युक्रेन युद्धमा झण्डै एक लाख रुसी सैनिक हताहती भएको एक शीर्ष अमेरिकी जनरलले बताएका छन् । युक्रेनले पनि युद्धमा उस्तै समानस्तरको क्षति सामना गरेको बुधबार अमेरिकी सेनाका जनरल मार्क मिलेले बताएका हुन् ।
झण्डै नौ महिनादेखि चलिरहेको द्वन्द्व ठण्डीको आगमनपछि केही मत्थर भएको देखिएको छ । यस अवधिमा कुनै प्रकारको वार्ता सुरु हुने सम्भावना रहेको विश्लेषकले बताएका छन् । युक्रेनमा कूटनीतिको सम्भावनाबारे प्रश्न गर्दा मिलीले पनि पहिलो विश्वयुद्धको प्रारम्भमा वार्ता अस्वीकार गर्दा मानव पीडा बढेको र लाखौँको ज्यान गएको बताए ।
‘त्यसैले शान्ति हासिल गर्न सकिने अवस्थामा वार्ताको अवसरलाई सदुपयोग गर्नुपर्छ ,’ मिलीले इकोनोमिक क्लब अफ न्युयोर्कलाई गरेको सम्बोधनमा भने । यसअघि बुधबार, रुसले आफ्नो सेनालाई खेरसननजिकको नीपर नदीको पश्चिमी किनारबाट पछि हट्न निर्देशन दिएको छ । यसलाई मस्कोको लागि ठूलो धक्काको रुपमा हेरिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सैन्य फिर्तीको घोषणालाई युद्धको मैदानमा रुसले समस्या भोगिरहेको प्रमाणको रुपमा व्याख्या गरे ।जेलेन्स्कीले भने रुसले रणनीतिक रूपमा पछि हटेको हुनसक्ने भन्दै अहिले नै उत्साहित हुन नसकिने बताए । अमेरिका र उसका नेटोका सहयोगीहरुले युक्रेन युद्धमा प्रत्यक्ष हस्तक्षेप गर्न आफूलाई रोकिराखेका छन्, तर उनीहरुले रूसविरुद्धको संघर्षमा युक्रेनी सेनालाई सैन्य तथा विभिन्न सहयोग दिईरहेका छन् ।
उच्च हताहत संख्याको बाबजुद, मिलीले मस्कोले युक्रेनमा आफ्नो उद्देश्यहरू प्राप्त गर्न असमर्थ भएको र रुसले कहिलेसम्म युद्ध टिकाउन सक्षम हुनेछ भन्ने प्रश्नहरू खडा भएको बताए ।
प्रतिक्रिया