• २०८१ फाल्गुन ८ | Thu, 20 Feb 2025
  • निर्माणको अन्तिम चरणमा घारखोला जलविद्युत् आयोजना

    निर्माणको अन्तिम चरणमा घारखोला जलविद्युत् आयोजना

    म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।  विसं २०७४ चैत महिनादेखि सुरु भएको घार खोलाको ९२ प्रतिशत निर्माण सकिएको आयोजनाको प्रवर्द्धक कम्पनी म्याग्दी हाइड्रोपावरले जनाएको छ ।

    कम्पनीका अध्यक्ष भरत नेपालले आयोजनाको बनिसकेका संरचना परीक्षण गर्न थालिएको जानकारी दिए । “बाँध र डिसेन्टर (पानी थिग्राउने पोखरी) मा पानी हालेर परीक्षण सुरु गरिएको छ”, उनले भने, “सुरुङ, विद्युत् गृह, प्रसारण लाइन र सवस्टेसनमा बाँकी संरचना निर्माणलाई तीव्रता दिनाका साथै बनिसकेका संरचनाको परीक्षणलाई सँगसँगै अघि बढाइएको छ ।”

    आगामी मङ्सिर महिनादेखि परीक्षण उत्पादन सुरु गर्ने तयारी र लक्ष्यका साथ सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकल तर्फको कामलाई तीव्रता दिइएको आयोजनाका इन्जिनियर जोसेप बज्राचार्यले बताए  । “हालसम्म समग्रमा ९२ प्रतिशत भौतिक प्रगति भएको छ”, उनले भने, “२०७८ असोज १३ गते जोडिएको तीन हजार पाँच मिटर लामो सुरुङमा प्लास्टरको काम भइरहेको छ ।”

    असोजदेखि सुरुङमा परीक्षण गर्ने तयारी छ । अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण गरिएको छ । बाँध र ४५ मिटर लम्बाइको दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर) मा परीक्षणका लागि पानी हालिएको छ । डिसेन्डरदेखि सुरुङसम्म दुई सय ४८ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडान भएको छ ।

    अमिलाकाफलमा रहेको आउटलेटदेखि विद्युतगृहसम्म चार सय ८५ मिटर पेनस्टक पाइप जडान गरिएको छ । आउटलेटदेखि विद्युतगृहको दूरी एक हजार सय मिटर र उचाइ चार सय ८५ मिटर छ । पोखरेबगरस्थित गोजेखोल्सीमा पहाड काटेर बनाइएको विद्युत्गृहमा छाना छाउने र पर्खाल लगाउने तयारी भएको छ ।

    विद्युत्गृहमा जडान गरिने टर्वाइन, जेनेरेटरलगायत इलेक्ट्रो मेकानिकलतर्फका उपकरण आयोजनास्थलसम्म ढुवानी भइसकेको छ । जडानका लागि प्राविधिक टोली आएका छन् । घारखोलाको इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि इन्डिया, हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रालि र सिभिल ठेकेदार साउथ एसियन इन्फास्टक्चर हो ।

    पोखरे बगरदेखि २२० केभी क्षमताको दाना सब स्टेशनसम्म आठ किलोमिटर ३३ केभीएको डबल सर्किट प्रसारण लाइनको पोल गाड्ने, तार तान्ने र सवस्टेशनमा सिभिल संरचना बनाउने काम भइरहेको इन्जिनियर बज्राचार्यले बताए ।
    कूल रु दुई अर्ब ४२ करोड लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसिया, कुमारी र प्राइम कमर्सियल बैंकले लगानी गरेका छन् । नागरिक ऊर्जा बुटवल लिमिटेडको अगुवाइमा रुपन्देहीका सर्वसाधारणले पनि लगानी गरेका छन् ।
    विसं २०७८ माघमा सञ्चालन गर्ने लक्ष्य राखिएको आयोजना निर्माण कोरोना, निषेधाज्ञा, बन्दाबन्दी र प्राकृतिक विपद्का कारण ढिलाइ भएको सञ्चालकको भनाइ थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ आश्विन ८, शनिबार ०६:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP