• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • इन्स्टाग्राम कसैको हत्याको कारण पनि बन्न सक्छ ?

    इन्स्टाग्राम कसैको हत्याको कारण पनि बन्न सक्छ ?

    इन्स्टाग्राममा फलोअर्स संख्याको प्रतिस्पर्धाले कसैको हत्याका लागि कुनै व्यक्तिलाई उक्साउन सक्छ ?

    तर भारतको राजधानी नयाँदिल्लीमा इन्टाग्रामकै कारण एउटा घटना भएको छ । त्यहाँ दुई जना नाबालिगको चक्कु प्रहारबाट हत्या भएको छ । उक्त घटनामा चार जना पक्राउ परेका छन् र तीमध्ये दुई जना युवती छन् ।

    प्रहरीका अनुसार हत्याको मुख्य कारण इन्स्टाग्राममा कसका कति फलोअर्स छन् र कसको कति महत्व छ भन्ने प्रतिस्पर्धा देखिएको छ । मुकन्दपुर इलाका उत्तरी दिल्लीको बाहिरको क्षेत्रमा पर्छ र त्यहाँ धेरैजसो मानिस निम्न तथा निम्न मध्यमवर्गका रहेका छन् । मुकन्दपुरको उक्त घटना गत ५ अक्टोबरमा भएको हो ।

    प्रहरी अधिकारीका अनुसार ती नाबालिगको हत्यामा आफ्नै दाजु र दिदी नाता पर्ने तीन जना र अर्का एक युवतको संलग्नता भेटिएको छ । ती किशोरकिशोरीमा आफ्नो प्रतिष्ठा तथा डिजिटल प्लेटफर्ममा को कति प्रभावशाली छ भन्ने कुराको प्रतिस्पर्धा रहेको प्रहरीको भनाइ छ ।

    इन्स्टाग्राममा कसका कति फलोअर्स छन् ? कसको तस्वीरमा कति लाइक आउँछ भनेर उनीहरुबीच प्रायः झगडा हुने गर्थ्यो ।

    हत्यामा संलग्न भनिएकी किशोरीका अनुसार नाबालिगहरुलाई उनले नै फोन गराएर गल्लीमा बोलाएकी थिइन् । घटना रातको करिब साढे ११ बजे भएको थियो ।

    सामाजिक सञ्जालको असर

    सामाजिक सञ्जाल वास्तवमा एउटा यस्तो माध्यम बनिरहेको छ, जहाँ कुनै पनि व्यक्ति छोटो समयमा व्यापक चर्चा हासिल गर्न सक्छ । सोसल मिडिया प्लेटफर्मममा प्रयोगकर्ताहरु लाइक तथा फलोअर्सका लागि होडबाजी गरेको देखिन्छ । मानिसहरु त्यहाँ आफ्नो भावना व्यक्त गर्न हिच्किचाउँदैनन् र सोसल मिडियालाई आफ्नो निजी स्पेसजस्तै ठान्छन् ।

    नयाँदिल्लीस्थित सेन्ट स्टिफन अस्पतालका मनोचिकित्सक डा. रुपाली शिवलकरका अनुसार आमरुपमा हिजोआज बच्चाहरुमा रिस बढी देखिन्छ । दिल्लीमा घटेको उक्त घटनामा संलग्न किशोरकिशोरी समाजको तल्लो तप्काका रहेका छन्, जहाँ प्रायः आमाबुवाहरु पढेलेखेका हुँदैनन् ।

    ती बच्चाका बुवाआमा दैनिक ज्याला मजदुरी गर्छन् र बच्चाहरु स्कुलको पढाइ पनि पूरा गर्न पाउँदैनन् । यस्तोमा आसपासमा घटिरहेका घटनाबाट बालबालिकाहरु धेरै प्रभावित हुुन्छन् । समाजको असामाजिक गतिविधिबाट गुज्रनु त्यस्ता बच्चाको लागि दैनिकी नै बनिरहेको हुन्छ र उनीहरुले त्यसलाई सामान्य ठान्छन् । उनीहरुले जे देखिरहेका हुन्छन्, त्यही सिक्छन् । के गलत हो र के सही भनेर सम्झाउने कोही हुँदैन ।

    विज्ञका अनुसार हिजोआज बालबच्चामा बढी रिस देखिनुका विभिन्न कारण हुनसक्छन् । त्यसमध्येको एउटा कारण आफैंमा निराशा वा फ्रस्टेसन हुनु मुख्य हो । उनीहरु सोसल मिडियाबाट प्रभावित भएर कोही सेलिब्रिटीजस्तै रोल मोडल बन्न चाहन्छन्, जसलाई कन्डक्ट डिसअर्डर भनिन्छ ।

    मनोचिकित्सकका अनुसार ‘कन्डक्ट डिसअर्डर’ भनेको यस्तो समस्या हो, जहाँ बच्चाहरु सामाजिक नियमअनुसार व्यवहार देखाउँदैनन् । उनीहरुलाई आफ्नो गलत कामका लागि अपराधबोध वा आत्मग्लानि पनि हुँदैन ।

    आफ्नो बच्चा सोसल मिडियाको लतमा परेको कसरी थाहा पाउने ?

    धेरै सोसल मिडिया प्लेटफर्मले निश्चित उमेर पुगेका व्यक्तिलाई मात्र अकाउन्ट खोल्ने सुविधा दिन्छन् । चर्चित सोसल साइट इन्स्टाग्राममा १३ वर्षभन्दा माथिका जो कोहीले अकाउन्ट खोल्न सक्छन् । त्यसैले भर्खरै किशोरावस्थामा प्रवेश गरेका किशोरकिशोरीका लागि इन्स्टाग्रामजस्ता सोसल मिडिया प्लेटफर्म नकारात्मक पनि सावित हुन सक्छन् ।

    आफ्नो बच्चा सोसल मिडियाको लतमा फसेको त छैन ? यसका लागि केही यस्ता आनीबानीमा ध्यान दिन जरुरी छ :

    – तपाईंको बच्चा लगातार वा पूरै दिन फोनमा झुण्डिरहेमा

    -फोन खोस्दा रिसाए, चिडचिडाहट महसुस गरे वा फोन किन खोसेको भनेर झगडा गरेमा

    -दैनिक क्रियाकलापमा ध्यान नदिएमा

    -आफ्ना साथीहरुसँगको सम्बन्ध पनि झैझगडा गरेमा

    यस्ता गतिविधि तपाईंको बच्चाले गरेको देखिए ऊ सोसल मिडियाको लतमा पो प¥यो कि भनेर ध्यान दिनुपर्छ ।

    बच्चा सोसल मिडियाको लतमा परेको लक्षण देखिए उसबाट मोबाइल फोन वा अन्य ग्याजेटलाई हटाइदिनुहोस् । त्यसको ठाउँमा दैनिक जीवनमा प्रयोग हुने अन्य चिज दिनुहोस् । बच्चालाई घरका स-साना काम दिएर व्यस्त राख्नुहोस् र काम गर्नका लागि प्रोत्साहित गर्नुहोस् । बाहिर खेल्न तथा साथीहरुसँग भेट्न पनि प्रोत्साहित गर्नुहोस् ।

    बीबीसी हिन्दीबाट

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक ७, सोमबार ०९:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP