• २०८१ कार्तिक २३ | Fri, 08 Nov 2024
  • मजदुरको आन्दोलनले चारदिनदेखि सुनकोशी-मरिण डाइभर्सनको काम ठप्प

    मजदुरको आन्दोलनले चारदिनदेखि सुनकोशी-मरिण डाइभर्सनको काम ठप्प

    सिन्धुली : पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरू आन्दोलित भएपछि सुनकोशी-मरिण डाइभर्सनको काम शुक्रबारदेखि ठप्प छ। कमलामाई नगरपालिका-२ कुसुमटारस्थित राष्ट्रिय गौरवको बहुउद्देश्यीय आयोजनामा कार्यरत झण्डै पाँच सय मजदुरहरूको आन्दोलनका कारण चारदिनदेखि काम ठप्प भएको हो।

    आयोजनाले जिल्ला दररेटअनुसारको न्युनतम ज्यालासमेत नदिएको भन्दै डाइभर्सनमा कार्यरत मजदुरहरूले काम ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन। सुरुङ निर्माणस्थलमा ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। सुनकोशी-मरिण डाइभर्सन आयोजनामा ५ सयबढी मजदुरहरू कार्यरत छन्।

    सुरुङमार्ग खन्न ठेक्का पाएको चाइनिज कम्पनीले जिल्ला दररेटअनुसारको न्यूनतम ज्याला नदिएपछि आफूहरू आन्दोलन गर्न बाध्य भएको मजदुरहरूले बताएका छन। उनीहरू जिल्ला दररेटअनुसारको ज्याला पाउनुपर्ने, ओभर टाइमको रकम डेढी हुनुपर्ने, शनिबार तथा अन्य विदाको दिनको हाजिर पाउनुपर्ने, रात्रिकालीन कामको दोब्बर ज्याला हुनुपर्ने, श्रमिकहरूलाई काममा विभेद हुन नहुने, पुरानो कामदार हुँदाहुँदै नयाँ राख्न नपाउने, मजदुरलाई शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने, दिउँसो खाजा खाने समय आधा घण्टा दिनुपर्ने, कामदारमाथि अभद्र व्यवहार हुन नहुने, प्राथमिक उपचार र दुर्घटना बीमाको व्यवस्था हुनुपर्ने माग अघि सारेका छन।

    राष्ट्रिय गौरवको बहुउद्देश्यीय आयोजना सुनकोशी-मरिण डाइभर्सनको टनेल निर्माणको ठेक्का चाइनिज कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले पाएको छ। उक्त ठेकेदार कम्पनीले जिल्ला दररेट अनुसार अदक्ष (लेवर) को ज्याला ८ सय कायम भएकोमा ठेकेदार कम्पनी कोभ्याकले ८ घण्टा काम गरेको ५ सय ८० मात्र दिँदै आएको मजदुर ज्ञानबहादुर नेपालीले बताए।

    ‘सुरुङमार्ग निर्माणको काम सुरु भएपछि न्युनतम रेट दिने सहमति भएपनि अहिलेसम्म दक्ष मिस्त्रीको ज्याला जिल्ला दररेटमा एक हजार भएपनि कम्पनीले ७ सय रुपैयाँ मात्रै दिँदै आएको छ,’ उनले भने। आयोजनामा कार्यरत मजदुरहरूले सुरुङ प्रवेश मार्गको काम थालनी भएपछि दररेट अनुसारको ज्याला दिने सहमति भएपनि ५० मिटर सुरुङ तयार भएर थप सुरुङ खन्नका लागि टिबीएम मेशिन जडान भइरहँदासमेत कुनै सम्बोधन नभएकाले आन्दोलन उत्रन बाध्य भएको गुनासो गरेका छन।

    आफ्ना जायज मागहरू सम्बोधन नभएसम्म आयोजनाको कुनैपनि काम सञ्चालन हुन नदिने मजदुरहरूको चेतावनी छ। उता ठेकेदार कम्पनी र मजदुरहरूसँग वार्ता गरेर जिल्ला दररेटअनुसारको पारिश्रमिकको व्यवस्था गर्न पहल गर्ने आयोजना प्रमुख मित्र बरालले बताए।

    चाइना कम्पनी (कोभेक) का प्रमुख लियौ फङ फानले आन्दोलित मजदुरहरूसँग वार्ता गर्न आफूहरू तयार रहेपनि उनीहरूले प्रतिनिधि नपठाएका कारण समस्या भएको बताए। ‘मजदुरका मागका सवालमा हामी छलफल गर्न तयार छौं। उहाँहरूको मागबारे कम्पनी जिम्मेवार छ तर सबैसँग एकै पटक वार्ता गर्न सकिदैन। ८/१० जना प्रतिनिधि पठाउन भन्दा उहाँहरू मान्नु हुन्न,’ उनले भने।

    आन्दोलनकारीहरूले जिल्ला प्रशासन कार्यालयमै आएर प्रमुख जिल्ला अधिकारीको ध्यानकर्षणसमेत गराएका छन्। मजदुरका मागका सवालमा मजदुर र निर्माण कम्पनीबीच समन्वय गरेर समस्या समाधानमा पहल थालिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको भनाइ छ। ‘राष्ट्रिय गौरवको आयोजनाको काम रोकिनु राम्रो हैन। यस विषयमा आयोजनाका सरकारी पक्ष, ठेकेदार कम्पनी र आन्दोलित मजदुरलाई वार्तामा बस्न र समस्याको समाधान गर्न भनेका छौं। हामीले हाम्रो तर्फबाट पनि समन्वय गरिरहेका छौं,’ उनले भने।

    सुनकोसी नदीको पानी सुरुङबाट मरिणखोलामा खसाली तराइका खेतीयोग्य जमीनमा सिंचाइ सुविधा पुर्‍याउने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिका-२ कुसुमटारमा ८ महिना अघिदेखि सुरुङ खन्नका लागि टनेल बोरिङ मेशिन (टीबीएम) को प्लेटफर्म निर्माण भैरहेको छ।

    सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माणको ठेक्का ११ अर्ब २९ करोड २७ लाख २६ हजार ३३४ रुपैयाँमा चाइना ओभरसिज कम्पनीलाई दिइएको थियो। सुनकोशीमा १२ मिटर उचाइको बाँध निर्माण गरी नदीको पानी १३ दशमलव ३ किलोमिटर लामो सुरुङमार्फत मरिण नदीमा खसालिने छ। उक्त आयोजनामा ६४ मिटरको हेड हुनेछ। उक्त सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका-२ कुसुमटार स्थित ६६ मिटर तल मरिण खोलामा खसालिने छ। आयोजनाअन्तर्गत निर्माण हुने सुरुङमार्ग, हेडबक्स र पावर हाउस निर्माण मुख्य भौतिक संरचना रहेका छन्। साथै त्यहाँ पानी झारेर ३१ मेगावाट विद्युत् उत्पादन गरिने छ। सरकारले यस आयोजनालाई इकोनोमिक गेम चेन्जरका रूपमा लिएको छ।

    विद्युत् उत्पादनसँगै तराईका जिल्ला बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याइने छ। यस आयोजना निर्माण सम्पन्न भएपछि वार्षिकरूपमा उर्जाबाट २ दशमलव ७ र सिंचाइबाट ७ दशमलव ३ अर्ब गरी कुल दश अर्ब आम्दानी गर्न सकिने छ। आयोजना निर्माण गर्न कुल ४६ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन न्युज डेस्क    
  • २०७९ श्रावण १६, सोमबार १२:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP