• २०८१ माघ ११ | Fri, 24 Jan 2025
  • आर्थिक सूचकमा नेपाल–श्रीलंका

    आर्थिक सूचकमा नेपाल–श्रीलंका

    एडीबीको सन् २०१९ को प्रतिवेदनले नै ‘दोहोरो घाटा’ ले श्रीलंकाको अर्थतन्त्र धरापमा पर्न सुरु गरेको आकलन गरेको थियो।

    श्रीलंका सन् १९४८ को स्वतन्त्रतापछि सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ। जानकारहरूका अनुसार, अहिलेको आर्थिक संकटको जग दशकौंदेखि सरकारहरूले गर्दै आएको आर्थिक अनियमितता हो। एसियाली विकास बैंकको सन् २०१९ को प्रतिवेदनले नै ‘दोहोरो घाटा’ (बजेट अभावका साथै चालू खाता घाटाको समस्या)ले श्रीलंकाको अर्थतन्त्र धरापमा पर्न सुरु गरेको आकलन गरेको थियो। सो प्रतिवेदनअनुसार, त्यस्तो ‘दोहोरो घाटाले’ देशको राष्ट्रिय खर्च राष्ट्रिय आयभन्दा धेरै हुन्छ र विस्तारै देशको अर्थतन्त्र नै मन्दीमा जान्छ ।

    राजपाक्ष परिवारको सत्तामोह पनि ठूलो कारण हो। योग्यता र क्षमताभन्दा परिवारवाद हावी भएपछि पनि यो आर्थिक संकट आएकामा शंका छैन। अर्को ठूलो कारण भनेको २०१९ मा धार्मिकस्थलमा भएको आतंकवादी हमलापछि सुस्ताएको पर्यटन क्षेत्रमा दुई वर्षयताको कोरोना–त्रासले गर्दा अझ ठूलो नोक्सानी पुग्नु हो। सन् २०१९ को इस्टरमा आतंकवादी हमला पछि श्रीलंकाको पर्यटन व्यवसायमा गहिरो असर परेको थियो। थप, ठूला पूर्वाधारका लागि राजस्व बढाउने बेलामा राजपक्षेले श्रीलंकाको इतिहासकै ठूलो कर कटौतीको नीति ल्याए, जसले राजस्व संकलनमा ठूलो असर पुग्यो र आफ्नो बनिरहेको पूर्वाधारका लागि श्रीलंका बाहिरी ऋण लिन बाध्य भयो। अन्तर्राष्ट्रिय ऋणदाताहरूले श्रीलंकाको ‘क्रेडिट रेटिङ’ घटाए जसले गर्दा श्रीलंकालाई थप ऋण लिने अवस्थामा भएन। साथै, अप्रिल २०२१ देखि श्रीलंकाले सबै प्रकारका रासायनिक मलमा पूर्ण रूपमा बन्देज लगायो। सीमित समयमा अर्गानिक खेती गर्नुपर्ने बाध्यताले विशेषगरी धान र चियाको उत्पादन धेरै घट्यो, जसको प्रत्यक्ष असर कृषकलाई पर्‍यो भने सम्पूर्ण अर्थतन्त्रलाई ठूलो क्षति भयो।

    यता, नेपाल पनि आर्थिक संकटोन्मुख छ। मुद्रास्फीति बढ्नु, आयात व्यापक हुँदै व्यापारघाटा बढ्दै जानु आदिले नेपालको अर्थतन्त्र गहिरो संकटतिर उन्मुख रहेको पुष्टि हुन्छ। समग्र अर्थतन्त्रमै ठूलो मन्दी आउने आकलन विभिन्न कोणबाट हुन थालिसकेको छ। अहिलेको आर्थिक संकटका मुख्य कारक हुन्, श्रीलंकामा जस्तै वर्षौंदेखि विधि र पद्धतिलाई मिचेर राजनीतिज्ञ र कर्मचारीतन्त्रले गरेका आर्थिक कुव्यवस्थापन। व्यापक भ्रष्टाचार, योग्यताभन्दा राजनीतिक झोला बोकेका आधारमा विभिन्न ठाउँमा गरिने नियुक्ति, उच्च चालू खर्च तर कम पुँजीगत खर्च (जुन खर्च हुन पनि कठिन छ) जस्ता अन्य थुप्रै कारण पनि छन्। लेखमा नेपाल र श्रीलंकाका केही मुख्य आर्थिक सूचकको तुलनात्मक विश्लेषण गरिएको छ।

    ऋण नेपालको ऋण यो आर्थिक वर्षको त्रैमासिकसम्म ७.५ प्रतिशतले बढ्यो। नेपाली रुपैयाँ कमजोर हुनु र सरकारले बाहिरी ऋण बढाउनु ऋण बढ्नुका मुख्य कारण हुन्। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चैत्र २०७८ सम्म नेपालको बाहिरी कुल ऋण ९७६ अर्ब र अन्तरिक कुल ऋण ८७९ अर्ब छ। नेपालको कुल ऋण १८ खर्ब ५५ अर्ब छ जुन नेपालको कुल गार्हस्थ्य उत्पादनको ३८ प्रतिशतबराबर हो। नेपालको कुल ऋण गएको केही वर्षमा व्यापक वृद्धि भएको छ तर ऋणको कुल गार्हस्थ्य उत्पादनको अनुपात (३८ प्रतिशत) लाई तुलनात्मक रूपमा ठूलो मान्न सकिन्न। पाँच वर्ष पहिला ऋणको कुल गार्हस्थ्य उत्पादनको अनुपात जम्मा २५ प्रतिशत थियो तर देश संघीयतामा गए पछि ऋणमा व्यापक वृद्धि भयो।

    नेपाली रुपैयाँ डलरसँग इतिहासमै कमजोर अवस्थामा छ। नेपालको कुल विदेशी विनिमय सञ्चिति निरन्तर घट्दो क्रममा छ। यी सोचनीय विषय हुन्।

    श्रीलंकामा भने बाह्य ऋण सन् २००५ देखि नै बढ्दै गएको हो, जुन २००५ मा ४११.३ अर्ब डलरबाट बढेर २०२० मै ४५६.३ अर्ब डलर पुगेको थियो। त्यसमा बजारबाट लिएको ऋणको ४७ प्रतिशत अनि एसियाली विकास बैंक, चीन र जापानको १०–१० प्रतिशत छ। विश्व बैंकको ९ प्रतिशत र भारतको २ प्रतिशत भाग छ। चीनको कुल ऋणमा जम्मा १० प्रतिशत हिस्सा भए पनि वर्तमान राजापक्ष दाजुभाइको सरकारले त्यो चर्को ब्याजदरमा लिएको हो, त्यो पनि चीनका सबै सर्त मानेर। अहिले श्रीलंकाको ऋणको कुल गार्हस्थ्य उत्पादनको अनुपात १०१ प्रतिशत पुगेको छ र कुल ऋण ४ ५१ अर्ब डलर छ।

    मुद्रास्फीति

    युक्रेनमा युद्धको कारण विश्वव्यापी आपूर्ति अवरोधहरू भएका छन्। नेपालमा पनि असर अवश्य परेको छ। राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार अहिले नेपालको मुद्रास्फीतिको दर ८.६ प्रतिशत छ। विशेषगरी ढुवानी, खाद्यान्न र इन्धनको मूल्य जुन हिसाबले बढेको छ, राष्ट्र बैंकको ८.६ प्रतिशत दर अवमूल्यन हुन सक्ने अनुमान जानकारहरूको छ। उता श्रीलंकामा रुपैयाँमा आएको भारी गिरावटले आयात धेरै महँगो भयो र व्यापक मुद्रास्फीति अवस्था छ। श्रीलंकाले २०२१ मा रासायनिक मल र कीटनाशकलाई पूर्णरूपमा प्रतिबन्ध लगाएको थियो।

    यसो गर्नुका एउटा कारण थियो, बढ्दो व्यापार घाटालाई कम गर्नु तर परिणाम भने घरेलु खाद्यान्नमा व्यापक गिरावट आयो। जसले तीव्र खाद्य अभाव निम्त्याउनुका साथै मुद्रास्फीति पनि बढायो। अहिले श्रीलंकामा खुद्रा मुद्रास्फीति ५० प्रतिशतले बढेको छ भने खाद्यान्न मुद्रास्फीति ८० प्रतिशतले बढेको छ। बढ्दो मुद्रास्फीतिलाई अंकुश लाउन केही दिन पहिला मात्र श्रीलंकाको राष्ट्र बैंकले कडा मौद्रिक नीति ल्यायो। त्यहाँको राष्ट्र बैंकले ब्याजदर ३ प्रतिशतले बढायो। संसारभरका राष्ट्र बैंकहरूले मुद्रास्फीतिलाई नियन्त्रणमा गर्न ब्याजदर नै बढाउने हो।

    विनिमय दर

    नेपाली रुपैयाँ डलरसँग इतिहासमै कमजोर अवस्थामा छ। अहिले एक डलर बराबर १२८ नेपाली रुपैयाँ छ। नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग स्थिर विनिमय दर छ। अहिले भारतीय रुपैयाँ पनि अमेरिकी डलरसँग इतिहासकै कमजोर अवस्थामा छ। भारतीय रुपैयाँ अमेरिकी डलरसँगको विनिमय दरले नेपाली रुपैयाँमा प्रत्यक्ष प्रभाव पार्छ। भारतीय रुपैयाँसँग स्थिर विनिमय दर नभएको भए नेपाली रुपैयाँ झन् कमजोर हुने सम्भावना थियो। नेपाली रुपैयाँ कमजोर भयो भने आयात महँगो हुन्छ। रुपैयाँ कमजोर भयो भने वस्तु÷सामग्री महँगो हुन्छ, जसको प्रत्यक्ष प्रभाव उपभोक्तालाई पर्छ। तर, यसको अर्को पाटो भनेको नेपाली रुपैयाँ कमजोर भयो भने रेमिट्यान्स बढ्छ भने पर्यटन क्षेत्रलाई पनि लाभ पुग्छ।

    गएको केही महिनामा श्रीलंकाको मुद्रा अमेरिकी डलरसँग ३५ प्रतिशतभन्दा धेरै गिरावट आएको छ। वर्षौंदेखि श्रीलंकाको अमेरिकी डलरसँगको विनिमय दर लगभग एक डलर बराबर १७५–२०० रुपैयाँ थियो। किनकि रुपैयाँ कमजोर हुन लाग्दा श्रीलंकाको राष्ट्र बैंकले आफ्नो विदेशी मुद्रा सञ्चितिबाट डलर बेच्थ्यो। आफ्नो विदेशी मुद्रा सञ्चिति नै टाट पल्टेको अवस्थामा त्यो सुविधा श्रीलंकाको राष्ट्र बैंकसँग यसपालि थिएन। अहिले एक डलर बराबर ३ सय ५० श्रीलंका रुपैयाँ छ।

    विदेशी विनिमय सञ्चिति

    नेपालको कुल विदेशी विनिमय सञ्चिति निरन्तर घट्दो क्रममा छ। नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार २०७८ असार मसान्तमा  १३९९ अर्ब तीन करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले कमी आई २०७९ जेठ मसान्तमा ११७६ अर्ब ८४ करोड भएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ४११ अर्ब ७५ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १९.६ प्रतिशत कमी आई ४९ अर्ब ४५ करोड भएको छ। प्रतिवेदनअनुसार यो भनेको नेपालको कुल वस्तु तथा सेवा आयात लगभग पाहुने सात महिनालाई धान्ने हो।

    श्रीलंकाको कुल गार्हस्थ्य उत्पादन नेपालको तुलनामा दोब्बर भन्दा पनि धेरै छ। नेपालको ४३६ अर्ब डलर हो भने श्रीलंकाको ४८१ अर्ब डलर। तर पनि नेपालको तुलनामा श्रीलंकाको कुल विदेशी विनिमय सञ्चिति निक्कै कम छ। श्रीलंकाको कुल विदेशी विनिमय सञ्चिति जम्मा ४१.९ अर्ब डलर छ। श्रीलंका सरकारको अनुसार प्रयोगयोग्य डलर सञ्चिति मात्र ४२.५ करोड डलर हो। २०१९ मा श्रीलंकाको सो सञ्चिति ४७.५ अर्ब डलर थियो। अहिले श्रीलंकाले केही पनि आयात गर्ने अवस्थामा छैन। अहिले श्रीलंकाको सरकार आईएमएफसँग ऋणका लागि संवादमा छ। भारतजस्ता मित्र राष्ट्रले सामग्री र इन्धन आदि पठाएर सहयोग गरिराखेका छन्। विदेशी विनिमय सञ्चिति व्यापक रूपमा घटेपछि श्रीलंकाले विभिन्न वस्तुको आयातमा समस्या आएको छ। इन्धन नभएर सरकारी कार्यालय, विद्यालय आदि बन्द छन्।

    अन्त्यमा

    मुख्य सूचकमध्ये केही जुन माथि उल्लेख छन्, त्यसमा अहिलेको लागि श्रीलंका र नेपालको आर्थिक अवस्था फरक देखाउँछ। नेपालको आर्थिक अवस्था अहिलेको लागि श्रीलंकाको तुलनामा राम्रो छ। रेमिट्यान्स बढ्दै गएको खण्डमा नेपाललाई श्रीलंकाजस्तो आर्थिक संकट आउने सम्भावना कम छ। यसमा नीति निर्माताहरूभन्दा पनि विप्रेषणको मुख्य भूमिका छ। डलर बलियो हँुदै गरेको खण्डमा पर्यटन क्षेत्रले पनि लाभ लिने ठाउँ छ। अर्कोतर्फ श्रीलंका र नेपालमा समानता पनि छन्। त्यो हो, भ्रष्टाचार, नातावाद, कृपावाद र दलाल पुँजीवादमा लिप्त नेताहरू र तिनका आज्ञाकारी र यथास्थिति चिन्तनले ग्रसित कर्मचारीतन्त्र। जर्मनीका प्रथम चान्सलर बिस्मार्कले भनेका थिए, ‘मूर्खहरू आफ्नो अनुभवबाट पाठ सिक्छु भन्छन्, तर म अरूको अनुभवबाट शिक्षा लिन्छु।’ त्यसैले हाम्रा नेताहरूले श्रीलंकाको गल्तीबाट सिक्न जरुरी छ। जनताले सिकाउने दिन आयो भने नेपालमा श्रीलंकाभन्दा पनि अराजक स्थिति आउन सक्छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण १८, बुधबार ०६:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP