभामुख नैन्सी पेलोसी एसियाली देशको भ्रमणका क्रममा ताइवान पुगेकी छन्। ताइवान पुगेलगत्तै अमेरिका र चीनबीचको तनाव झन् बढेको छ। चीनको विरोधका बावजुद उनी ताइवान पुगेकी हुन्। २५ वर्षपछि अमेरिकाको उच्च श्रेणीको निर्वाचित अधिकारी ताइवान पुगेकी हुन्।

    ताइवान पुगेपछि कांग्रेस प्रतिनिधिमण्डलका सदस्यहरुले वक्तव्यसमेत जारी गरेका छन्। ‘कांग्रेस प्रतिनिधिमण्डल ताइवान पुग्नुलाई त्यहाँको लोकतन्त्रको समर्थनमा अमेरिकाको प्रतिवद्धता अटुट रहेको दर्शाउँछ,’ वक्तव्यमा भनिएको छ, ‘यो हाम्रो इन्डो-प्यासिफिक भ्रमणको हिस्सा हो। हामी सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानको यात्रा गर्नेछौं। यस यात्रामा हामीले सुरक्षार आर्थिक साझेदारी र लोकतान्त्रिक शासनलगायत मुद्दामा केन्द्रित हुन्छौं।’

    ताइवानी नेतृत्वसँग हिन्द-प्रशान्त क्षेत्रको प्रोत्साहन र विकास साझेदारलगायतका मुद्दामा छलफल हुने बताइएको छ। ‘ताइवानका दुई करोड ३० लाख जनताका साथमा अमेरिकी एकता हुनु अति महत्वपूर्ण कुरा हो,’ वक्तव्यमा भनिएको छ।

    चीनको पेलोसीको ताइवान यात्रालाई चेतावनी दिएको छ। उसले ताइवान आसपास सैनिक अभ्यास गर्ने चेतावनी दिएको छ। ‘चिनियाँ सेना ताइवानको सबै क्षेत्रमा महत्वपूर्ण सैन्य अभ्यास गर्नेछन्। जसमा ‘लाइभ फायर ड्रिल’ समावेश हुनेछ,’ चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले लेखेको छ।

    चीनले विरोधका बावजुद पेलोसी ताइवान पुग्नुलाई दुई देशबीच भएको सम्झौताको उल्लंघन भएको आरोप लगएको छ। ‘यसले चीन-अमेरिकाको राजनीतिक सम्बन्धमा गहिरो असर पर्छ। यो चीनको सम्प्रभुता र क्षेत्रीय अखण्डताको गम्‍भीर उल्लघंन हो,’ समाचारमा भनिएको छ।

    सभामुख पेलोसीको भ्रमणलाई बहानाको रूपमा प्रयोग गरेर बेइजिङले ताइवान वा ताइवान टापु वरपर क्षेप्यास्त्र प्रहार गर्ने वा टापुको आकाशमा उड्ने र ठूलो मात्रामा नौसेना सञ्चालन तथा अभ्यासलगायत सैन्य कारबाहीसहित उत्तेजक प्रतिकारात्मक कदम चाल्नसक्ने अमेरिकी अधिकारीहरुले जनाएका छन्।

    चीनले प्रतिकार गरे अमेरिकी सेनाले पनि एशिया-प्रशान्त क्षेत्रमा आफ्नो सेनाको गतिविधि बढाउने उनीहरुको भनाइ छ। सैनिक कारबाही तथा सञ्चालनबारे जानकारी दिँदै एकजना अमेरिकी अधिकारीले नौसेनाको विमान बाहक युएसएस रोनाल्ड रेगन र त्यसबाट प्रहार गर्ने दस्ता सोमबार फिलिपिन्स सागरमा तैनाथ गरिएका बताएका छन्। रडार प्रणाली, लडाकु जेट, हेलिकप्टर र अन्य अत्याधुनिक हातहतियारसहितका रेगन, क्रूजर यूएसएस एन्टिएटम र यूएसएस हिगिन्स सिङ्गापुरको बन्दरगाहबाट आफ्नो स्थायी शिविर जापानतर्फ लागेका उनले बताए।

    सन् १९४९ मा कम्युनिस्टहरूले मुख्य भूमिमा गृहयुद्ध जितेर ताइवान र चीन छुट्टिएका हुन्।  बेइजिङलाई चीनको सरकारको रूपमा मान्यता दिए पनि अमेरिकाले ताइवानसँग अनौपचारिक रक्षासहित अन्य सम्बन्ध कायम राखेको छ। बेइजिङले ताइवानसँगको अमेरिकीसम्पर्कलाई द्वीपको दशकौं पुरानो स्वतन्त्रतालाई स्थायी बनाउन प्रोत्साहन गरेको मानेको छ भने अमेरिकी नेताहरूले त्यसलाई समर्थन नगरेको बताएका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण १९, बिहीबार ०९:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP