दुबईका शासकका भतिजाकी पूर्व पत्नीका तर्फबाट संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा अपील परेको छ । उनले संयुक्त राष्ट्र संघले हस्तक्षेप गरी जैनब जवादली र उनका बच्चाहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेकी छिन् ।
संयुक्त राष्ट्रसंघमा पेश गरिएको निवेदनमा जैनब जवादलीले दुबईमा दुर्व्यवहार, उत्पीडन र धम्कीको सामना गरिरहेको दाबी गरेकी छिन् । जवादली दुबईको शाही परिवारका सदस्य शेख सईद बिन मकदूम बिन रसिद अल मकदूमकी पत्नी हुन् । दुवैको सम्बन्धविच्छेद भइसकेको छ तर छोराछोरीको कस्टडीलाई लिएर उनीहरुबीच रस्साकस्सी चलिरहेको छ ।
बीबीसीले प्राप्त गरेको भिडियोमा जैनाब जवादलीले भनिरहेकी छिन्, ‘कृपया मलाई मद्दत गर्नुहोस् । म र मेरा बच्चाहरू आफ्नो जीवन र सुरक्षाको लागि भयभीत र आतंकित छौँ । हामी एक प्रकारले घरबारविहीन भएका छौं किनभने हामी दुबईको एउटा होटलमा मात्रै सीमित छौँ । मेरा बच्चाहरु निडर भएर बाहिर निस्कन सक्दैनन् किनकी म पछाडिबाट गिरफ्तार हुन्छु कि भन्ने उनीहरुलाई डर छ ।’
३१ वर्षीय जवादली अजरबैजानकी हुन् । उनी अन्तर्राष्ट्रिय जिमनास्टसमेत हुन् । सन् २०१९ मा शेख सईदसँग सम्बन्धविच्छेद गरेपछि जवादली दुबईमा बस्दै आएकी छिन् ।
त्यतिबेलादेखि नै उनी आफ्ना तीन छोरीसँग दुबईमा बस्दै आएकी छिन् । राजकुमारी जवादली दुबई छाड्न चाहन्नन् किनभने उनी एकपटक देश बाहिर गइन् भने उनले आफ्ना छोरीहरूलाई पुनः भेट्न पाउने छैनन् । पछिल्लो तीन वर्षदेखि उनी आफ्ना छोरीहरुको कस्टडीका लागि अदालतमा श्रीमानसँग मुद्दा लडिरहेकी छिन् ।
दुवैले सन् २०१५ मा विवाह गरेका थिए । विवाह पछि दम्पती दुबईमा बस्थे, जहाँ शेख सईद शासक शाही परिवारका वरिष्ठ सदस्य हुन् । शेख सईद दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकदूमका भतिजा हुन् ।
बोल्ने र घुम्न–डुल्न स्वतन्त्रता छैन
युनाइटेड नेशन्स ह्युमन राइट्स अर्गनाइजेसनले हस्तक्षेपका लागि गरेको अपीलमा राजकुमारीका बेलायतमा रहेका वकिलहरूले उनको क्लाइन्टको वाक् स्वतन्त्रता र आन्दोलनको स्वतन्त्रता सीमित भएको दाबी गरेका छन् । साथै उनीहरुलाई धम्की समेत दिइने गरेको उनीहरुले बताएका छन् ।
दुई वर्षअघि होटलभित्र प्रवेश गरेर जवादली, उनका बाबुआमा र छोरीहरुलाई दुबई प्रहरीले कुटपिट गरेको अपीलमा उल्लेख छ । त्यसपछि जवादलीले सो घटनालाई सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरेकी थिइन् ।
त्यो घटनाले विश्वको ध्यान तान्यो । अब जवादलीका आमाबुवा अजरबैजान फर्किएका छन् । विगत तीन वर्षदेखि उनको घरमा प्रहरीले छापा मार्ने, अदालतमा बोलाउने र पक्राउ पुर्जी जारी गर्ने चलन सामान्य भइसकेको पुनरावेदनमा उल्लेख छ ।
पचास पृष्ठको दस्तावेजमा उनीहरूको मुद्दा निष्पक्ष रूपमा सुनुवाइ नभएको र शेख सईदलाई उचित प्रक्रिया बिना छोरीहरूको कस्टडी सुम्पिएको आरोप लगाइएको छ । अपीलमा जवादलीले ‘स्पष्ट रूपमा अनुचित, भेदभावपूर्ण र पक्षपातपूर्ण न्यायिक प्रक्रिया’ सामना गरिरहेको दाबी गरेकी छिन् ।
यस अवधिमा आफ्नो पक्षमा एउटा मात्रै निर्णय आएको र त्यो पनि कुनै प्रक्रियाविना नै केही दिनमै फिर्ता लिइएको जवादलीले उक्त दस्तावेजमा उल्लेख गरेकी छिन् ।
विद्यालय पठाउने विषयमा विवाद
अर्कोतर्फ, शेख सईदको मुद्दा लडिरहेका वकिलहरूले दुबईको अदालतमा दाबी गरेका छन् कि जवादली एक अयोग्य आमा हुन् जसले आफ्ना छोरीहरूलाई स्कूल पठाउन असफल भएकी छिन् ।
साथै, वकिलले दाबी गरेअनुसार उनी एक असुरक्षित स्थानमा बसिरहेको र त्यहाँ सबैभन्दा कान्छी छोरीको स्वास्थ्यलाई खतरा छ । जवादलीले यी आरोप अस्वीकार गर्दै अदालतमा विपरित प्रमाण पेश गरेकी छिन् ।
यतिबेला उनी छोराछोरीलाई विद्यालय पठाउने विषयमा दुबईको स्थानीय प्रशासनसँग उल्झिएकी छिन् । छोरीहरुलाई विद्यालय नपठाउने उनको अडान छ । बच्चाहरू होटलबाट निस्किए भने फेरि फर्कन नपाउने हो कि भन्ने उनलाई डर छ । विद्यालयले जवादलीलाई बैठक बसेर समस्या समाधान गर्न आग्रह समेत गरेको छ ।
दुबईको न्यायिक प्रक्रियाको अनुभव भएको स्रोतले बीबीसीसँगको कुराकानीमा भनेका छन् कि जवादलीले भनेको कुराले विगतमा भएका यस्तै मुद्दाहरूलाई संकेत गर्छ । राजपरिवारका सदस्य वा श्रीमतीमाथि विगतमा पनि यस्तो भइसकेको छ ।
पहिलो केस होइन
दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकदुमकी पूर्वपत्नी राजकुमारी हयाले सन् २०१९ मा देश छोडेकी थिइन् । उनले दुबईमा आफ्नो ज्यानलाई खतरा भएको बताएकी थिइन् । सोही वर्ष बेलायतको एक अदालतले राजकुमारी हयालाई आफ्ना दुई सन्तानको जिम्मा दिइएको थियो ।
यसपछि शेख मोहम्मदकी छोरी राजकुमारी लतिफाको निकै जटिल कथा विश्वमाझ सार्वजनिक भयो । राजकुमारीले सन् २०१८ मा आफ्नो परिवारको नियन्त्रणबाट आफूलाई मुक्त गर्न प्रयास गरिन् ।
राजकुमारी हया भागेको डुङ्गा हिन्द महासागरमा समातेर जबरजस्ती दुबई लगिएको थियो । त्यसपछि उनले आफ्नो इच्छाविपरीत आफूलाई बन्दी बनाएर राखिएको भन्दै धेरै भिडियो सार्वजनिक गरिन् । तर पछि उनी सीमित सार्वजनिक स्थानमा देखिइन् । अहिले राजकुमारी हयाले आफू खुसीसाथ दुबईमा आफ्नै स्वेच्छाले बस्दै आएको बताउँछिन् ।
बीबीसीले प्राप्त गरेको भिडियोमा जैनाब जवादली भन्छिन्, ‘हामी आफ्नै घरमा कैदी हौँ ।’
उनका एक वकिल रोडनी डिक्सन भन्छन्, ‘धेरै ढिलो भइसकेको छैन । यो अवस्थालाई थप खराब बनाउन आवश्यक छैन । यो समस्यालाई अब सबै पक्षको हितमा समाधान गर्न सकिन्छ ।’ बीबीसीले यस विषयमा युएईका अधिकारीहरूसँग प्रतिक्रिया मागेको थियो तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
प्रतिक्रिया