एक गोधुली साँझ
वसन्त ऋतुमाझ
गाउँका बालपनका स्मृतिसँगै मेरो मन रमाइरहेछ
तिम्रो मोहनी रूपसँगैको ऋतु रागले मनमा अड्डा जमाइरहेछ
डाँडापारि देखिएका हिमालहरू
बगिरहेका हिमनदीको सुन्दरताले
प्रफुल्लित मेरो मन
ऋतु रागका गोठाले गफमा चञ्चल बनिरहेछ झन्झन्
खुला परिवेशसँगैका हरिया चौरमा फुलिरहेका फूलहरुमाझ
रसाइरहे तिम्रा सम्झना अनि मेरा ग्रन्थिहरुका मूल
ती मेरी बालपनकी प्रेमिकाको संस्मरण लेखिबस्दा
एक्कासी बतासले उडाएर ल्याएको सुनगाभा प्रेमपत्रमा खस्दा
रोकिएका मेरा हात
कापिरहेछन् प्रतिकारात्मक र वास्तविकताको दोसाँध माझ
वसन्त ऋतुको बहारमा
रंगीचंगी फूलहरू अनि प्रेमीका बास्ना सुघ्ने रहरमा
जोडिएका ढुकुरजस्ता गोठालाका ती बैंसालु जोडी
प्रेमीको मदन रुपसँग प्रेम साट्ने निहुँमा वसन्तसँग जोडिए
अनि थाले फुलाउन राता फूलहरु उनको शीरमा
सँगै जीवन गाथा रच्ने अनि जिउने दुःख पीरमा
पैयुँको चुङ्गी खेल्न सिकेको त्यो दिन
वसन्त आउँदा उल्झर बनेर आउँछ छिन्छिन्
भुरुङ्ग नचाउँदा नचाउँदै नाचेको यो मन
अहिले वसन्तको उल्झर साँझमा याद आइरहेछ झन्झन्
रहर छ
बुझाउन वसन्त ऋतुलाई यो प्रेमको रहनी
सँगै हाम्रो जीवनको भूमा कहानी ।।
प्रतिक्रिया